मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कृष्ण रिजाल काठमाडौं
२०७७ असार २८ आइतबार ०९:००:००
Read Time : > 3 मिनेट
अर्थ

खर्च र राजस्व दुवै लक्ष्यको ६९ प्रतिशत मात्रै

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७७ असार २८ आइतबार ०९:००:००

सरकारले चालू आवमा १५ खर्ब ३३ अर्ब खर्च गर्ने तथा राजस्व ११ खर्ब १२ अर्ब गर्ने संकलनको लक्ष्य राखेको थियो । तर, १० खर्ब ५५ अर्ब खर्च हुने र ७ खर्ब ६७ अर्ब मात्रै राजस्व संकलन हुने देखिएको छ

...........................

नेपाल सरकारको चालू आवमा बजेट खर्च र राजस्व संकलन दुवै लक्ष्यको ६९ प्रतिशत मात्रै हुने भएको छ । सरकारले चालू आवमा १५ खर्ब ३३ अर्ब खर्च गर्ने लक्ष्य राखेको थियो भने राजस्व ११ खर्ब १२ अर्ब गर्ने लक्ष्य राखेको थियो । तर, हालसम्मको आम्दानी र खर्चलाई बिश्लेषण गर्दा चालू आवमा सरकारले कुल १० खर्ब ५५ अर्ब खर्च गर्ने तर ७ खर्ब ६७ अर्ब राजस्व संकलन गर्ने तथ्यांकले देखाएको छ । 

सरकारले असार महिनाको दैनिक औसत आम्दानीलाई विश्लेषण गर्दा अबका पाँच दिनमा २५ अर्ब राजस्व संकलन हुने भन्सार र आन्तरिक राजस्व विभागले अनुमान गरेका छन् । सरकारले चालू आर्थिक वर्षमा ८ खर्ब २७ अर्ब १ करोड रुपैयाँ राजस्व संकलन गर्ने संशोधित लक्ष्य राखेको थियो । 

त्यस्तै, असार महिनाको दैनिक औसत खर्चलाई विश्लेषण गर्दा अबका पाँच दिनमा सरकारले २७ अर्ब ६५ करोड रुपैयाँ खर्च गर्ने देखिन्छ । यसलाई आधार मान्दा सरकारले चालू आवमा कुल १० खर्ब ५५ अर्ब ३० करोड खर्च गर्ने देखिन्छ । सरकारले चालू आर्थिक वर्षमा कुल खर्च १० खर्ब ७३ अर्ब ५ करोड पुग्ने सरकारको संशोधित अनुमान छ । हालसम्म ३ खर्ब ५१ अर्ब आन्तरिक राजस्व उठेको छ । 

त्यस्तै, भन्सार राजस्व २ खर्ब ९६ अर्ब पुगेको छ । चालू आवको अन्तिमसम्ममा थप १५ अर्बजति राजस्व उठ्ने अनुमान गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले बताए । त्यस्तै, भन्सार राजस्वसमेत थप १० अर्बजति उठ्ने अनुमान गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए । हालसम्म ७ खर्ब ४२ अर्ब राजस्व संकलन भइसकेको छ । यसलाई आधार मान्दा यस वर्ष कुल ७ खर्ब ६७ अर्ब राजस्व संकलन हुने देखिएको छ । 

असारमा दैनिक खर्च साढे पाँच अर्ब, आम्दानी पौने चार अर्ब 

चालू आर्थिक वर्ष ०७६-७७ सकिनै लाग्दा सरकारको आम्दानी तथा खर्चको अनुपात उच्चदरमा बढिरहेको छ । सरकारले अहिले दैनिक औसत साढे ५ अर्ब रुपैयाँ खर्च गरिरहेको छ भने आम्दानी पौने ४ अर्ब गरिरहेको छ । लकडाउन खुकुलो बनाएर क्रमशः आर्थिक गतिविधि सामान्य हुँदै गएपछि सरकारको खर्च र आम्दानीको दर बढेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । १ असारदेखि २६ असारसम्ममा सरकारले कुल १ खर्ब ४३ अर्ब रुपैयाँ खर्च गरेको छ भने आम्दानी १ खर्ब १ अर्ब रुपैयाँ गरेको छ । सोअनुसार असारमा दैनिक औसत ३ अर्ब ८८ करोड आम्दानी गरिरहेको छ भने दैनिक औसत खर्च भने ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । 

गत बिहीबार मात्रै एकै दिन २८ अर्बको भुक्तानी र ८ अर्ब ५५ करोड राजस्व आम्दानी भएको महालेखा नियन्त्रक गोपीनाथ मैनालीले बताए । ‘आर्थिक वर्षको अन्तिम–अन्तिम समय भएकाले खर्च र भुक्तानी उच्चदरमा बढेको छ,’ उनले भने, ‘संस्थानहरूबाट प्राप्त हुने रकम, शोधभर्नाबाट प्राप्त हुने रकम र राजस्वसमेत बढेका कारण सरकारको प्राप्ति पनि बढेको छ ।’

