मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ असार २९ सोमबार २२:३३:००
Read Time : < 1 मिनेट
प्रदेश

सप्तरीका ४५ सय किसानको चार महिनाको ब्याज प्रदेश सरकारले तिरिदियो

Read Time : < 1 मिनेट
२०७७ असार २९ सोमबार २२:३३:००

प्रदेश २ सरकारले सप्तरीका चार हजार चार सय ९४ जना किसानले लिएको कृषि ऋणको चार महिनाको ब्याज तिरिदिएको छ । कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि मारमा परेका किसानलाई राहतस्वरूप प्रदेश सरकारले चार महिनाको ब्याज तिरिदिएको हो । 

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीका किसानले लिएको ऋणको चार महिनाको ब्याजबापतको चेक सोमबार हस्तान्तरण गरेका छन् । मन्त्री साहले ब्याजबापतको चेक ऋणी किसानको सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारले चैत, वैशाख, जेठ र असार महिनाको कृषि ऋणको ब्याजबापत तिरिदिएको हो । सरकारले पाँच लाखभन्दा मुनिका कृषि ऋणीको ब्याज तिरिदिएको र पाँच लाखभन्दा बढी कृषि ऋण लिएकाहरूको पनि ब्याज प्रदेश सरकारले तिरिदिने मन्त्री साहले बताए ।

सप्तरीबाट कृषि ऋणको ब्याज तिरिदिन भन्दै ६ हजार पाँच सय ७२ किसानले कृषि ज्ञान केन्द्रमा आवेदन दिएका थिए । मन्त्री साहका अनुसार ५० बैंक तथा वित्तीय संस्थालाई ब्याजबापत तीन करोड तीन लाख ५५ हजार नौ सय ६३ रुपैयाँ ६७ पैसाको चेक हस्तान्तरण गरिएको छ । 

यता लकडाउनले कृषि बालीमा क्षति भएकोलाई पुनर्स्थापनातर्फ एक सय ४१ किसानलाई २३ लाख २१ हजार दुई सय ६९ रुपैयाँ र पशुपक्षीतर्फ क्षति भएका एक सय ६६ कृषकलाई ९८ लाख ६० हजार तीन सय ४० रुपैयाँ अनुदानस्वरूप प्रदान गरिएको मन्त्री साहले बताए । 

प्रदेश सरकारको आह्वानमा आठवटै जिल्लामा ८० हजारले कृषि ब्याज तिरिदिन आवेदन दिएका छन् । त्यसमध्ये पहिलो चरणमा ५० हजारको कृषि ऋणको चार महिनाको ब्याज प्रदेश सरकारले तिर्ने मन्त्री साहले बताए ।