मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २९ सोमबार १२:०७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारी अधिकारीहरूको मनलाग्दी : नक्कली व्यक्ति खडा गरी ३२ रोपनी जग्गा बेचबिखन गर्ने सहसचिवसहित १३ जनाविरुद्ध अख्तियारले हाल्याे मुद्दा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २९ सोमबार १२:०७:००

नक्कली व्यक्ति खडा गरी सरकारका नाममा आउनुपर्ने ३२ रोपनी जग्गा बेचबिखनमा संलग्न सहसचिवसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

नवलपरासी जिल्लाको साबिक सनई गाविसमा पर्ने हदबन्दी रोक्का रहेका जग्गा नक्कली व्यक्ति खडा गरी बेचबिखन गरिएको अख्तियारले जनाएको छ ।

नक्कली व्यक्ति प्रेमशरण खत्रीका नाममा कायम रहेका जग्गाहरू मिलेमतोमा अनुप मेहरा भन्ने भारतीय नागरिकलाई अनुपकुमार खत्री बनाई उनको नामबाट विभिन्न व्यक्तिहरूलाई बिक्री–वितरण गरिएको थियो । 

पिएस मेहराका छोरा अनुप मेहरा भारतमा बसोवास गर्ने र भारतमै मृत्यु भएका व्यक्ति हुन् । 

तर, उनलाई नेपालमै बसोवास गर्ने र नेपालमै मृत्यु भएको भनी गलत नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्रलगायतका गलत कागजात बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी जग्गा हिनामिना गरिएको थियो । 

भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन मालपोत अधिकारी ईश्वरप्रकाश कलवारले गलत कागजातका आधारमा कानुनविपरीत तीन परिवार संख्या कायम गर्ने गरी गैरकानुनी निर्णय गरेका थिए । 

सोही निर्णयलाई कार्यान्वयन गराएको भनी मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृत र स्थानीय निकायसमेतको मिलेमतोमा नेपाल सरकारका नाममा आउनुपर्ने ३२ रोपनी जग्गा भारतीय नागरिक पिएस मेहराको छोरा अनुप मेहराबाट बिक्री–वितरण गराइएको थियो । 

जग्गा हिनामिनामा संलग्न तत्कालीन प्रमुख मालपोत अधिकृत टीकाराम ज्ञवाली, भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, नासु बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठलगायतमाथि मुद्दा दायर गरिएको छ । 

त्यस्तै, तत्कालीन गाविससचिवत्रय नन्दलाल दास, बुद्धिसागर सुवेदी र नन्दलाल कुम्हाल कोहार, कम्प्युटर अपरेटर सुवास खड्का, खरिदारहरू नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मु मगर र खगेन्द्र पराजुली तथा गैरमी गाउँपालिका वडा नम्बर ५ का रविकुमार खत्रीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । 

प्रतिवादीहरू सबैविरुद्ध जनही पाँच करोड पाँच लाख ४२ हजार बिगो कायम गरी मुद्दा दायर गरिएको छ । 

हाल ती जग्गा देवेन्द्रसिंह सैथवार, अमनसिंह सैथवार (नाबालक), तेजप्रतापसिंह सैथवार (नाबालक) रितुकुमारी सैथवार, शिवलाल चमार, प्रदीप सुनार, तेजश्व सोनकर, पूर्णिमाकुमारी बर्मा सुनार र प्रियंककुमारी बर्माको नाममा छ । 

जग्गा हिनामिनामा संलग्नता नदेखिएको, तर जग्गा उनीहरूका नाममा रहेको भन्दै जग्गाधनी (नाबालकबाहेक) विरुद्ध जग्गा जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरिएको छ । 

उक्त जग्गा नेपाल सरकारका नाममा मोहियानी कायम हुनुपर्ने माग दाबी पनि अख्तियारको छ ।