मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २९ सोमबार १४:१९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

क्यान्सरपीडित कोरोना संक्रमित घरमै : गाउँ नै सिल गरियो

Read Time : > 1 मिनेट
२०७७ असार २९ सोमबार १४:१९:००

ओखलढुंगाका ७२ वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिए पनि उपचार नगराई घरैमा राखिएको छ । लिखु गाउँपालिकाका क्यान्सरपीडित ती पुरुषलाई २६ असारमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

कमजोर स्वास्थ्य अवस्था भएका क्यान्सरपीडित वृद्धलाई कोरोना संक्रमण भएपछि जिल्ला कमान्ड पोस्टले गाउँमै राख्ने निर्णय गरेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । 

काठमाडाैंमा क्यान्सरको उपचार गराइरहेका वृद्धलाई स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि गाउँ फर्काएका थिए । वृद्ध संक्रमितको पुनः पिसिआर परीक्षण गर्ने र त्यो रिपोर्टमा कोरोना पोजेटिभ आएमा थप उपचारका लागि पहल गर्ने जिल्ला कमान्ड पोस्टको तयारी छ । 

१७ घर सिल 
लिखु गाउँपालिकाका ७२ वर्षीय क्यान्सरपीडित वृद्धको गाउँका १७ घर सिल गरिएको छ । कोरोना संक्रमण देखिएका एकजना घरमै रहेकाले १७ घरधुरी रहेको उक्त गाउँलाई सिल गरिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । 

काठमाडौंबाट उपचार गराएर ती वृद्ध गाउँ फर्किएका थिए । काठमाडौंमै रहँदा स्वाब दिएर गाउँ फर्किसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । ‘संक्रमण पुष्टि भइसकेपछि संक्रमित वृद्धको कन्ट्याक्ट ट्रेसिङ गर्दा गाउँका अरूले पनि उनीसँग भेटघाट गरेको पाइयो,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘त्यसैले गाउँलाई नै क्वारेन्टाइन बनाएर सिल गरिएको छ ।’ प्रजिअ पौडेलका अनुसार वृद्धको संक्रमण पुष्टि भएपछि उहाँको गाउँमा आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ । 

गाउँमा नेपाल प्रहरी र लिखु गाउँपालिकाका नगर प्रहरीले सुरक्षा दिइरहेका छन् । सिल गरिएको टोलभित्र करिब एक सयजनाको बसोवास छ  ।

लिखु  गाउँपालिकाले सिल गरिएको गाउँमा राहत वितरण गरेको छ । ३० केजी चामल, दाल, तेल, नुन, चिनीलगायतका खाद्यसामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष गोविन्द पौडेलले जानकारी दिए । 

ओखलढुंगाको लिखु गाउँपालिका कोरोनाको केन्द्र बनेकाे छ । हालसम्म जिल्लाका पाँचजनामा संक्रमण देखिएको छ । उनीहरू सबै लिखु गाउँपालिकाका हुन् ।

संक्रमितमध्ये एकजना कोरोना जितेर घर फर्किएका छन् ।