गत १ असारदेखि २६ असारसम्म सरकारले कुल १ खर्ब १ अर्ब ७ करोड आम्दानी गरेको छ (ऋण र शोधभर्नाबाहेक) । जसमा राजस्वतर्फ ९३ अर्ब ९२ करोड, अनुदानतर्फ ६ अर्ब १४ करोड र अन्य आम्दानी १ अर्ब १ करोड रहेको छ । जसअनुसार सरकारले यस अवधिमा ऋण र शोधभर्नाबाहेक दैनिक औसत ३ अर्ब ६१ करोड राजस्व संकलन गरिरहेको देखिन्छ ।

त्यस्तै, सोही अवधिमा सरकारले कुल १ खर्ब ४३ अर्ब ७९ करोड खर्च गरेको छ । जसमध्ये चालूतर्फ ९५ अर्ब १० करोड, विकासतर्फ २९ अर्ब २९ करोड र वित्तीयतर्फ १९ अर्ब ४१ करोड रहेको छ । यसलाई आधार मान्दा असारमा सरकारले दैनिक औसत ३ अर्ब ६५ करोड चालू खर्च र दैनिक औसत १ अर्ब १२ करोड विकास खर्च गरिरहेको देखिन्छ । 

३२ जेठसम्म सरकारको कुल आम्दानी प्राप्ति ७ खर्ब २ अर्ब ९७ करोड थियो । राजस्व आम्दानी ६ खर्ब ४७ अर्ब ७९ करोड रुपैयाँ, अनुदानतर्फ १० अर्ब ४९ करोड र अन्य आम्दानीतर्फ ४४ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, ३२ जेठसम्म सरकारको कुल खर्च ८ खर्ब ८३ अर्ब ८६ करोड रहेको थियो । जसमा चालू खर्च ६ खर्ब ७० अर्ब ५४ करोड, विकास खर्च १ खर्ब २६ अर्ब ५६ करोड र वित्तीयतर्फ ८६ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो । 

यसरी शुक्रबारसम्ममा कुल आम्दानी ८ खर्ब ४ अर्ब ४ करोड रहेको छ । यसमध्ये कुल राजस्व आम्दानी ७ खर्ब ४१ अर्ब ७१ करोड २८ लाख रुपैयाँ रहेको छ । हालसम्म सरकारले अनुदानबाट १६ अर्ब ६३ करोड र अन्य आम्दानीबाट ४५ अर्ब ६९ करोड प्राप्त गरेको छ । ऋण र शोधभर्नाबाट प्राप्त रकमसमेत जोड्दा सरकारको कुल प्राप्ति १० खर्ब ५८ अर्ब पुगिसकेको छ ।

त्यस्तै, शुक्रबारसम्ममा सरकारको खर्च १० खर्ब २७ अर्ब ६५ करोड रुपैयाँ पुगिसकेको छ । जसमध्ये चालू खर्च ७ खर्ब ६५ अर्ब ६४ करोड पुगेको छ । यो सरकारले लिएको लक्ष्यको ८० प्रतिशत हो । त्यस्तै, विकास खर्च भने सरकारले लिएको लक्ष्यको ३८.२० प्रतिशत अर्थात् १ खर्ब ५५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । वित्तीय खर्चतर्फ सरकारले लक्ष्यको ६३.२४ प्रतिशत अर्थात् १ खर्ब ६ अर्ब १६ करोड गरेको छ । 

सातामा सवा ६५ अर्ब प्राप्ति पौने ३९ अर्ब खर्च

पछिल्लो एक सातामा सरकारले ६५ अर्ब ३० करोड खर्च गरेको छ । जसमध्ये चालूतर्फ ३७ अर्ब ९५ करोड रुपैयाँ, विकासतर्फ १५ अर्ब ८६ करोड र वित्तीयतर्फ ११ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

पछिल्लो एक सातामा सरकारको कुल प्राप्ति ३८ अर्ब ७२ करोड रहेको छ । जसमा राजस्वतर्फ ३८ अर्ब ३० करोड रुपैयाँ रहेको छ । बाँकी ४० करोड रुपैयाँ भने अन्य आम्दानीअन्तर्गत प्राप्ति भएको हो । 

चालू आवमा सरकारलाई घाटा नहुने

अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व संकलन अपेक्षाअनुसार हुन नसक्दा सरकारलाई दैनिक खर्च धान्नै धौधौ परेको बताएका थिए । उनले संघीय संसद्मा बोल्दै अनिवार्य दायित्वअन्तर्गतको खर्चलाई स्रोत जोहो गर्न नै मिहिनेत गर्नुपर्ने बताएका थिए । तर, सरकारको खर्चसँगै प्राप्तिको अनुपातसमेत बढेपछि सरकारलाई दायित्व पूरा गर्न सकस नपर्ने भएको छ ।

बिहीबारसम्मको तथ्यांक विश्लेषण गर्दा सरकार घाटामा जाने नदेखिएको महालेखा नियन्त्रक मैनालीले बताए । ‘बिहीबारसम्मको तथ्यांकलाई हेर्दा सरकारको कुल प्राप्ति १० खर्ब ५८ अर्ब पुगेको छ भने खर्च १० खर्ब १५ अर्ब रहेको छ,’ उनले भने, ‘खर्च तथा भुक्तानी उच्चदरमा बढिरहेको भए पनि राजस्व आय, अन्य आम्दानी तथा ऋण र शोधभर्नाबापत प्राप्त हुने रकमसमेत बढेकाले खर्चको तुलनामा प्राप्ति कम हुने देखिँदैन ।’