१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार ३० मंगलबार ०७:१४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

सुत्केरीको ज्यान बचाउँदै युवा

Read Time : > 1 मिनेट
२०७७ असार ३० मंगलबार ०७:१४:००

लकडाउनमा रक्तसञ्चार

कसैलाई नचिनेको ठाउँमा रगत दिने व्यक्ति फेला पार्न सम्भव थिएन । ब्लड डोनेसन ग्रुपले दाता खोजिदिएर ठूलो गुन लगायो ।

दाङ घोरोही–१६ की शर्मिला चौधरी (२५ वर्ष) लाई सुत्केरी व्यथा लागेपछि नेपालगन्जस्थित भेरी अस्पताल भर्ना गरियो । शल्यक्रिया गर्नुपर्ने भएकाले सेतो रक्तकोषका लागि तत्काल दुई पिन्ट ‘बी पोजिटिभ’ ताजा रगत आवश्यक भएको चिकित्सकले बताए । उनका पति विनय चौधरी रक्तसञ्चार केन्द्रमा पुगे । तर, केन्द्रका कर्मचारीले रक्तदान गर्ने व्यक्ति लिएर आउन भने । उनले मान्छे खोज्न नसक्ने बताएपछि केन्द्रका कर्मचारीले ‘ब्लड डोनेसन ग्रुप’का अध्यक्ष अमित लामालाई फोन गरे । उनले तत्काल ‘बी पोजिटिभ’ रक्त समूहका विष्णु लामा र विकास गुप्तालाई रक्तसञ्चार केन्द्रमा पठाए । ‘कसैलाई नचिनेको ठाउँमा रगत दिने व्यक्ति फेला पार्न सम्भव थिएन,’ चौधरी भन्छन्, ‘ब्लड डोनेसन ग्रुपले दाता खोजिदिएर ठूलो गुन लगायो ।’

लकडाउन कडाइ गरिएको समय थियो, त्यो । नेपालगन्जका चोक र गल्लीमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी तैनाथ थिए । अत्यावश्यक कामबाहेकका व्यक्तिलाई नेपालगन्ज प्रवेश निषेध थियो । खजुराबाट आएका विष्णुलाई सुरक्षाकर्मीले केरकार गरे । उनले रक्तसञ्चार केन्द्रमा फोन गरे । केन्द्रका कर्मचारीको आग्रहमा मात्र उनले रक्तदान गर्न पाए । ‘अरूले झुटो बोल्ने गरेका कारण मानवीय सेवामा आउँदा पनि सुरक्षाकर्मीले अवरोध पुर्‍याए,’ विष्णु भन्छन्, ‘मेरा लागि सुत्केरीको ज्यान जोगाउने कुरा महत्वपूर्ण थियो ।’

नेपालगन्जको ‘ब्लड डोनेसन ग्रुप’ले सेतो रक्तकोष आवश्यक भएका सुत्केरी र गर्भवतीका लागि ताजा रगत उपलब्ध गराउँदै आएको छ । लकडाउनका वेला मात्र ६० पिन्ट रगत जुटाइदियो ।

लकडाउनका वेला यो समूहले ६० पिन्ट रगत संकलन गरेको छ । सुत्केरी, सिकलसेल एनिमिया र दुर्घटनामा परेका व्यक्तिका लागि ताजा रगत उपलब्ध गराउँदै आएको छ । अध्यक्ष लामाका अनुसार लियो क्लबमार्फत रक्तदान गर्दै आएका युवा मिलेर समूह स्थापना गरिएको हो । रेडक्रसको रक्तसञ्चार केन्द्रको सहयोगमा उनीहरूले रक्तदान गर्छन् । तीन वर्षअघि स्थापना भएको समूहले हालसम्म एक हजार पिन्टभन्दा बढी रगत जुटाइसकेको छ । ‘कुनै वेला सेतो रक्तकोषका लागि रक्तदान गर्छौं, कहिले बेडमा छटपटाइरहेका सुत्केरीलाई रगत दिन्छौँ,’ लामा भन्छन् । समूहले निःशुल्क सेवा उपलब्ध गराउँछ । समस्यामा परेका बिरामीको सेवा गर्न पाउँदा समूहका सदस्य गर्व महसुस गर्छन् ।

समस्यामा परेका सुत्केरी र गर्भवतीलाई ताजा रगत उपलब्ध गराएर समूहका सदस्यले ठूलो गुन लगाइरहेको रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी बताउँछन् । उनका अनुसार सेतो रक्तकोष बढाउनुपर्ने बिरामी आउनासाथ केन्द्रले सोही समूहलाई गुहार्ने गरेको छ । ‘बिरामी र समूहबीच हामी सहजीकरण गर्छौं,’ उनी भन्छन् ।

समूहले फेसबुक पेज बनाएको छ, जसमा दुई हजार आठ सय २२ सदस्य छन् । रगत आवश्यक हुनासाथ फेसबुक पेजमा सूचना पोस्ट गरिन्छ । ‘सँगसँगै साथीभाइलाई पनि फोन गर्छौं,’ लामा भन्छन् ।

ताजा रगत छिटो चाहिने भएकाले समूहले रक्तदान गर्ने व्यक्तिहरूको सूची पनि बनाएको छ । त्यस सूचीमा रहेका सबैको मोबाइल नम्बर र रक्तसमूह पनि उल्लेख छ । र, कसले कुन समयमा कहाँ गएर रक्तदान गर्‍यो भनेर अपडेट राख्ने गरिएको छ । रक्तदान गर्ने र लिने व्यक्तिको तस्बिरसहितको नामावली फेसबुक पेजमा राख्ने गरिएको समूहका सदस्य मोहम्मद राई बताउँछन् ।