Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण १९ सोमबार
  • Monday, 03 August, 2020
डा. अनूप सुवेदी
२०७७ असार २८ आइतबार ०७:४२:००
दृष्टिकोण

अस्पताल पसिसकेको महामारीसँगको सामना

जसरी कोभिड-१९ का बिरामीको संख्या बढेको छ, त्यसैगरी स्वास्थ्यकर्मी बिरामी हुने दर पनि बढ्ने अनुमान गर्न सकिन्छ

डा. अनूप सुवेदी
२०७७ असार २८ आइतबार ०७:४२:००

कोरोना भाइरसका दैनिक घोषणा हुने नयाँ संक्रमितको संख्या मात्र हेर्ने हो भने विगत केही दिनमा संक्रमण घटेकोजस्तो लाग्न सक्छ । सम्भवतः त्यसैकारणले सरकार झनै हौसिएर सार्वजनिक गतिविधि र आवागमन बढाउनेतिर अग्रसर भएको देखिन्छ । अहिलेको परिस्थितिमा सार्वजनिक यातायातलाई खुला गर्नुले त्यस्तै संकेत दिन्छ । विगत महिनामा हामीले विश्वभरको महामारीको प्रवेग देखिसक्यौँ । फेरि यसबीच आवागमन र भिडभाड धेरै बढेकाले संक्रमण झन् फैलेको हुनुपर्छ भनेर सोच्नुपर्ने, हाम्रो जाँचको रिपोर्ट नै धेरै ढिलो आउने र कन्ट्याक्ट ट्रेसिङ कहिले हुँदै नहुने, भए पनि विभिन्न कारणले निकै ढिलो हुने गरेको पृष्ठभूमिमा सोचौँ त हामीले त्यस्तो केही गर्‍यौँ र जसले गर्दा संक्रमितको संख्या एक्कासि आफैँ घट्न थालोस् ?

अहिले काठमाडौंका अस्पतालको वस्तुस्थिति बुझ्ने हो भने महामारी झन् समुदायभित्र पस्दै गएको र महामारीविरुद्धको अन्तिम युद्धमोर्चा अर्थात् अस्पतालमा प्रवेश गरिसकेको सजिलै थाहा पाउन सकिन्छ । थुप्रै अस्पतालमा संक्रमित स्वास्थ्यकर्मी र संक्रमित बिरामीको चाप धेरै बढेको छ र दिनानुदिन बढ्ने क्रममा छ । काठमाडौंभित्र र बाहिर पहाडी क्षेत्रमै पनि जसरी संक्रमितसँग वा विदेशबाट आएकासँग सम्पर्क नभएका व्यक्तिमा यो देखिइरहेको छ, त्यसको आधारमा के स्पष्ट भइसकेको छ भने यो अधिकांश पहाडी क्षेत्रमा पनि समुदायमा फैलिइसक्यो ।

विगत ४-५ महिनामा विदेशबाट आएका नागरिक र तिनको वरिपरिका वा सम्पर्कमा आएका व्यक्तिकै समूहमा परीक्षण केन्द्रित भएकाले हालसम्म दैनिक घोषणा हुने आँकडाले पनि तिनै समूहकै प्रतिनिधित्व गर्दै थियो । तर, गत हप्तादेखि विदेशबाट आउनेको परीक्षण निकै घटेको छ । त्यसैले अब आँकडामा देशभित्रै फैलिँदै गरेको महामारीको र विशेषगरी बढी नमुना संकलन हुने काठमाडौं उपत्यकाका ठूला अस्पतालमा पुगेको महामारीको प्रतिबिम्ब देखिनेछ । यस्तोमा स्वास्थ्य सेवा प्रणालीलाई ध्वस्त हुन नदिन के गर्न सकिन्छ भन्नेबारे यहाँ चर्चा गरिनेछ ।

