मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार ३० मंगलबार १३:४६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा विवाद : ओली र प्रचण्ड ६ दिनपछि छलफल, भोलि फेरि बस्ने

Read Time : > 1 मिनेट
२०७७ असार ३० मंगलबार १३:४६:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षबीचको छलफल सकिएको छ । 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको झन्डै सवा घन्टा छलफल भएको हो । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब सवा घन्टा भएको भेटवार्ता पार्टीभित्रको संकट समाधान गरेर सहमति जुटाउनेतर्फ केन्द्रित रहेको जनाइएको छ ।

‘उहाँहरूबीच करिब सवा घन्टा छलफल भएको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘के–के विषयवस्तुमा छलफल भयो, जानकारी छैन, तर उहाँहरूबीच समस्या समाधानका विषयमा राम्रो गरी कुराकानी भएको छ ।’ 

ओली–प्रचण्डबीच गत बुधबारयता वार्ता हुन सकेको थिएन । गत बिहीबार बस्ने गरी छुटेका दुई अध्यक्षको सहमतिमा शुक्रबार बोलाइएको स्थायी कमिटी बैठक २ साउनसम्म स्थगित भएको थियो । 

त्यससँगै नेकपाका नेताहरूले पार्टी विभाजन टरेको भन्दै नयाँ सहमति हुने दाबी गर्दै आएका छन् ।

बाढीपहिरोका कारण एक साताका लागि बैठक स्थगित गरेर नेकपाले नेता–कार्यकर्तालाई राहत तथा उद्धारमा केन्द्रित रहन निर्देशन दिने र यस अवधिमा पार्टीभित्र देखिएका समस्या समाधानमा सहमतिको प्रयास गर्ने समझदारी भए पनि ओली–प्रचण्डबीच ६ दिनपछि मात्र छलफल भएको हो । 

शनिबार गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्ड सोमबार काठमाडौं फर्किएका थिए । 

गत असार १० गतेबाट जारी सो पार्टीको स्थायी समिति बैठकमा ओलीलाई प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट राजीनामा मागिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा छ । 

चितवन पुगेर प्रचण्डले आफू र प्रधानमन्त्री ओलीलाई उचाल्ने शक्ति एउटै भएकाले पहिचान भइसकेको भन्दै सहमति हुन सक्ने संकेत गरेका थिए । 

लगत्तै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक विवाद वार्ता र संवादबाटै समाधान हुने अभिव्यक्ति दिएका थिए । 

यससँगै नेकपाको आन्तरिक संकट सहमतिमै टुंगिने नेताहरूले दाबी गर्दै आए पनि नयाँ सहमति भने भइसकेको छैन ।