Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
मुना कुँवर काठमाडौं
२०७७ असार २८ आइतबार ०४:०९:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाध्यताले पुर्‍यायो विदेश, घर फर्किंदा रित्तै 

Read Time : > 5 मिनेट
मुना कुँवर, काठमाडौं
२०७७ असार २८ आइतबार ०४:०९:००

सानैमा बुबा बितेर आमाले पनि छाडेकी भक्तपुरकी २२ वर्षीया अभिस्ना ठकुरी (नाम परिवर्तन) ले किशोरी हुँदै गएपछि विदेश गएर आफ्ना रहर पूरा गर्ने सपना देख्न थालिन् । विदेश गएर काम गर्ने सपना एक म्यानपावर कम्पनीले पूरा पनि गरिदियो । जब उनी दुबई पुगिन्, उनको सपना भताभुंग भयो । उनले काम गर्ने भनेको कुनै ठूलो कम्पनीमा नभएर व्यक्तिगत घरमा थियो । त्यो पनि दिनको १६ घन्टासम्म ।

अभिस्ना राजधानीको म्यानपावर कम्पनी गल्फ इनोभेसन म्यानपावरमार्फत दुबई पुगेकी थिइन् । म्यानपावरले दुबईस्थित सिटिमेड क्लिनिङ कम्पनीमा सरसफाइको काम ८ घन्टा गर्नुपर्ने बताएको थियो । त्यसका लागि अभिस्नाले म्यानपावर कम्पनीलाई एक लाख २० हजार रुपैयाँ बुझाएकी थिइन् । तर, सम्झौताअनुसारको काम, पारिश्रमिक र सुविधा नपाएपछि उनले नेपाल नै फर्कने सोच बनाइन् । नेपाल फर्कन म्यानपावरलाई सम्पर्क गरिन् । तर, म्यानपावरले उनको पीडा सुनेन ।  

संखुवासभाकी २३ वर्षीया सनम कार्की (नाम परिवर्तन) को कथा पनि अभिस्नाको भन्दा फरक छैन । १६ वर्षको उमेरमै मागी विवाह भए पनि छोरो जन्मिएपछि सम्बन्धविच्छेद हुन पुगेकी सनमको विकल्प विदेश गएर पैसा कमाउने थियो । अन्त्यमा इनोभेसन म्यानपावरमा ठोक्किन पुगिन् । तर, जब दुबई पुगिन्, उनी झाँगाबाट खसेजस्तै भइन् । उनले कम्पनीसँग जुन सम्झौता गरेकी थिइन्, सोबमोजिमको काम थिएन । दैनिक २–३ वटा घरमा पुगेर काम गर्नुपथ्र्यो । 

  • बाग्लुङको निसिखोला गाउँपालिका–३, धाराखर्कस्थित पशुपति आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइन ।

अभिस्ना र सनमजस्तै अन्य ४६ महिला गल्फ इनोभेसन म्यानपावरमार्फत विभिन्न समयमा दुबई पुगेका थिए । उनीहरू सबैलाई दुबईस्थित सिटिमेड कम्पनीमा काम दिने भनिएको थियो । म्यानपावर सञ्चालक जयराम अधिकारीले यी महिलाबाट ८० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म असुली गरेका थिए । उनले महिनामा १३ सय दिराम (करिब ४३ हजार रुपैयाँ) आम्दानी हुने आशा देखाएका थिए । तर, सर्तअनुसारको पारिश्रमिक र सुविधा नपाएको र उल्टै दुव्र्यवहार हुन थालेपछि उनीहरू गैरआवासीय नेपाली संघलगायतका संघसंस्थासँग सहयोग माग्न पुगे । अन्ततः गत फागुनमा ३६ महिला नेपाल फर्कन सफल भए । तर, १० जना महिला उतै अड्किए । रोजगारी गुमेपछि ती १० जनाले धेरै दुःख पाए । खान–बस्न समस्या भयो । गैरआवासीय नेपाली संघ युएईले उनीहरूलाई खानाका लागि सहयोग गरिदियो । उनीहरू पनि गत २६ तारिख (दुई साताअघि) नेपाल फर्कन सफल भए । अहिले उनीहरू क्वारेन्टाइनमा छन् ।

