मनसुन जारी रहेकाले जोखिममा रहेका भूभागहरू, नदीकिनार, कटान तथा डुबान दोहोरिने क्षेत्रमा बसोवास गरेकाहरूलाई विशेष सतर्कता अपनाउन सभामुख अग्निप्रसाद सापकोटाले अपिल गरेका छन् । उनले राहत, उपचार, बेपत्ताहरूको खोजीका लागि सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
सभामुख सापकोटाले आइतबार अपिल जारी गर्दै भनेका छन्, ‘सरकारका तर्फबाट पूर्वतयारी, घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितहरूको पुनर्स्थापनाका लागि प्रयास भइरहेको छ । यस प्रयासलाई गुणात्मक रूपमा बढाउन जरुरी छ । तयारीलाई तीव्रता दिन, बेपत्ताहरूको खोजी र अवरुद्ध हुन पुगेका सडक सञ्चालनका लागि विशेष अभियान सञ्चालन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
त्यस्तै, सांसदहरूलाई यो संकटमा संघ, प्रदेश र स्थानीय तहहरूसँग समन्वय गरी आ–आफ्नो ठाउँबाट पहल जारी राख्न पनि उनको अपिल छ । उनले भनेका छन्, ‘हाल संघीय संसद्को बैठक चलिरहेको छैन । विपत्तिमा जनताको घरदैलोमा पुगेर सहयोगमा जुटिरहनुभएका माननीय सदस्यहरूलाई संघ, प्रदेश र स्थानीय तहहरूसँग समन्वय गरी आ–आफ्नो ठाउँबाट पहल जारी राख्नुहुन आह्वान गर्दछु ।’