लागुऔषध कारोबारको आरोपमा प्रहरीले विराटनगरका दुईजना चियापसलेलाई पक्रेको छ । विराटनगर महानगरपालिका– १५ रामजानकी चोकमा रहेको चिया पसलेहरूबाट लागुऔषध बरामद भएपछि मनोकामना झा र सहेदा खातुनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मनोकामनाको चिया पसलबाट विभिन्न नामका तीन बोतल र ३० थान लागुऔषध बरामद गरेको थियो भने सहेदाको चिया पसलबाट पाँच बोतल लागुऔषधसहित एक दर्जन खाली बोतल बरामद गरेको प्रहरीको भनाइ छ । दुवै चिया पसलेले लकडाउनको समयमा लागुऔषधको कारोबार गर्ने गरेको प्रहरीको दाबी छ ।
लागुऔषध बरामद भएसँगै दुवै चिया पसलका सञ्चालकसँगै विराटनगर–१७ का ३४ वर्षीय प्रदीप राईलाई पनि पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी मोरङले जनाएको छ ।