मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २८ आइतबार १५:१४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खराब मौसमका कारण सेना र सशस्त्र प्रहरीको उद्धार टोली संखुवासभाको पहिरोस्थलमा पुग्न सकेन

Read Time : > 1 मिनेट
२०७७ असार २८ आइतबार १५:१४:००

प्रदेश १ को पहाडी जिल्ला संखुवासभाको सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँमा पहिरोको प्रकोपमा परेर बेपत्ता भएकाहरूको खोजी र प्रभावितहरूको उद्धारका लागि मौसम प्रतिकूल हुँदा हेलिकाेप्टरबाट सुरक्षाकर्मी जान सकेका छैनन् । 

प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार बेपत्ताहरूको खोजी र प्रभावितहरूको उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोली बिहानैदेखि हेलिकाेप्टरबाट पठाउन खोजिए पनि मौसम प्रतिकूल भएकोले सुरक्षाकर्मी घटनास्थल पुग्न नसकेका हुन् । 

घटनास्थल संखुवासभाको सदरमुकाम खाँदाबारीबाट करिब ५० किलोमिटर टाढा पर्दछ । 

शनिबारदेखि परिरहेको मुसलधारे वर्षा आइतबार दिउँसोसम्म पनि रोकिएको छैन । जसले गर्दा सुरक्षाकर्मीको उद्धार टोली पुग्न कठिनाइ भइरहेको उनले बताए । 

आइतबार प्रदेश १ को प्रदेश सभा बैठकमा सरकारको तर्फबाट घटनाको अवस्थाबारे जानकारी गराउँदै मन्त्री कार्कीले मौसम अनुकूल हुनेबित्तिकै  सुनसरीको इटहरीस्थित नेपाली सेनाको पृतना र सशस्त्र प्रहरीको बराहबाहिनीबाट संयुक्त सुरक्षाकर्मीको उद्धार टोली घटनास्थल पुग्ने बताए । 

मौसममा सुधार आउनेबित्तिकै टोली त्यसतर्फ प्रस्थान गरिहाल्ने उनको भनाइ छ । 

मन्त्री कार्कीका अनुसार प्रकोप प्रभावित परिवारका लागि सरकारले आवश्यक राहतको व्यवस्था गरिसकेको र मौसमको अनुकूलता भएपछि हेलिकाेप्टरबाटै तुरुन्तै राहत पठाउन सरकारले तयारी छ  । 

पहिरो प्रभावित क्षेत्रमा स्थानीय सुरक्षाकर्मीहरूको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको मन्त्री कार्कीले जानकारी गराए । 

गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ राईका अनुसार घाइतेमध्ये एकजनाको मृत्यु भएको खबर आएको, तर घटनास्थलमा पुग्न कठिनाइ भएकोले पृष्टि हुन नसकेको बताए । 

उनका अनुसार खाँदबारी र भोजपुरबाट खटिएका प्रहरीलाई पनि पानीले गर्दा घटनास्थल पुग्न समस्या भइरहेको छ । खराब मौसमले गर्दा सिकिस्त घाइतेहरूलाई उपचारका लागि लान पनि समस्या भइरहेको उनले बताए । 

यता घाइतेहरूको सरकारले निःशुल्क उपचार गर्ने र मृतक परिवारलाई प्रदेश सरकारले कानुनअनुसार क्षतिपूर्ति दिने पनि मन्त्री कार्कीले प्रदेश सभाको आइतबारको बैठकमा जानकारी गराए ।