Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २८ आइतबार ०८:३४:००
Read Time : > 1 मिनेट
खेलकुद

भाइजर लगाएर ओलम्पिक तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २८ आइतबार ०८:३४:००

कोभिड–१९ महामारीले धेरै क्षेत्रलाई असहज बनाएको छ । त्यही असहजताबीच टोकियो ओलम्पिक छनोटको तयारीमा रहेका नेपाली कराँते खेलाडी अभ्यासमा फर्किएका छन् ।

ओलम्पिक छनोटका लागि आयोजककै छात्रवृत्तिमा बन्द प्रशिक्षणमा रहेका कराँते खेलाडीद्वय अनु अधिकारी र नवीन रसाइली लकडाउन खुकुलो भएसँगै सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी धाउन थालेका छन् । उनीहरूलाई दीपक श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।

कोभिड–१९ महामारी नियन्त्रणमा नआएको सन्दर्भमा उनीहरू अभ्यासमा पनि सुरक्षाका लागि भाइजर लगाउँछन् । कराँतेमा पन्च वा किक हान्दा आवाज निकाल्नैपर्छ । आवाज निकाल्दा थुक पनि निस्किन्छ, जसले भाइरस संक्रमणको जोखिम बढाउँछ ।

कराँते खेलाडीद्वय अनु अधिकारी र नवीन रसाइली लकडाउन खुकुलो भएसँगै सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी धाउन थालेका छन् । उनीहरूलाई दीपक श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।

अनुहारमा भाइजर लगाएर अभ्यास गर्न मुस्किल भएको अधिकारी बताउँछिन् । ‘किक र पञ्च हान्दा समस्या हुँदो रहेछ । बानी नभएर पनि होला,’ उनी भन्छिन्, ‘तर, सुरक्षाका कारण भाइजर प्रयोग अनिवार्यजस्तै भएको छ ।’ पछिल्ला करिब चार महिना उनले घरमै बिताइन् । लकडाउन खुकुलो भएपछि प्रशिक्षणमा फर्किन पाउँदा उनी दंग छिन् ।

भाइजरका कारण सास फेर्नै मुस्किलजस्तो महसुस हुने रसाइली बताउँछन् । भन्छन्, ‘तर, भाइजरले संक्रमणको जोखिम कम गरेको छ ।’ प्रशिक्षणबाहेकको समयमा जहाँ पायो त्यहीं नजाने, बाहिर नखानेलगायत सावधानीमा बसेका छन्, दुवै जना ।

‘थुक र सास फेर्दा सीधै आउने हावाबाट भाइरस नसरोस् भनेर भाइजर प्रयोग गरेका हौँ । विश्व स्वास्थ्य संगठनले पनि त्यसो गर्दा संक्रमणको जोखिम कम हुने बताएको छ,’ प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘प्रशिक्षणका वेला खेलाडी उत्तेजित भएर बढी कराउँछन् । त्यसैले मास्क मात्र लगाएर खेलाउन सकिँदैन । मास्कको तुलनामा भाइजर केही सहज देखिएको छ ।’

टोकियो ओलम्पिक यही वर्ष आयोजना हुँदै थियो । तर, कोभिड–१९ महामारीका कारण सन् २०२१ का लागि सारिएको छ । सन् २०२१ मा पनि ओलम्पिक आयोजना गर्न सकिनेमा जापानी अधिकारीहरूले संशय व्यक्त गर्दै आएका छन् । प्रतियोगिताका लागि छनोट र प्रशिक्षण पनि अर्को वर्षका लागि सरेका छन् ।

प्रशिक्षक श्रेष्ठका अनुसार प्रशिक्षण क्रममा अन्य सावधानी पनि अपनाइएको छ । ‘प्रशिक्षण हल ठूलो भएकाले त्यसलाई पूरै डिसइन्फेक्ट गर्न सकिएको छैन । तर, सादा पानी प्रयोग गरेर पुछ्ने गरेका छौँ,’ उनी भन्छन्, ‘त्यसबाहेक स्यानिटाइजर प्रयोग गर्ने र नियमित साबुनपानीले हात धुने गरिरहेका छौँ ।’