अस्पतालभित्र महामारी नियन्त्रण : अमेरिकामा स्वास्थ्य सेवा प्रणालीका विभिन्न पाटोबारे चिन्तन गर्ने प्रसिद्ध अध्येता र शल्यचिकित्सक अतुल गावण्डेले द न्युयोर्कर भन्ने पत्रिकामा गत मार्च महिनामा लेखेको एउटा लेखले थुप्रै पश्चिमा मुलुकमा अस्पतालभित्र संक्रमण नियन्त्रणका नीति फेर्न सिकायो । उनले किन इटली, अमेरिकाजस्ता पश्चिमा मुलुकको तुलनामा सिंगापुर, हंगकंग, ताइवानजस्ता दक्षिणपूर्र्वी एसियाली मुलुक र क्षेत्रमा अस्पतालभित्र स्वास्थ्यकर्मीमा संक्रमण नगण्य रह्यो भन्ने चर्चा गरेका थिए ।

उनले उल्लेख गरेका दक्षिणपूर्वी एसियाका अस्पतालमा प्रयोग गरिएका कोरोना भाइरस नियन्त्रणका उत्कृष्ट अभ्यास निम्नानुसार थिए– अस्पतालभित्र सबैले हरदम मास्क लगाउनैपर्ने, सबैले ६ फिटको दूरी कायम गर्नैपर्ने, बन्द कोठाभित्र वा आमनेसामने बसेर गरिने सबै खालका बैठक वा भेटघाट बन्द गर्ने, संक्रमित स्वास्थ्यकर्मीले अस्पतालमा काम नगरून् भनेर दैनिक रूपमा उनीहरूको निश्चित लक्षण छन् कि छैनन् भनेर प्रश्नावली भर्नुपर्ने र कार्यरत सबैको दिनमा दुईपटक अस्पतालमा ज्वरो नाप्ने,  बहिरंग सेवा र पालैपालो बिरामी हेरिने अन्य ठाउँमा हरेक बिरामी हेरेपछि फर्निचरका सतह, ढोकाको ह्यान्डल आदि धेरै छोइने वा बिरामीका थुकका छिटा परेका हुन सक्ने सतहलाई निसंक्रमण घोलले पुछिहाल्ने ।

अन्य अभ्यास : कोरोना भाइरसका बिरामीको संख्या एक्कासि बढ्न थालेपछि देखिएका चुनौती र स्वास्थ्यकर्मीको दृष्टिकोणबाट गरिएको अनुभवको आधारमा कोरोना भाइरसको अस्पतालमा संक्रमण घटाउन वा नियन्त्रण गर्न निम्नानुसार अरू धेरै काम गर्नुपर्ने रहेछ- लक्षणविनाका संक्रमित व्यक्तिबाट अस्पतालमा धेरैजनालाई सजिलै भाइरस सर्ने उच्च जोखिम हुने अवस्थाको पूर्वानुमान गरी त्यस्तो अवस्थामा अगाडि नै बिरामीको पिसिआर जाँच गरेर मात्र भर्ना गर्ने वा आकस्मिक उपचार चाहिनेलाई पनि सुरुदेखि नै कोरोना भाइरसका संक्रमितलाई जस्तै पूर्ण सावधानी अपनाउँदै उपचार गर्ने र पिसिआर जाँच पठाइहाल्ने गर्नुपर्छ।

महामारी अस्पतालमै पसिसकेको भए पनि महामारीबाट हुने क्षति कम गर्ने मुख्य उपाय समाजमा संक्रमितको संख्या  र अस्पतालमा पुग्ने बिरामीको चाप यथाशक्य घटाउन खोज्ने नै हो

विशेषगरी भाइरस टाढासम्म सार्न सक्ने श्वास–प्रश्वासका स्रावका कण बन्ने धेरै सम्भावना हुने अवस्थामा यस्तो पूर्वपरीक्षण गरिनुपर्छ किनभने त्यस्ता अवस्थामा एकैपटक धेरैजना स्वास्थ्यकर्मीलाई थाहै नपाई संक्रमण हुन सक्छ । र, केही दिन वा १–२ हप्तामै संक्रमण पूरै अस्पतालभर फैलिन सक्छ । एरोसोल धेरै बन्न सक्ने अवस्थामा जनरल एनेस्थेसिया दिएर गरिने शल्यक्रिया गर्नुअघि वा पछि भेन्टिलेटरमा जोड्ने वा निकाल्ने काम वा गर्भवती महिलाको प्रसव अवस्था, वा सघन उपचार कक्षमा राखेर गरिने धेरै थरी उपचार पर्छन् । त्यसैले कसैलाई जनरल एनेस्थेसिया दिएर शल्यक्रिया गरिँदै छ, कुनै गर्भवती महिलाको प्रसव-समय आउँदै छ, कसैलाई आइसियुमा भर्ना गरिँदै छ भने पहिले नै पिसिआर जाँच गरेर कोरोना भाइरस संक्रमण भए-नभएको पत्ता लगाउने वा उचित सावधानी अपनाउने गर्नुपर्छ ।

