मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कारा स्विसर
२०७७ असार २८ आइतबार ०७:१२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नसुध्रिने फेसबुक र मार्क जुकरवर्ग 

Read Time : > 2 मिनेट
कारा स्विसर
२०७७ असार २८ आइतबार ०७:१२:००

मेरा धेरै लेख फेसबुकबारे लेखिँदा रहेछन् । हुन पनि हरेक हप्ताजस्तो फेसबुकसँग जोडिएर यस्ता समाचार आइरहेका हुन्छन्, जसले कम्पनीबारे नलेखिरहन सकिन्न । अघिल्लो साता सयौँ विज्ञापनदाताले फेसबुकको कामकारबाही तथा नीतिप्रति असन्तुष्टि जनाउँदै, उसको मञ्चलाई विज्ञापन नदिने घोषणा गरे । अधिकारकर्मीहरूको दबाबका कारण विज्ञापनदाता त्यस निर्णयमा पुगेका थिए । तर, कम्पनीका प्रमुख कार्यकारी मार्क जुकरवर्गले उनका कर्मचारीसँगको कुराकानीमा यो प्रयासलाई अवमूल्यन गर्दै बहिष्कार गर्ने विज्ञापनदाता छिट्टै फर्किने बताएको खुलासा भयो । 

जुकरवर्गले कामदारलाई त्यो कुरा भनिरहँदा फेसबुकमा दोस्रो वरीयतामा रहेकी सिओओ सेरिल स्यान्डवर्ग बहिष्कार गर्ने विज्ञापनदातालाई फकाउने अभियानमा थिइन् । जुकरवर्ग र स्यान्डवर्गले जुममार्फत सिभिल राइट्स(नागरिक अधिकार) संगठनहरू एन्टी-डिफेमेसन लिग, नेसनल एसोसियसन फर एड्भान्समेन्ट अफ कलर्ड पिपुल, कलर अफ चेन्ज एन्ड अदरलाई मनाउने कोसिस पनि गरेका थिए, जसमा ती असफल भए । ती संगठनहरू फेसबुकले वाचा गर्ने तर वाचा पूरा नगर्ने प्रवृत्तिबाट विरक्त भइसकेका देखिन्छन् । तर, यी समूहको दबाबका कारण सयौँ कम्पनीले फेसबुकमा विज्ञापन राख्न अहिलेलाई रोकेका छन् । यसमा युनिलिभरजस्तो ठूलो कम्पनीसमेत सामेल छ । 

जुकरवर्गले कम्पनीमा जुन अथाह शक्ति लिएर बसेका छन्, त्यस आधारमा कम्पनीका गल्तीको जिम्मेवारी उनले लिनुपर्छ । तर, उनी कठिन अवस्थामा जिम्मेवारीबाट पन्छिने प्रयास गर्छन्।

अहिले फेसबुकमा विज्ञापन बहिष्कार गर्ने कम्पनीहरूले दशवटा मागको सूची अघि सारेका छन् । विगतमा पनि तिनले यी माग गरेका थिए तर कुनै सुनुवाइ भएको थिएन । जुकरवर्ग र स्यान्डवर्गसँग पछिल्लोपटक बैठकमा बसेका सिभिल राइट्स समूहले वार्तालाई निराशाजनक संज्ञा दिए । 

फेसबुक आफँैले तयार पार्न लगाएको एक स्वतन्त्र रिपोर्टमा पनि कम्पनीको प्रदर्शन निराशाजनक रहेको निष्कर्ष निक्लेको छ । रिपोर्टमा फेसबुकले उसका प्रयोगकर्तालाई विभेदकारी सामग्रीबाट संरक्षण गर्न नसकेको उल्लेख छ । रिपोर्टले फेसबुकका कामकारबाही र ट्रम्पका भड्काउ पोस्टलाई नहटाउने जुकरवर्गको निर्णय ‘नागरिक अधिकारको सन्दर्भविरुद्धको ठूलो धक्का’ भनेको छ । 

फेसबुकका अधिकांश आलोचकका लागि ८९ पृष्ठको रिपोर्टमा समावेश रहेका विषय नौलो थिएन । फेसबुक कम्पनीले सुरुदेखि नै उसको प्ल्याटफर्मका घृणाजन्य अभिव्यक्ति र अन्य विशाक्त पक्षलाई बेवास्ता गर्दै अघि बढिरहेको छ । यस विषयमा आलोचना हुँदा जुकरवर्गले आफ्नो बचाउमा अमेरिकी संविधानको पहिलो संशोधन प्रयोग गर्ने गर्छन्, जबकि त्यसमा उल्लेखित प्रत्येक शब्दको उनी गलत व्याख्या गरिरहेका हुन्छन् । कम्पनीभित्र जुकरवर्गको जस्तो असाधारण भोटिङ तथा कर्पाेरेट शक्ति भएकालाई निर्णय गर्न बोर्डको आवश्यकता पर्दैन । अथाहा शक्ति भएकै कारणले फेसबुकका सबै खराबीका लागि दोष सीधा जुकरवर्गमाथि नै जान्छ । 

