१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २९ सोमबार ११:२७:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयास : आयोजना हुन थाले दर्शकसहितका प्रतिस्पर्धा 

Read Time : > 2 मिनेट
२०७७ असार २९ सोमबार ११:२७:००

फ्रान्सको लु हाभमा आइतबार एउटा फुटबल खेलको आयोजना भयो । फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) दोस्रो डिभिजनको टोली लु हाभविरुद्ध मैदानमा उत्रिएको थियो । 

कोभिड– १९ महामारीको अहिलेको अवस्थामा स्टेडियममा दर्शकको उपस्थितिसहित यो खेलको आयोजना भयो । फ्रान्सेली फुटबल संघले खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयासस्वरूप दर्शकको उपस्थितिमै यो प्रदर्शनी खेलको आयोजना गरेको हो । 

नेमार, केलियन एम्बाप्पेलगायत पिएसजीका स्टार खेलाडी प्रतिस्पर्धाका लागि लु हाभसम्म पुगेका थिए । लु हाभको २५ हजार सिट क्षमताको स्टेडियममा यो खेलका लागि मात्रै पाँच हजार दर्शकलाई अनुमति दिइएको थियो । 

प्रदर्शनी खेल नै भए पनि युरोपको चर्चित पाँच लिगमध्ये कोभिड– १९ महामारीपछि दर्शकसहित प्रतिस्पर्धा आयोजना गर्ने फ्रान्स नै पहिलो देश भएको छ । त्यसमध्ये ती पाँच हजार दर्शक पनि भाग्यमानी रहे, जसले चार महिनापछि स्टेडियम पुगेर खेल हेर्न पाए ।

उनीहरूले आफ्नै सहरमा आफ्नो टोलीले फ्रान्सकै शीर्ष टोलीसँग प्रतिस्पर्धा गरेको हेर्ने अवसर पाए । लामो समयपछि दर्शकसहितको स्टेडियममा खेल्न पाउँदा खेलाडीहरूले पनि खुसी व्यक्त गरेका छन् । ‘यो साँच्चिकै भएको छ । हामी फर्किएका छौँ,’ खेलपछि एम्बाप्पेले ट्विट गरेका छन् । 

मैदानमा स्टार खेलाडीले भरिएको पिएसजीले लु हाभविरुद्ध केही दया देखाएझैँ गऱ्याे । यद्यपि, उसले खेल ९–० को ठूलो अन्तरले जित्याे । यो अवसरलाई पिएसजीका स्टार खेलाडीहरूले अहिलेको अवस्था सम्भव बनाउन महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्ने अवसरको रूपमा पनि प्रयोग गरे ।

 उनीहरूले आफ्नो किट्स व्यागमा टोउस युनिस मर्सी लेखेका थिए । टाेउस युनिसको अर्थ सबै एकताबद्ध र मर्सीको अर्थ धन्यवाद भन्ने हुन्छ । 

युरोपको शीर्ष पाँच लिगमध्ये फ्रान्सले मात्रै दर्शकलाई मैदानमा अनुमति दिएको छ । कोभिड– १९ महामारीपछि सावधानी अपनाएर लिग फुटबल सुरु गर्ने पहिलो देश जर्मनीले दर्शकविना नै आफ्नो लिग खेल टुङ्ग्यायो । स्पेन, इंग्ल्यान्ड र इटालीमा पनि दर्शकविनाकै लिग जारी छ ।

कोभिड– १९ महामारीपछि नराम्रोसँग प्रभावित भएको खेलकुद क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने प्रयास अन्यत्र पनि जारी छ । अमेरिकामा पनि यस्तो प्रयास देखिएको छ । वेष्ट भर्जिनियामा दर्शककै उपस्थितिमा वर्ल्ड टिम टेनिस प्रतियोगिता सुरु भएको छ ।

आगामी तीन सातासम्म चल्ने प्रतियोगितामा विभिन्न नौ टोलीको सहभागिता रहेको छ । प्रतिस्पर्धामा केही नियम भने परिवर्तन गरिएको छ । यसअघिको प्रतिस्पर्धामा जस्तो कोर्टमा बल ब्लाई हुने छैनन् । खेलाडीहरूले विपक्षी खेलाडीसँग हात मिलाउने छैनन् । 

प्रतियोगितामा दुई हजार पाँच सय क्षमताको स्टेडियममा पाँच सय दर्शकलाई मात्रै अनुमति दिइएको छ । यद्यपि, पानी परेर खेल इन्डुअर गर्नुपरेको अवस्थामा भने एक सय जना मात्रै दर्शक र ५० जना आयोजक र कर्मचारीलाई मात्रै अनुमति दिइने आयोजकले जनाएको छ।

युरोपियन फुटबलमा जस्तो टेनिसका यी खेलाडीहरूले दर्शकविहीन कोर्टमा खेल्नुपरेन । शारीरिक दूरी कायम गरी राखिएका दर्शकलाई मास्क भने अनिवार्य गरिएको छ । प्रतिस्पर्धामा सहभागी भएपछि अमेरिकन खेलाडी टेन्निज सान्डग्रेनले खुसी व्यक्त गरे । 

‘पल्लिो चार महिना साँच्चिकै मुस्किल भयो । त्यो कठिनाइपछि यसरी मैदानमा फर्कन पाउँदा खुसी लागेको छ,’ सान्डग्रेन भन्छन्, ‘यो अवस्थामा पनि हाम्रो खेल हेर्न स्टेडियममा दर्शकलाई देख्न पाउँदा अझ खुसी लागेको छ ।’

खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयासकै लागि टेनिसका शीर्ष वरीयताका खेलाडी नोभाक जोकोभिचले गत महिना आफ्नै देश सर्भियासहित क्रोएसियामा पनि दर्शकसहितको प्रदर्शनी खेलको आयोजना गरेका थिए । उनको प्रतियोगितामा त दर्शकहरूलाई शारीरिक दूरीसमेत कायम गराइएको थिएन । 

दुर्भाग्य, सो प्रतियोगितापश्चाच् जोकोभिचले आफू र पत्नी दुवैजनालाई कोभिड– १९ संक्रमण पुष्टि भएको घोषणा गरेका थिए । त्यसमा उनले माफीसमेत मागेका थिए ।