सकेसम्म नेबुलाइजेसन, ब्रोङ्कोस्कोपी, पेटको इन्डोस्कोपीजस्ता एरोसोल बनाउन सक्ने उपचार नगर्ने प्रयास गर्नुपर्छ । अति आवश्यक नपरी झ्याल नभएका बन्द कोठामा गरिने जाँचहरू, जस्तै– एमआरआई, सिटिस्क्यान आदि गर्नुहुँदैन । गर्नुपरेमा बिरामीलाई मास्क लगाइदिने र अन्य सावधानीका उपाय अपनाउनुपर्छ । अस्पतालका कर्मचारीले मास्क लगाउन नमिल्ने अवस्थामा एकजनाबाट अर्को संक्रमण फैलिने डर धेरै हुन्छ । प्रायः सबैतिर स्वास्थ्यको सकेसम्म सँगै, एकै टेबलमा भेला भएर चिया, वा खाना खाने परम्परा हुन्छ । कामको मानसिक तनावलाई हलुका गर्न यसले धेरै मद्दत पनि गर्छ । तर, कोभिडकालमा निकट दूरीमा, विशेषगरी अप्रेसन थिएटर वा आइसियुको वरपर साँघुरा बन्द कोठामा बसेर खाना खानु सम्पूर्ण अस्पतालका लागि खतरनाक हुन सक्छ । त्यसैले कि सँगै चिया, खाना खाँदै नखाने, कि कम्तीमा ६ फिटको भौतिक दूरी कायम गर्ने गर्नुपर्छ ।

पछि कन्ट्याक्ट ट्रेसिङलाई सजिलो होस् भनेर भर्ना भएका हरेक बिरामीलाई सेवा दिने सबै स्वास्थ्यकर्मी र आगन्तुकको अभिलेख राख्ने व्यवस्था गर्नुपर्छ । अस्पतालमा कुनै बिरामीको जाँचमा कोरोना भाइरसको संक्रमण देखियो भने तुरुन्तै बिरामी कुन–कुन दिन अस्पतालको इमर्जेन्सी, बहिरंग सेवा, आइसियु, रेडियोलोजी एकाइ, शल्यक्रिया कक्ष आदि ठाउँ पुगे, त्यहाँ को-को कर्मचारीको बिरामीसँग सम्पर्क भएको हुन सक्छ, त्यसको विस्तृत अनुसन्धान सुरु गरिहाल्नुपर्छ । ती समयमा बिरामीले मास्क लगाएका थिए कि थिएनन्, स्वास्थ्यकर्मीले मास्क, फेससिल्ड वा भाइजर, गाउन के–के लगाएका थिए, सम्पर्क भएको वेलामा बिरामीलाई कस्तो उपचार दिइँदै थियो, आदिबारे विस्तृत अनुसन्धान गरेर सम्पर्क हुँदा संक्रमणको जोखिमको सम्भावना कति उच्च थियो, त्यसको टुंगो गर्नुपर्छ । अनि त्यसको आधारमा कस-कसलाई अस्पतालमा काम नगरी घरमै वा अन्यत्र बसेर क्वारेन्टाइन गर्न लगाउने, क-कसको कति दिनमा पिसिआर जाँच पठाउने आदि निर्णय गर्नुपर्छ ।

