मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २९ सोमबार १६:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कैलालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

Read Time : < 1 मिनेट
२०७७ असार २९ सोमबार १६:२०:००

कैलालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार सोमबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै कैलालीमा संक्रमितको संख्या एक हजार ६ जना पुगेको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार गरिएको थ्रोट स्वाबको नमुना परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीमा सबैभन्दा बढी गोदावरी नगरपालिकामा संक्रमितको संख्या दुई सय ६१ जना छ । यस्तै लम्कीचुहा नगरपालिकामा एक सय १६ जना र धनगढी उपमहानगरपालिकामा ७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । संक्रमित एक सय ८१ जना निको भएर फर्केका स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

सुदूरपश्चिममा सबैभन्दा बढी संक्रमितको संख्या कैलालीमा रहेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख एवं कोरोना फोकलपर्सन नरेन्द्रसिंह कार्कीले संक्रमितमध्ये अधिकांश भारतबाट फर्केकाहरू रहेका बताए । हालसम्म प्रदेशभर तीन हजार सात सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार चार सय ७१ जना कोरोना भाइरसमुक्त भएर घर फर्केका छन् । 

संक्रमित ७९ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । बाँकी संक्रमित स्थानीय तहमा निर्माण गरिएका आइसोलेसन र होम क्वारेन्टाइनमा रहेका छन् । सुदूरपश्चिममा कोरोना संक्रमित आठजनाको मृत्यु भएको छ ।

डोटी र अछाममा पनि संक्रमितको संख्या उच्च छ । अछाममा पाँच सय ९३ र डोटीमा पाँच सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । सातायता संक्रमण दर घटेको कार्कीले बताए । भारतबाट फर्कनेको संख्या घटेपछि क्वारेन्टाइनहरू रित्तिन थालेका छन् । प्रदेशभर अहिले करिब साढे पाँच हजारजना क्वारेन्टाइनमा छन् ।