मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
जीवन बस्नेत काठमाडौं
२०७७ असार २८ आइतबार ०७:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

देशभर कम्तीमा २० स्थानमा सडक अवरुद्ध, कतै एकतर्फी 

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ असार २८ आइतबार ०७:१६:००

देशभर परेको मुसलधारे पानीका कारण आएको बाढी तथा पहिरोले न्यूनतम २० स्थानमा सडक अवरुद्ध भएको छ । यसरी अवरुद्ध सडकहरू कतै एकतर्फी सुचारु भएका छन् भने कतै क्षति पुगेको स्थानको स्थलगत निरीक्षणसमेत हुन नसकेको सडक विभागले जानकारी दिएको छ । पहिरोका कारण बेनी-जोमसोम-कोरोला सडक अवरुद्ध छ । 

यस सडकखण्डको म्याग्दीको दाना र गलेश्वरमा माथिबाट पहिरो आएकाले सडक अवरुद्ध भएको छ । त्यस्तै, बेलिब्रिज नदीले बगाएको छ । सडक अवरुद्ध भएको खबर आउनासाथ सबैभन्दा नजिकको डिभिजन कार्यालयबाट खोल्ने प्रयास भइरहेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । त्यस्तै, साँफेबगर-मार्तडी सडकको अम्कोट–द्वावारी खण्डमा बुढीगंगा नदीले सडकको सतह कटान गरी ५ सय मिटर क्षति गरेको छ । 

यो सडक एकतर्फी रूपमा भने सञ्चालनमा आएको छ । पूरै खुल्न अझै १० दिन लाग्नेछ । पूर्व-पश्चिम राजमार्गको बाँके-धन्सार सडकखण्डमा चपुरदेखि करिब ३ किलोमिटरपूर्वको जुडिवेलामा वर्षाका कारण अवरुद्ध भएको छ । सडक विभागका अनुसार अहिले एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । कोसी राजमार्गको भेडेटार मूलघाट खण्डमा पर्ने गर्जुवा खोलामा बाढी आउँदा सडक अवरुद्ध भएको छ । शनिबार बिहानदेखि एकतर्फी भने सुचारु छ ।

त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-टिमुरे-तातोपानी डाँडा र कुलुङ पुलस्थित स्याफ्रुबेँसी–टिमुरे–पासाङ ल्हामु सडकखण्डमा पहिरो आई बाटो पूर्ण रूपले अवरुद्ध छ । कर्णाली राजमार्गको दैलेखस्थित गुराँस गाउँपालिकामा पनि पहिरोले अवरुद्ध बनाएको छ ।

दार्चुलाको मार्मा गाउँपालिकामा गोकुलेश्वर–लटिनाथ सडकखण्ड अवरुद्ध छ भने बझाङको जयपृथ्वी राजमार्ग पनि गौडा खोलामा पानीको सतह बढ्न गई अवरुद्ध भएको छ । कास्कीको नयाँपुलबाथ–बिरेठाँटी जाने कच्ची सडकखण्ड पनि पहिरोका कारण चल्न सकेको छैन । 

अरनिको राजमार्गको ७ ठाउँमा अवरुद्ध

अरनिको राजमार्ग सबैभन्दा धेरै ७ ठाउँमा सडक अवरुद्ध भएको छ । लामोसाँघु–बाह्रबिसे सडकखण्डबाहेक अन्य ठाउँमा निरीक्षणसमेत हुन नसकेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । निरीक्षण गरिएको लामोसाँघु–बाह्रबिसे सडकखण्ड निर्माण गर्न १० दिन लाग्ने अनुमान गरिएको छ । 

यसबाहेक यही राजमार्गको भोटेकोसी खोलाले खग्दोलस्थित दुईवटा पुल बगाएको छ । त्यस ठाउँमा निरीक्षणसमेत गर्न सकिएको छैन । त्यसबाहेक जम्बु, झ्याले, चाकु र डाकलांगमा पनि कतै सडक बगाएको छ भने कतै पुल बगाएको छ । यी सबै ठाउँमा राजमार्ग अवरुद्ध छ । ‘निरीक्षण गर्न नसकिएका कारण कहिलेबाट सञ्चालनमा ल्याउन सकिने भनेर भन्न सकिन्न,’ सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।

अवरुद्धपछि यी सडक सुचारु

बिपी राजमार्गको खुर्कोटमा पहिरोका कारण अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आइसकेको छ । पूर्व–पश्चिम राजमार्गको नवलपरासीको गैँडाकोट, थुन्सीमा डाइभर्सन नदीको बाढीले बगाए पनि शनिबार मध्याह्नबाट सुचारु भएको छ । 

यही राजमार्गको दाउन्नेमा पहिरो गए पनि अहिले सञ्चालनमा आइसकेको छ । त्यस्तै, अवरुद्ध भएको सहिदमार्ग सडकअन्तर्गत चियानगैरा–घोराही–होलेरी सडकखण्ड पनि सञ्चालनमा आएको छ । त्यस्तै, टुटे देउराली–मेडे चैनपुर–सभाखोला सडक सुचारु भएको छ । सिद्धार्थ राजमार्ग पनि सञ्चालनमा आएको छ ।