अस्पतालमा बिरामीलाई हेरचाह गर्न वा भेट्न आउने व्यक्तिहरू आफू पनि संक्रमणको उच्च जोखिममा हुन्छन्, अनि उनीहरूबाट अस्पतालभित्र र बाहिर सबैतिर संक्रमण फैलिने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसैले अस्पतालमा एक बिरामीका लागि एकभन्दा बढी आगन्तुकलाई आउन नदिनु, र कोरोना भाइरसको पुष्टि भइसकेका बिरामीलाई कोठाभित्र वा नजिक गएर भेटघाट गर्न नदिनु संक्रमण नियन्त्रणको महत्वपूर्ण कडी बन्छ । अस्पतालमा स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्रीको गुणस्तर र उपयुक्त चयन अति महत्वपूर्ण हुन्छ । एन–९५ मास्कले कोरोना भाइरस बोकेका एरोसोललाई छेक्ने भनिए पनि त्यसको पूर्वसर्त के हो भने मास्क अनुहारमा राम्ररी टाँस्सिएर हावा लिक नहुने गरी लगाइएको छ भने मात्र यो मास्क संक्रमण निरोधमा प्रभावकारी हुन्छ । समस्या के छ भने नेपालमा पाइने अधिकांश एन-९५ भनिएका मास्क साँच्चै उचित गुणस्तरका हुन कि होइनन् भन्ने नै थाहा छैन । 

प्रायः नेपाली अनुहारलाई नमिल्ने खालका धेरै ठूला मास्क मात्र पाइन्छन् । मैले यो मास्क लगाउँदा टेप आदि लगाएर हावा नछिरोस् भन्ने कोसिस गर्दा पनि हावा छिरिरहेकै छ । र, म त्यही अवस्थामा कोभिडका बिरामी हेरिरहेको छु । अर्को कुरा, एउटै मास्क दिनदिनै लगाइरहन मिल्दैन किनकि यसो गरेमा मास्कबाट संक्रमण फैलिने जोखिम ठूलो हुन्छ । विगत एक हप्तादेखि जसरी कोभिड-१९ का बिरामीको संख्या बढेको छ । स्वास्थ्यकर्मीको बिरामीसँग असुरक्षित सम्पर्क पनि त्यसैअनुसार बढेको छ । अब केही हप्तामा स्वास्थ्यकर्मी बिरामी हुने दर पनि त्यसैअनुसार बढ्ने अनुमान गर्न सकिन्छ । अहिले सरकारमा हुने र अधिकांश अस्पतालका सञ्चालकले स्वास्थ्यकर्मीलाई अहिले उपलब्ध गराइएका मास्क र अन्य पिपिई अत्यन्त अपर्याप्त छन् भन्ने नै बुझेका छैनन् । मास्कको सुरक्षित रूपले पुनः प्रयोग गर्नुअघि मास्कको सुरक्षित निसंक्रमणको प्रबन्ध कसरी गराउने, वा देशभरका स्वास्थ्यकर्मीलाई पर्याप्त मात्रामा सर्जिकल मास्क र एन–९५ मास्क कसरी उपलब्ध गराउने भन्ने तयारी त त्यसपछिको विषय भयो ।

परीक्षणको समस्याले बढाएका जोखिम : गैर–स्वास्थ्यकर्मीलाई यो सुन्दा अचम्म लाग्न सक्छ, तर अहिले देशभर सम्पूर्ण अस्पतालमा कोभिड–१९ को संक्रमणको जोखिम बढाउन परीक्षण गर्नमा सरकारकै तर्फबाट लगाइएका अवरोध र परीक्षणको नतिजा दिन गरिएको ढिलाइको पनि ठूलो भूमिका छ । कुनै कोरोना भाइरसको लक्षण भएकै वा जोखिम धेरै भएकै मान्छे अस्पतालमा देखाउन आएमा धेरैजनाको परीक्षण गर्नै मिल्दैन किनभने सरकारको अति साँघुरो बनाइएको परीक्षणका क्राइटेरियामा ती कोरोना भाइरसका बिरामी हुन सक्ने सम्भावनाभित्रै पर्दैनन् । सरकारी क्राइटेरिया पुग्ने नै बिरामीको पनि स्वाब सरकारले तोकेका अस्पतालमा परीक्षणका लागि पठाउँदा भिटिएमको मूल्यका अलावा थप ५५ सय आफैँ तिर्नुपर्ने बुझेपछि बिरामी पिसिआर जाँच नगरी फर्कन्छन् र समुदायमा रोग फैलाउने कारक बन्न पुग्छन्, तिनै बिरामी अर्को दिन ती अस्पताल पुगे भने त्यहाँका स्वास्थ्यकर्मीलाई पनि रोग सार्न सक्छन् ।

