मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सिराहाको सुखिपुर नगरपालिका–३ चरारीमा रहेको अधुरो शिव मन्दिर ।
२०७७ असार ३० मंगलबार ०६:३६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिराहा र सप्तरीका २१ सांसदका मठमन्दिरसम्बन्धी ९४ योजना, साढे आठ करोड खर्च गरिँदै

Read Time : > 2 मिनेट
२०७७ असार ३० मंगलबार ०६:३६:००

सिराहा र सप्तरीका प्रदेश सांसदहरूको ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ मा मठमन्दिर प्राथमिकतामा परेको छ । दुई जिल्लाका २७ मध्ये २१ सांसदको ९४ वटा योजना मठमन्दिर निर्माण र जिर्णोद्धारसम्बन्धी छ । ती योजनामा आठ करोड ३२ लाख ६० हजार रुपैयाँ खर्च गरिँदै छ । जुन प्रदेश सांसदको योजनामा खर्च हुने रकमको करिब १४ प्रतिशत हो । दुई जिल्लामा प्रदेश सांसदको चार सय २२ योजनामा ५९ करोड रुपैयाँ खर्च गरिँदै छ । 

सप्तरीका १४ जना प्रदेश सांसदका दुई सय २८ वटा योजनामा ३० करोड र सिराहाका १३ सांसदको एक सय ९४ योजनामा २९ करोड खर्च गरिँदै छ । सबैभन्दा बढी प्रदेशको कृषि तथा भूमि व्यवस्थामन्त्री शैलेन्द्रप्रसाद साहको १४ वटा योजना मठमन्दिरसम्बन्धी छन् । तीन करोडको कार्यक्रममध्ये मठमन्दिरमा ९४ लाख मन्त्री साहको संसदीय कोषबाट खर्च हुँदै छ । 

सिराहाबाट प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रहेका विजयकुमार यादवको मठमन्दिरका १३ योजनामा एक करोड २२ लाख रुपैयाँ खर्च गरिँदै छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहको पाँच योजनामा ५७ लाख, सप्तरीका प्रदेश सांसद विन्देश्वरप्रसाद यादवको आठ योजनामा ५५ लाख रुपैयाँ रहेको छ ।

सप्तरीका १४ मध्ये १२ सांसदका ५९ योजनामा पाँच करोड ४० लाख र सिराहामा १३ मध्ये नौ सांसदको ३५ योजनामा दुई करोड ९२ लाख ६० हजार रुपैयाँ खर्च गरिन लागेको छ । सप्तरीका प्रदेश सांसद मनीषकुमार सुमनको दुई योजनामा २३ लाख, सत्यनारायण मण्डलको एउटा योजनामा पाँच लाख, मोहम्मद समिमको ६ योजनामा ४३ लाख, अभिषेख यादवको पाँच योजनामा एक करोड एक लाख, उपसभामुख उपमा देवको तीन योजनामा २० लाख, प्रमिला कुमारी यादवको तीन योजनामा ७० लाख, रुविकुमारी कर्णको दुई योजनामा १० लाख, नेत्रविक्रम साहको चार योजनामा ३० लाख रहेको छ ।

यस्तै, सिराहाका प्रदेश सांसदहरू लगनलाल चौधरीको तीन योजनामा १७ लाख, मदनसेनप्रसाद श्रीवास्तवको नौ योजनामा ६४ लाख, रामकुमार यादवको एउटा योजनामा ३५ लाख, प्रमोदकुमार यादवको तीन योजनामा २४ लाख ६० हजार, सुनिता मोचीको दुई योजनामा १० लाख, फुलियादेवी सदाको एउटा योजनामा पाँच लाख, नरेशकुमार यादवको दुई योजनामा १० लाख र जगतारैनदेवी सुडिनको एउटा योजनामा पाँच लाख रुपैयाँ राखिएको छ ।

१ असारमा आर्थिक मामिलामन्त्री विजयकुमार यादवले संसद्मा बजेट प्रस्तुत गर्दै प्रदेशमा ‘राष्ट्रिय औसतभन्दा बढी गरिबी, बेरोजगारी, न्यून गुणस्तरको स्वास्थ्य तथा शिक्षाको अवसर र सामाजिक असमानता व्याप्त रहेको’ उल्लेख गरेका थिए । उनले नागरिकको स्वास्थ्य सुरक्षा र प्रवद्र्धन पहिलो प्राथमिकता भएको, स्वास्थ्य संस्थाहरूको विस्तार र सेवामा गुणस्तरीय सुधार गर्ने, यस क्षेत्रको पूर्वाधार विकास गर्ने घोषणा गरेका थिए । तर, मन्त्री यादवले सांसद कोषको बजेट आफ्नो संसदीय क्षेत्रमा रहेका मठमन्दिरमा लगानी गरेका छन् ।

अरू योजना परिवर्तन, तर मठमन्दिरको योजना यथावत्
मठमन्दिरमा रकम खर्चिंदा कसैले प्रश्न नउठाउने भएकाले सांसदहरूको प्राथमिकतामा मठमन्दिर पर्ने गरेको नागरिक अगुवा ओमप्रकाश साहले बताए । ‘पूजारी छैन, तर लगानी हुन्छ,’ साहले भने, ‘यो बालुवामा पानी खन्याएसरह हो । स्वास्थ्य संस्थाको पूर्वाधारमा जोड दिने वेला सांसदहरूको लगानी अन्यत्रै देखिएको छ । कोरोनाले थिलथिलो बनाएका वेला सजगता अपनाएर बजेट खर्चिनुपर्नेमा जनप्रतिनिधिले मनपरी खर्च गरेको उनको भनाइ छ ।

प्रदेश सांसद मदनसेन श्रीवास्तवले स्थानीयको मागअनुसारको योजना भएको दाबी गरे । ‘स्थानीयस्तरमा जे माग आएको छ, त्यही सिफारिस गरेका हौँ,’ उनले भने, ‘मलाई पनि राम्रो लाग्दैन, तर उनीहरूको चाहनाअनुसार योजना दिनुपर्छ ।’ यसरी बजेट दिँदा प्रदेश २ ले समृद्धि प्राप्त गर्न नसक्ने भन्दै सांसद श्रीवास्तवले आगामी वर्ष मठमन्दिरको योजना कटौती गर्ने दाबी गरे । गत २५ जेठसम्म योजना संशोधनको समय भए पनि सांसदहरूले अरू योजना परिवर्तन गरेका थिए । तर मठमन्दिरको योजना जस्ताको तस्तै राखेको पूर्वाधार विकास कार्यालय सिराहाले जनाएको छ ।

अधुराले निरन्तरता पाएनन्
गत आर्थिक वर्ष ०७५/७६ मा सिराहा नगरपालिका–१६ मा दुर्गा मन्दिरमा मर्मत सुधार र भवन निर्माणमा प्रदेशका तीन मन्त्रालयबाट ४५ लाख रुपैयाँ बजेट राखिएको थियो । बजेट छुट्याइए पनि नयाँ भवन र गेट निर्माणको काम पूरा भएको छैन । यसअघिका अधुरा योजनाले प्रदेशका मन्त्रालय र ‘संसदीय निर्वाचन क्षेत्र विकास कोष’बाट बजेट नै पाएनन् । औरही गाउँपालिका–३ मा शिव मन्दिर निर्माण गर्न गत वर्ष ५० लाख, सिराहा नगरपालिका १९ सन्हैठामा दुर्गा मन्दिरमा २५ लाख प्रदेश सरकारले दिए पनि निर्माण कार्य अधुरै छन् । यस वर्ष ती योजनाले बजेट पाएनन् ।