Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार २९ सोमबार १८:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

६ महिनापछि रसुवा भन्सार कार्यालयले काम थाल्यो, दुई दिनमा ७० लाख राजस्व संकलन

Read Time : > 1 मिनेट
२०७७ असार २९ सोमबार १८:५२:००

रसुवा भन्सार कार्यालयले भन्सार जाँचपास सुरु गरेको छ । १५ माघदेखि बन्द रहेको नाका गत सोमबार एकतर्फी सञ्चालनमा आए पनि एक सातापछि मात्रै भन्सार जाँचपास सुरु भएको हो ।

रसुवागढी नाका हुँदै चीनबाट आएका सामानको आइतबारदेखि भन्सार जाँचपास सुरु भएको कार्यालयका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए । आइतबार ५८ लाख राजस्व उठेको छ भने सोमबार १२ लाख राजस्व उठेको छ । आइतबार सिमेन्ट फ्याक्ट्रीका सामानहरू र सोमबार सोलारका सामग्री बोकेका कन्टेनर जाँचपास भएका छन् । ती सामान काठमाडाैंसम्म पुग्नेछन् । एकतर्फी नाका खुलेको एक साता पुगे पनि व्यापारीहरूले भने आफ्नो सामानको भन्सार जाँचपास गरेका छैनन् । नाकासम्म व्यापारी आउन कठिन भएको, कताको कामदार राख्ने भन्ने विषयमा विवाद, गाडी भाडामा मूल्यवृद्धि र रसुवाका व्यवसायीले सिन्डिकेट लगाएको भन्ने आरोप लागेपछि व्यवसायीहरूले सामान जाँचपासमा ढिलाइ गरेका हुन् ।

अहिले भन्सार यार्डमा करिब ५० वटा कन्टेनरमा व्यापारीका सामान रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । तीमध्ये अधिकांश कन्टेनरमा रेडिमेट, इलेक्ट्रोनिक सामान रहेका छन् । भन्सार प्रमुख खड्काले भने व्यापारीहरूले जाँचपास नगर्नुमा आन्तरिक र बाह्य कारण रहेको बताए । ‘एउटै व्यक्तिको एकैपटक लैजानुपर्ने सबै सामान आइपुगेको छैन, कतिपय चीनतर्फ नै रहेका छन्, त्यसैले कुरेर बसेका छन्,’ उनले भने, ‘अर्को भनेको लेबर नपाउने, गाडीको भाडा नमिल्ने, गाडीहरू उपलब्ध नहुनु अथवा व्यापारीकाे सिन्डिकेटजस्ता कुराले पनि होला जस्तो लाग्छ ।’ भन्सार कार्यालयको कारणले कुनै पनि काम नरोकिएको उनले बताए । 

बन्द रहेको नाका सञ्चालन गर्न चौतर्फी दबाबपछि गत सोमबार चीनले एकतर्फी रूपमा नाका सञ्चालन गरेको थियो । नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामग्री आयात गरिरहेका छन् भने आएका सामग्रीलाई नाकाबाट दैनिक आठवटा नेपाली कन्टेनरले सामान लोड गरी भन्सार यार्डसम्म ल्याउने गरेका छन् । चिनियाँ पक्षले दैनिक आफ्नो चारवटा गाडीमा रसुवागढी नाकाको मितेरीपुलसम्म सामान ल्याई झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको छ ।