महामारी अस्पतालमै पसिसकेको भए पनि महामारीबाट हुने क्षति कम गर्ने मुख्य उपाय समाजमा संक्रमितको संख्या र अस्पतालमा पुग्ने बिरामीको चाप यथाशक्य घटाउन खोज्ने नै हो । त्यसका निम्ति विश्वभर विकासशील देशमा पनि सम्भव र प्रभावकारी सूत्र अवलम्बन गरे हाम्रोमा पनि नसकिने होइन ।

पिसिआर परीक्षणलाई सहज र सुलभ बनाउने विभिन्न उपायबारे देशभित्र र विदेशमा भएका थुप्रै विज्ञले व्यक्तिगत र समूहगत रूपमा पटक–पटक राज्यका र जनस्वास्थ्य प्रयोगशालाका जिम्मेवार व्यक्तिलाई परीक्षणसम्बन्धी देखिएका जटिलता र चुनौतीलाई विभिन्न खुड्किलामा समाधान गर्दै जाने गरी उपाय सुझाएका, देश सुहाउँदा अनेकथरी प्रोटोकल नै बनाएर पठाइदिएका पनि हुन् । अर्थात् यहाँका जिम्मेवार व्यक्तिले आफैँले जिम्मेवारी देखेर गर्नुपर्ने काम पनि अरूले गरिदिएर सघाइदिएका हुन् नै । त्यति हुँदाहुँदै यति धेरै महिनासम्म पनि ती समाधानका उपायमा सिन्को नभाँचिएबराबर छ । यस्ता विभिन्न कारणले अस्पताल र समाजलाई खतरनाक हुने गरी परीक्षणको दायरा साँघु‍-याउने र पिसिआर गर्नैपर्ने कतिपय समूहको परीक्षण नै नगरिने, परीक्षणको मूल्य आमनेपालीले थेग्न नसकिने बनाइने, गलत ठाउँमा आरडिटी परीक्षणलाई प्रोत्साहन दिने आदि काम हुँदै आएका हुन् । 

परीक्षणको रिपोर्टमा हुने हप्ता दिनसम्मको ढिलाइले गर्दा हजारौँ संक्रमितको कन्ट्याक्ट ट्रेसिङ निरर्थकप्रायः हुन पुगेको छ । त्यसैले विशेषगरी परीक्षणबारे सम्बन्धित निकायको तर्फबाट देखाइएका अक्षमता, हेलचेक्य्राइँ र सक्रिय अवरोधको सूची लामो छ, र त्यसले सम्पूर्ण देशलाई अनियन्त्रित महामारीको भड्खालोतिर धकेल्न ठूलो भूमिका खेलेको छ । तर, अझै पनि विज्ञले सुझाएका उपायको उपयोग र राज्य र विभिन्न निकायका सञ्चालकले कूटनीतिक र व्यवस्थापकीय कुशलताको उपयोग गर्दै परीक्षणको दायरा, उपलब्धता र नतिजाको तदारुकता केन्द्रित भएर सुधारका काम गर्नुको विकल्प छैन । नत्र अस्पतालमा बिरामीको चाप घटाउन र हताहती घटाउन सम्भव छैन ।

महामारीलाई समुदायमा चिरकालसम्म फैलिरहन नदिन र अस्पतालमा पर्ने चाप घटाउन अर्को महत्वपूर्ण कडी समयमै कन्ट्याक्ट ट्रेसिङ हुनु पनि हो । मैले भेटेका कोभिडका कतिपय बिरामीको पिसिआरको पोजेटिभ नतिजा दिन एक हप्ताभन्दा बढी लगाइएको छ । त्यसपछि पनि कतिलाई हप्ता दिनसम्म कन्ट्याक्ट ट्रेसिङ गर्न राज्यका कुनै निकायले सुरु गरेको छैन ।