मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २९ सोमबार १४:५४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारद्वारा स्रष्टाहरू पुरस्कृत

Read Time : > 1 मिनेट
२०७७ असार २९ सोमबार १४:५४:००

सरकारले नेपाली साहित्यमा योगदान पुऱ्याउने स्रष्टाहरूलाई पुरस्कार प्रदान गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको पुरस्कार समर्पण समारोहमा मन्त्री योगेश भट्टराईले श्रष्टा तथा व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गरेका हुन् । 

सरकारले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६, पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७६, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट विभिन्न श्रष्टा तथा व्यक्तित्वहरूलाई सम्मान गरेको हो । 

समारोहमा मन्त्री भट्टराईले विभिन्न श्रष्टाहरूको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न श्रष्टा तथा व्यक्तित्वहरूलाई प्रदान गरिएको बताए । 

उनले ऋषिमुनीहरूले स्थापित गरेको साहित्य, देशको प्राकृतिक सुन्दरता, भगवान् बुद्धले दिएका आदर्श सिद्धान्तलगायत विभिन्न महान् व्यक्तित्वहरूले छाडेर गएका आदर्श सिद्धान्तहरूका कारण नेपाली साहित्य सिर्जनाको भण्डार बलियो भएको बताए । 

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६ अन्तर्गत संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरियो । 

त्यसैगरी प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश १ बाट भोजपुरका चन्द्रकुमार राई, प्रदेश २ बाट धनुषाका डा. रामसागर पण्डित, बागमती प्रदेशबाट ललितपुरका डा. गौतमवीर बज्राचार्य, गण्डकी प्रदेशबाट स्याङ्जाका प्रा. ज्ञानबहादुर कार्की, प्रदेश ५ बाट कपिलवस्तुका विक्रममणि त्रिपाठी, कर्णाली प्रदेशबाट जुम्लाका वासुदेव उपाध्याय, सुदूरपश्चिमबाट धनगढीका सुरतबहादुर शाहलाई प्रदान गरियो । 

भाषा–साहित्य विधातर्फ प्रा.डा. दयाराम श्रेष्ठले राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरे । 

त्यसैगरी प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश १ बाट खोटाङका सुरेश हचेकाली, प्रदेश २ बाट बाराका नवराज रिजाल, बागमती प्रदेशबाट काभ्रेपलाञ्चोकका गोपी मैनाली, गण्डकी प्रदेशबाट कास्कीका तर्कना शर्मा, प्रदेश ५ बाट दाङका श्रीधर पौडेल, कर्णाली प्रदेशबाट जुम्लाका डा. ओमप्रकाश आचार्य र सुदूरपश्चिम प्रदेशबाट कैलालीका मिहिलाल उपाध्यायले प्राप्त गरे । 

ललितकला विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार काठमाडौंका श्यामलाल श्रेष्ठले प्राप्त गरे । 

प्रादेशिक प्रतिभा पुरस्कार प्रदेश १ बाट सुनसरीका जीवननाथ पोखरेल, प्रदेश २ बाट धनुषाका सरितादेवी मण्डल, बागमती प्रदेशबाट ललितपुरका चन्द्रश्याम डंगोल, गण्डकी प्रदेशबाट स्याङ्जाका महेश आचार्य, प्रदेश ५ बाट गुल्मीका सुमित्रा राना, कर्णाली प्रदेशबाट कालिकोटका भीमबहादुर सिंह र सुदूरपश्चिम प्रदेशबाट डोटीका रवीन्द्रबहादुर चन्दले पाए । 

संगीत तथा नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार सिराहाका सत्यनारायण चौधरीले प्राप्त गरे । 

प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश १ बाट ताप्लेजुङका भरत गुरुङ, प्रदेश २ बाट महोत्तरीका हिराकुमारी दर्लामी, बागमती प्रदेशबाट रामेछापका केशर कालिकोटे, गढडकी प्रदेशबाट तनहुँका मनकुमार श्रेष्ठ, प्रदेश ५ बाट पाल्पाका लक्ष्मी न्यौपाने, कर्णाली प्रदेशबाट कालिकोटका कृपाराम शर्मा धमला र सुदूरपश्चिम प्रदेशबाट बैतडीका मनोहरराम दमाईंलाई प्रदान गरियो । 

यस्तै महाकवि देवकोटा पुरस्कार २०७६ बाट कविता विधाअन्तर्गत तेह्रथुमका मोहन सिटौला, निबन्ध विधातर्फ दाङका प्रा. केशव सुवेदी, गद्यख्यान–नाटकतर्फ काठमाडौंका पद्मावती सिंह, बाल साहित्य–लोकसाहित्यतर्फ दैलेखका डा. मधुसुदन गिरी र भाषा–साहित्यतर्फ भक्तपुरका भैरव रिसाललाई प्रदान गरियो । 

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट नाटक विधातर्फ तेह्रथुमका अभि सुवेदी र कविता विधातर्फ धादिङका प्रा. घनश्याम उपाध्याय कँडेलले प्राप्त गरे । 

पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६ तर्फ राजनीतिक र सैद्धान्तिक विधामा ललितपुरका स्नेहलता गुरुवाचार्य वन श्रेष्ठ, इतिहास विधातर्फ कपिलवस्तुका डा. माधवराज पन्थीलाई प्रदखन गरियो भने साहित्य, संस्कृति र विज्ञानतर्फ काठमाडौंको राष्ट्रिय आविष्कार केन्द्रलाई सम्मानित गरिएको छ ।

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६ तर्फ समाज सुधार अभियान विधामा जाजरकोटका नवराज विक (मरणाेपरान्त), मानव अधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई प्रदान गरियो ।