१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २८ आइतबार १७:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनुगमनको सुन लुकाएको आरोपमा वाणिज्य विभागका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २८ आइतबार १७:४८:००

अनुगमनका क्रममा नमुना रूपमा संकलन गरिएको सुन तथा चाँदी हिनामिना गरेको आरोपमा  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तत्कालीन दुई निर्देशकसहित तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । निर्देशकहरू लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्बासे तथा नासु रामबहादुर थापामगरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
 
श्रेष्ठले ७ माघ २०७३ मा  नोज पिन हाउस नयाँ सडक काठमाडौं र ३० चैत २०७३ मा दलबहादुर एन्ड सुनचाँदी पसल, दी युनाइटेड ज्वेलर्स प्रालि, गोरखा एन्ड बराह ज्वेलरी इन्डष्ट्रिज प्रालि, फेवा सन्तोष सुनचाँदी दोकान र अर्जुन पुम्दीभुम्दी सुनचाँदी पसल, पोखरामा अनुगमन गरी संकलन गरिएका गहना हिनामिना गरेको आयोगको दाबी छ । जिल्ला प्रशासन कार्यालय, कास्कीबाट  त्यसरी नमुना संकलन गरिएका गहना जफत हुने ठहर्छ भन्ने फैसला भएकोमा उनले ती सुन आफूसँगै राखेका थिए ।  

त्यस्तै निर्देशक हरिनारायण बेल्वासेले सूर्यबहादुर एन्ड सन्स ज्वेलर्स, ओटु काठमाडौंमा अनुगमन गरी संकलन गरिएका गरगहना काठमाडौं जिल्ला अदालतबाट अभियोग दाबी नपुग्ने गरी फैसला भए पनि फिर्ता नगरी  आफूसँगै राखेका थिए । 

हाल अवकाश पाइसकेका नासु रामबहादुर थापामगरले ओम ज्वेलर्स, विशाल बजार, नटराज ज्वेलर्स विशाल बजार, समृद्धि ज्वेलर्स न्युरोड, श्री गणेशाय ज्वेलर्स, न्युरोड, ब्लु हर्ष ज्वेलर्स प्रालि न्युरोड काठमाडौंमा लक्ष्मण श्रेष्ठको नेतृत्वमा अनुगमन गरी संकलन गरिएका स्टोरकिपरको रूपमा आफूले जिम्मा बुझेका गहनाहरू सम्बन्धित पसलमा फिर्ता नगरी सेवानिवृत्त हुँदासम्म आफ्नो साथमा राखी उक्त सुनचाँदीका गहनाहरू हिनामिना गरेको  आयोगले जनाएको छ ।  

उनीहरूले ३५.३४ ग्राम सुन तथा ७७.४२ ग्राम चाँदी हिनामिना गरेको आयोगले जनाएको छ । लुकाइएका गहना असुलउपरको मागदाबीसहित उनीहरूविरुद्ध मुद्दा दायर भएको छ ।