मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ असार २८ आइतबार १२:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोको त्रास : संखुवासभामा पहिरोले आठ घर बगायो, ११ जना बेपत्ता, तीनको उद्धार 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ असार २८ आइतबार १२:०४:००

संखुवासभाको सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँमा गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा आठ घर बगाएको छ भने ११ जना बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएका तीनजनाको भने जीवितै उद्धार भएको जिल्ला प्रशासन कार्यालय संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । 

उनका अनुसार आठ घर बगाउनुका साथै अझै ११ जना बेपत्ता अवस्थामा रहेका छन् ।

उनले सिलिचोङ गाउँपालिका–१ का गेदासिंह कुलुङ, जुद्धबहादुर कुलुङ, सन्दीप कुलुङ, रामधन कुलुङ र भीमबहादुर कुलुङलगायत आठजनाको घर बगाएको बताए । 

उद्धारका लागि ताम्कु तथा सिसुवाटारमा रहेको प्रहरी चौकीबाट नेपाल प्रहरी र ताम्कुमा रहेको नेपाली सेनाको टोली घटनास्थलतर्फ हिँडेको छ । 

थप जनशक्तिका लागि सदरमुकाम खाँदबारीबाट नेपाल प्रहरी १५, सशस्त्र प्रहरी बल १५ र नेपाली सेना ३० जना गरी ६० जनाको टोली हिँडिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

गएरातिदेखि परेको अविरल वर्षाको कारण घटनास्थलमा पुग्न आवातजावतमा समेत समस्या भएको जनाइएको छ ।

साथै घटनास्थल जिल्लाको विकट स्थानमा रहेकाले र पानी पर्ने क्रम नरोकिएको र बीचबाटोहरूमा स–सानो पहिरोले समेत बाटो रोकेकाले टोली घटनास्थलसम्म पुग्न नसकेको सहायक प्रजिअ घिमिरेले बताए ।

घटनास्थल पुग्न उद्धार टोलीलाई करिब ५–६ घन्टा लाग्ने उनले बताए ।