घर पुग्नसमेत खर्च छैन 

विभिन्न पारिवारिक समस्याका कारण बिदेसिएर उता पनि दुःख भोगेर फर्किएका ती महिलालाई यतिवेला घर पुग्नसम्म खर्च छैन । ऋण लिएर विदेश पुगे पनि तिर्न नसकेपछि साहुले घरपरिवारलाई दिनदिनै धम्क्याइरहेको छ । ‘यस्तो दुःख त कसैलाई नपरोस्,’ अभिस्ना सुनाउँछिन्, ‘हामीले जे भोग्याैं, अरूले भोग्नुनपरोस् ।’ सनमलाई अब समाजको डर छ । विदेश गएका महिलालाई समाजले हेर्ने दृष्टिकोण राम्रो नभएको उनीहरूको बुझाइ छ । ‘विदेशबाट फर्किएपछि छोराको रहर पूरा गर्न सकिएला भन्ने थियो,’ उनले भनिन्, ‘तर, विदेशबाट फर्कंदा त साथमा एक रूपैयाँ भएन ।’

बिचल्ली परेकालाई म्यानपावरकै धम्की 

राम्रो सेवासुविधा पाउने प्रलोभनमा मोटो रकम असुली दुबई पुर्‍याइएका महिलाहरूलाई म्यानपावर सञ्चालक अधिकारीले धम्की दिने गरेको पीडित महिलाको आरोप छ । पीडित महिलाका बारेमा पत्रपत्रिकामा सामाचार छापिएपछि अधिकारीले दुबईमै फोन गरेर धम्क्याएका थिए । ‘पत्रिकामा समाचार छाप्न लगाउने ?’ अधिकारीले हप्काएको सम्झिन्छिन् अभिस्ना, ‘म पनि हेर्छु, अब तिमीहरूलाई कसले सहयोग गर्छ ।’ त्यति मात्र होइन, म्यानपावर सञ्चालक अधिकारीले पीडित महिलाहरू नेपाल फर्केपछि आफूविरुद्ध उजुरी नदिनसमेत धम्क्याएका थिए । अधिकारीको दबाबमा महिलाहरूको लिखित र भिडियो खिचेर राखिएको छ कि उनीहरू फर्किएपछि कुनै उजुरी गर्नेछैनन् ।  

अन्तर्वार्ता दिने एउटा, पठाउने अर्को 

गल्फ इनोभेसनका सञ्चालक अधिकारीले अन्तर्वार्तामा एउटी महिलालाई राखेर पठाउने वेलामा अर्कैलाई पठाउने गरेको पीडितले बताए । अंग्रेजी बोल्ने महिलालाई अन्तर्वार्ता दिन लगाउने, पठाउँदा अर्कै महिलालाई पठाउने गरेको उनीहरूको दाबी छ । झापाकी वर्षा शेर्पालाई उनले यसरी नै पठाएका थिए । तर, दुबईको रोजगारदाता कम्पनीले आफूलाई नेपालको म्यानपावरले झुक्याएको थाहा पाएपछि वर्षालाई रोजगारी दिन मानेन । वर्षा पनि पीडित हुन पुगिन् । 

त्यस्तै, म्यानपावर कम्पनीले सबै महिलालाई कलिङ भिसा (३ महिना) तालिमका लागि भन्दै दुबई पुर्‍याउने गर्थ्यो । तालिमपछि मात्रै काम र पारिश्रमिक दिन्थ्यो । कम्पनीले घरको काम लगाएपछि धादिङकी मीनाले तत्काल नेपाल फर्काउन कम्पनीलाई दबाब दिइन् । तर, कम्पनीले भिसा रद्द गर्दा २१ सय दिराम भुक्तानी गर्नुपर्ने भन्दै मानसिक तनाव दिएको उनले सुनाइन् । ‘मैले त्यस्तो काम कहिल्यै गरेकी थिइनँ । सम्झौताअनुसारको काम नभएपछि म फर्कन्छु भन्दा कम्पनीले उल्टै पैसा तिर्नुपर्छ भन्यो,’ उनले भनिन्, ‘म तीन महिना रोएर बसेँ ।’ 

