१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ असार २८ आइतबार ०८:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

जाजरकोटको बारेकोटमा नौ शव भेटिए, पाँच सय परिवार विस्थापित

Read Time : > 1 मिनेट
२०७७ असार २८ आइतबार ०८:५५:००

बिहीबार राति आएको पहिरोले जाजरकोटको बारेकोट–४ सार्कीटोलका दुई घर बगाउँदा नौजनाको मृत्यु भएको छ । तीन बेपत्ता छन् । पहिरोले गाउँ बगाउन थालेपछि बारेकोटमा पाँच सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घरनजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।    

विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ । मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीय पत्रकार तीर्थराज बोहराले जानकारी दिए । वडा नं. १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन् । त्यस्तै, वडा नं. ५ को पाखा, तोलखाना र कालाखोलीका एक सयभन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन् ।

विस्थापितलाई दुई विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए । सिंहका अनुसार पाँच सयभन्दा बढी घरधुरी विस्थापित भएर विद्यालय तथा जंगलमा बसेका छन् । खोला बढेका कारण एक गाउँबाट अर्को गाउँमा जान सकिएको छैन । सबै गाउँलेले गाउँ छाडेर खुला आकाशमा पाल टाँगेर बसेको स्थानीयवासी जनकबहादुर शाहीले बताए । पानी नरोकिएकाले अहिले पनि धेरै घर जोखिममा छन् ।

नौजनाको मृत्यु, तीन बेपत्ता

बिहीबार राति आएको पहिरोले बारेकोट–४ सार्कीटोलका दुई घर बगाउँदा नौजनाको मृत्यु भएको छ । तीन बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको वडा नं. ४ की वडाध्यक्ष सिर्जना बस्नेतले जानकारी दिइन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र सर्वसाधारणबाट बेपत्ताको खोजी भइरहेको छ । विस्थापितलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ । राहत लिएर काठमाडौंबाट जाजरकोट आउने भनिएको हेलिकोप्टर खराब मौसमका कारण आउन नसकेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।   

बारेकोट–४ सार्कीगाउँमा बेपत्तामध्ये ५२ वर्षीय घरमूली गोपाल सार्की, उनका छोरा ११ वर्षीय अर्जुन, १४ वर्षीया छोरी तिर्खा, २० वर्षीया डिल्ली, कुशे गाउँपालिका–९ बाट दिदीको घरमा पाहुना गएकी १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेलापरेको छ । त्यस्तै, कल्पना सार्की, ६ वर्षीय सुवास सार्कीको पनि आज शव फेलापरेको छ । बारेकोट–४ का अझै तीन तथा बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउनेलाई स्थानीय एक खोलाले बेपत्ता बनाएकाेमा अहिलेसम्म शव फेलापरेको छैन ।     

घाइतेको उद्धार     

बारेकोट–६ धुमाका रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानीय खोलामा आएको बाढीले बगाएर किनारामा फ्याँकेको अवस्थामा स्थानीयवासीले उद्धार गरी थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको छ । त्यस्तै पहिरोमा परी घाइते भएका बारेकोट–४ का लालबहादुर नेपालीलाई पनि सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ ।     

विस्थापितलाई खानेकुरा छैन     

सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा पहिरोबाट विस्थापित तथा पीडितहरूका लागि खानेकुरा नहुँदा समस्या भएको छ । घर छाडेर जंगलमा बसेका सर्वसाधारण हैरान भएका छन् । नियमित पानी परिरहेकाले खुला आकाशमा भिज्दै आफन्तको पीडामा दिन बिताएका छन् ।