१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असार ३० मंगलबार २१:२५:००
Read Time : > 1 मिनेट
समाचार

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले अयोध्याको अवमूल्यन भएको छैन : परराष्ट्र मन्त्रालय

Read Time : > 1 मिनेट
२०७७ असार ३० मंगलबार २१:२५:००

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार श्रीराम जन्मभूमि अयोध्या नेपालमा रहेको भनेपछि चर्को आलोचना भइरहेका बेला परराष्ट्र मन्त्रालयले मंगलवार त्यसबारे प्रष्टीकरण दिएको छ । विशेष गरि भारतमा प्रधानमन्त्री ओली प्रति चर्को आलोचना भएपछि परराष्ट्रले कसैको भावनामाथि चोट पुर्याउने मनसायले प्रधानमन्त्रीको अभिव्यक्तिन आएको स्पष्ट गरेको छ । 

प्रधानमन्त्री ओलीले सोमवार भानु जयन्तिका अबसरमा आयोजित कार्यक्रममा भारतबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको भन्दै सही अयोध्या नेपालमा भएको जिकिर  गरेका थिए । भारतका हिन्दु धर्माबलम्बीले प्रधानमन्त्री ओलीबाट अयोध्याको अपमान भएको भन्दै चर्को टिप्पणी गरेका छन् भने नेपालभित्र पनि नेकपा, कांग्रेस, राप्रपालगायतका दलले विरोध गरेका छन् । परराष्ट्र मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीेले दिनुभएको अभिव्यक्ति कुनै पनि राजनीतिक बिषयसँग सम्बन्धित छैन र कसैको भावना र आस्थामा चोट पुर्याउने मनसाय त्यसमा छैन ।’  तर, परराष्ट्र मन्त्रालयले श्रीरामका बारेमा थप अध्ययन र अनुसन्धान गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएको उल्लेख गरेको छ । ‘श्रीराम र उहाँसँग सम्बन्धित ठाउँहरुबारे थुप्रै अनुमान र सन्दर्भहरु भएको हुँदा प्रधानमन्त्रीले रामायणले प्रतिनिधित्व गर्ने विशाल सांस्कृतिक भूगोलको थप अध्ययन र अनुसन्धान गर्नुपर्ने महत्वमाथि प्रकाश पार्नु भएको हो,’ परराष्ट्रले भनेको छ । प्रधानमन्त्रीले दिएको अभिव्यक्ति अयोध्याको महत्व तथा त्यसको सांस्कृतिक मूल्यलाई नजर अन्दाज गर्ने गरि नआएको पनि परराष्ट्रले प्रष्टीकरण दिएको छ । 

दुई देशका प्रधानमन्त्रीले २८ वैशाख ०७५ म जनकपुरबाट रामायण सर्किट अन्तर्गत जनकपुर–अयोध्या बस सेवा उद्घाटन गरेको सन्दर्भ पनि परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । हरेक बर्ष विवाह पञ्चमीका अबसरमा भारतको अयोध्याबाट जनकपुर बरियाँत आउने गरेको सन्दर्भ उल्लेख गर्दै परराष्टले भनेको छ, ‘यी तथ्यहरुले हाम्रा दुई देश र जनताबीच सम्मानित साँस्कृति सम्बन्धको मजबुत जगको संकेत गर्दछ ।’ 

प्रधानमन्त्रीको अभिव्यक्ति प्रति विश्व हिन्दु परिषद्का अध्यक्ष आलोक कुमारले आपत्ति जनाउँदै दुई देशबीच जनताको साँस्कृतिक सम्बन्ध बिगार्ने प्रयास भएको आरोप लगाएका छन् । उनले विदेशी दबाबमा प्रधानमन्त्री ओलीको भनाई आएको आरोप पनि लगाएका छन् । उनले भनेका छन्, ‘प्रधानन्त्री ओलीको भनाईमा उनी बाहेक कसैले विश्वास गर्ने छैनन् भन्नेमा हामी विश्वस्त छौँ ।’