शारीरिक र मानसिक पीडाको सिकार भए नेपाली महिला 

रोजगारदाता कम्पनीले शारीरिक तथा मानसिक पीडा दिने गरेको दुबईबाट फर्केका पीडित महिला बताउँछन् । महिलालाई दैनिक १६ देखि १७ घन्टा काम लगाइन्थ्यो । तर, अतिरिक्त पारिश्रमिक पाउँदैनथे । विद्यालय र अस्पतालको सफाइ कामका लागि सम्झौता भए पनि व्यक्तिगत घरका काममा खटाइन्थ्यो । अर्कोतर्फ बस्नका लागि न्यूनतम सुविधा पनि कम्पनीले नदिएको पीडित महिलाको दुःखेसो छ । सुत्ने कोठाबाहेक अन्य सुविधाबाट उनी वञ्चित थिइन् । आफ्नो सरसफाइ गर्नुपरे पनि कम्पनीले तोकेको समयमा मात्रै गर्न पाउँथे । सफाइ गर्दा कुनै सामान टुटफुट भएमा कम्पनीले चर्को जरिवाना लगाउने गरेको उनीहरूको गुनासो छ । जरिवानै जरिवानाका कारण उनीहरूले मासिक ३ सय दिराम मात्रै पनि पाउँथे । सम्झौताअनुसार कम्पनीले सुविधा नदिएपछि उनीहरूले कम्पनीका मुख्य व्यक्तिलाई गुनासोसमेत गरेका थिए । तर, उनीहरूको दुःखेसो कसैले नबुझेको अभिस्नाको गुनासो छ । उल्टै कम्पनीकी सुपरभाइजर महिलाले नै राति–रातिनेपाली कामदारका कोठामा पुगेर कुटपिट गर्थिन् । पीडित महिलाहरूले प्रहरी र श्रम कार्यालयमा समेत गएर उजुरी दिए । तर, उनीहरूको कतै सुनुवाइ भएन । ‘दूतावासले केही सहयोग गरेन,’ सनमले भनिन्, ‘उल्टै यस्ता समस्या धेरै हुन्छन् भन्दै ठाडो जवाफ फर्काउने गर्थे ।’ 

सबैलाई क्षतिपूर्ति दिन्छु : जयराम अधिकारी, सञ्चालक, गल्फ इनोभेसन 

गल्फ इनोभेसनका सञ्चालक जयराम अधिकारीले आफूले जानाजान कसैलाई नफसाएको बताए । ‘उनीहरूले विदेशमा गएर आन्दोलन गर्ने र काममा नजाने गरे । आफँैले राजीनामा पनि दिए । नेपालमा जस्तो विदेशमा आन्दोलन गर्न पाइँदैन । तैपनि, मैले फर्काउने प्रयास गरेको हो । लकडाउनका कारण केही उतै अड्किए । फर्केकालाई म सबै क्षतिपूर्ति दिने व्यवस्था गर्नेछु । तर, हामी पनि समस्यामा छौँ । हाम्रो समस्या पनि बुझिदिनुपर्छ,’ उनले भने । 

कतार गएका पूर्णबहादुर भन्छन्– पाखोबारी बेचेर घर फर्किएँ

दुई पैसा कमाउँला र सुखी जीवन बाँचौँला भनेर परदेश पुगेका नेपाली यतिवेला समस्यामा छन् । कोरोनाका कारण काम र दाम दुवै गुमाएर अलपत्र परेका उनीहरू बाँचेर घर फर्किन पाउँदा मात्रै पनि खुसी छन् । तर, घर फर्किनेहरूमध्ये धेरैको थाप्लोमा ऋणको भारी छ । सकुशल स्वदेश फर्किन पाउँदा अनुहारमा खुसी जति छचल्किएको छ, त्योभन्दा बढी साहुको ऋण कसरी तिर्ने होला ? भन्ने भय मनमा गडेको छ । 

