मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार ३० मंगलबार १५:०८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना कहर : जुम्ला सदरमुकाम खलंगामा निषेधाज्ञा

Read Time : < 1 मिनेट
२०७७ असार ३० मंगलबार १५:०८:००

जुम्लाको चन्दननाथ नगरपालिका– ५ को मूल बजार क्षेत्रमा व्यापारीलाई कोरोना संक्रमण देखिएपछि सदरमुकाम खलंगामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । 

कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्न भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । 

संक्रमण रोग ऐन, २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको जनाइएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणबाट चन्दननाथ नगरपालिका– ५ को मूल बजार क्षेत्रका एकजना महिला व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएको हो । 

मूल बजारमा नै संक्रमण फेला परेपछि अरूमा फैलिन नदिन निषेधाज्ञा जारी गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । 

उनले भने, ‘भाइरस स्थानीय स्तरसम्म फैलिन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको हो ।’

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा २०७७ असार ३० गते दिँउसो ३ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ । 

चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिलानदी क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा जारी पत्रमा भनिएको छ, ‘औषधि पसल, स्वास्थ्य सेवाबाहेक अरू सम्पूर्ण क्रियाकलाप पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ ।’ 

जुम्लामा ६५ जना कोरोना संक्रमितमध्ये ५१ जना निको भएर घर फर्केका छन् । 

त्यसैगरी अहिले आइसोलेसनमा १४ जना रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले बताए ।