अक्सर म आफ्ना कुरा भन्नलाई नयाँ-नयाँ बिम्ब खोजिरहेको हुन्छु । त्यस क्रममा पछिल्लो समय फेसबुकलाई मैले एक मासु विक्रेताको रूपमा सोच्न थालेको छु । ऊ यस्तो मासु विक्रेताजस्तो देखिन्छ, जो अरूले उत्पादन गरेको मासु बेच्छ । यसका केही मासु त मिठा र सफा छन्, तर खराब मासु पनि त्यहाँबाट बाहिरिन्छन् । अझ त्यहाँबाट फोहोर मासु बाहिरिने क्रम बढ्दो छ तर तिनमाथि कुनै नियामक दृष्टि छैन । 

यस्तोमा विवाद उत्पन्न हुन्छ । अनि कसाईहरूको प्रमुख आफ्नो प्रतिरक्षामा तर्क गर्छन्– पेट गडबड गरे पनि मानिसहरू कुहिएको मासु खानसमेत स्वतन्त्र हुनुपर्छ । कुन मासु राम्रो हो, कुन खराब हो भन्ने काम विक्रेताको होइन (जबकि विक्रेताले धेरैजसो अवस्थामा राम्रो र नराम्रो मासुको भेद छुट्याउन सक्छन् ।) यस अर्थमा मार्क जुकरवर्ग यस्तो सडेको खाना बाँडिरहेका छन्, जुन उनी आफैँ भने पकाउन नसकिने बताउँछन् । फेसबुक सञ्चालनको हरेक पक्षमाथि जुकरवर्गको नियन्त्रण छ । यति ठूलो शक्ति भएकाले कठिनाइ आउँदा जिम्मेवारीबाट पन्छिन सक्दैनन् । 

सिभिल राइट्स अधिवक्ता लाउरा डब्लु मर्फी तथा मेघन क्याकसीले निकालेको एक प्रतिवेदनमा फेसबुकको समस्याबारे भनिएको छ, ‘सिभिल राइट्स समुदायले वर्षौंदेखि फेसबुक कम्पनीलाई समानता तथा विभेदविरुद्धको लडाइँ पक्षमा थप काम गर्न माग गरेको छ । तर, यसको जवाफमा निराशा, हतासा र आक्रोसबाहेक यो समुदायले केही पाएको छैन ।’ यी दुई अधिवक्ताले यो वर्षका राष्ट्रपति निर्वाचनमा पनि फेसबुकको दुष्प्रभाव हुनेबारे चिन्ता व्यक्त गरेका छन् । 

‘फेसबुकले बनाएको नीतिले यो माध्यम निर्वाचनको समयमा वर्तमान राष्ट्रपतिको हस्तक्षेपका लागि खुला छ । त्यस्तै अरू कुनै पक्षले मतदातालाई गुमाराहमा राख्ने गरी गलत सूचना फैलाउन यसलाई प्रयोग गर्न सक्छन्,’ तिनले लेखेका छन् ।

कम्पनीकी सिओओ स्यान्डवर्गले रिपोर्टले औँल्याएको समस्याबारे स्विकार्दै फेसबुक सुधारको लामो यात्राको प्रारम्भमा रहेको बताइन् । स्यान्डवर्गले प्रयोग गरेको सुधारको प्रारम्भ भन्ने शब्द एकदम सही छनोट हो । तर, यसबीच जुकरवर्गले विज्ञापनदाताको बहिष्कारलाई सम्बोधन गर्नभन्दा पर्खन भने । फेसबुकका विज्ञापनदाता, रोजगारदाता र उसकै रिपोर्टले पनि फेसबुक विषाक्त भएको बताएको छ । यस्तोमा विश्व समुदाय नै जुकरवर्गको असफल नेतृत्वको पर्खाइमा छ । यस्तो भयो भने मात्र आगामी सातामा फेरि–फेरि फेसबुकबारे लेखिरहन पर्दैन ।

(कारा स्विसर रिकोड नामक वेबसाइटकी सम्पादक हुन् ।) 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य