बाढीपहिरोबाट ८५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोमा परेर ५१ जना बेपत्ता र ४६ जना घाइते भएको गृहसचिव महेश्वर न्यौपानेले जानकारी दिए । राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा गृहसचिव न्यौपानेले बाढीपहिरोबाट अहिलेसम्म भएको क्षतिबारे जानकारी दिँदै हालसम्म एक सय ३४ वटा घर क्षति बताए ।
न्यौपानेले ठूलो पहिरो जानुको कारणमा भूकम्पले ठाउँठाउँमा चिरा पार्नु, विकासको नाममा डोजर प्रयोग हुनु र यसपालि प्रिमनसुन हुनु उल्लेख गरे । खोज तथा उद्धारका कामहरूलाई प्रभावकारी बनाइएको न्यौपानेले जानकारी दिए ।
उनले भने, ‘सडक खोल्ने हेपी इक्युपमेन्टहरू विभिन्न राजमार्गमा राखिएको छ । तराईका डुबान हुने ठाउँहरूमा विभिन्न जिल्लाहरूमा एक सय ९१ वटा मोटर बोट राखिएको छ ।’ सुरक्षाकर्मी, नेपाली सेनाका हेलिकोप्टरहरू तयारी अवस्थामा राखिएको उनले बताए ।