बाग्लुङको निसिखोला गाउँपालिका–३, धाराखर्कका पूर्णबहादुर सुनार अहिले गाउँको पशुपति आधारभूत विद्यालयको कोठाभित्र एक्लै पल्टिएका छन् । सँगै क्वारेन्टाइनमा बसेका साथीहरू शुक्रबार १४ दिन बिताएर घर फर्किए । गाउँ पुगेको १० दिन भइसक्दा पनि उनले कसैसँग भेटघाट गरेका छैनन् । गाउँको क्वारेन्टाइन भए पनि त्यहाँ न प्रहरी बसेको छ, न गाउँले साथीभाइ । ‘खाने समय भएपछि घरबाट खानेकुराको पोको कोठाभित्रै आइपुग्छ, त्यही खायो, घरबाटै ल्याएका कपडा बिछ्यायो, सुत्न मन लागे सुत्छु, उठ्न मन लागे उठ्छु, अब के गर्ने होला भन्ने पिर छ,’ उनले भने । गत पुसमा ऋण गरेर एक लाख २५ हजार रुपैयाँ मेनपावरलाई बुझाएर कतार उडेका उनी अहिले गाउँको जग्गा धितो राखेर घर फर्किन बाध्य भए । कमाएर ऋण तिराैंला भनेर चौथोपटक परदेश पुगेका उनलाई कतार अनौठो थिएन, तर त्यहाँ पुगेपछि आफ्नै देश र नेपाली दाजुभाइचाहिँ अनौठो लाग्यो । ‘राम्रो कम्पनी छ, कमाइ राम्रो हुन्छ भनेर ‘लोडर अपरेटर’को भिसा लगाइदिन्छु भनेको मेनपावरले ठगेको त्यहाँ पुगेपछि थाहा पाएँ,’ उनी भन्छन्, ‘काममा नलाग्दै कम्पनी बन्द भयो, कोरोना संकटका वेला न त्यहाँ बस्ने ठाउँ छ, न खाने ठाउँ ।’ सवा लाख खर्चेर दोहा पुगेका उनी उल्टै थाप्लोमा ऋणको भारी थपेर फर्किएका छन् । 

४४ वर्षीय पूर्णबहादुरको आफ्नो सम्पत्तिका नाउँमा करिब सात रोपनी जग्गा मात्रै छ । केही पाखोबारी छ, बाँकी बारीमा मकै, गहुँ र कोदो फल्छ । ‘आधा जीवन कतार धाउँदैमा बित्यो, ऋण काढ्ने जाने, त्यही ऋण तिर्ने, बाटो खर्च बनाउने र घर फर्किने,’ उनी भन्छन्, ‘यसपटक त त्यति पनि गर्न पाइनँ, उल्टै आउने वेला भएको पाखोबारी धितो राखेर साथीसँग चार हजार रियल ऋण लिएर टिकट गर्न लगाएर आएको हुँ ।’ 

विदेशमा अलपत्र पर्दा उनले न सहयोग माग्न सरकार थियो, न स्वदेश फर्किएर आफ्नो दुःख सुनाउन नै । भन्छन्, ‘भएको पाखोबारीसमेत बेचेर घर फर्किनुप¥यो, सरकारले कसरी आयौ भनेर सोध्न पनि सोधेन ।’ उनलाई अब मेनपावर कम्पनीसँग भेटेर जाँदाको पैसा असुल्नु छ । आफूलाई झुक्याएर मेनपावरले मोटो रकम असुलेको उनी गुनासो गर्छन् । यसपटक कतार जाँदा, उहाँ बस्दा खाँदा र गाउँ फर्किंदासम्म मात्रै चार लाख रुपैयाँभन्दा बढी सकिएको उनले बताए । ‘पहिलेकै थुप्रो ऋण छ, नानीहरूका लागि जोहो गरौँला भन्ने थियो, उल्टै थपियो,’ उनी भन्छन्, ‘कमाउन जाँदा उल्टै ऋण थपेर फर्किएँ, अब घर जान चार दिन बाँकी छ, रित्तो हात फर्किएर ती कलिला छोरा–छोरीलाई मैले के भन्ने होला ?’ 

आठ महिनाको तलब नपाई फर्किए दानबहादुर

नवलपरासीको गैँडाकोट नगरपालिका–३ का दानबहादुर गुरुङको पनि उस्तै कथा छ । दुई वर्षदेखि कामकै लागि कतार बसेका उनले एक वर्षदेखि तलब पाएका थिएनन् । कोरोना संकट सुरु भएपछि उनको तलब कम्पनीले त्यसै पचाइदियो । भन्छन्, ‘पटक–पटक मुद्दा लडेपछि बल्ल घर आउने टिकटचाहिँ काटिदियो ।’ २५ वर्षे दानबहादुरले जाँदा गरेको ऋणबाहेक अरू पैसा कमाउन सकेनन् । 

‘घरमा श्रीमती, सानी छोरी र बुबाआमालाई सम्झिएर कोरोना संकटकाबीच गाउँ आउँदा खुसी त छु,’ उनी भन्छन्, ‘तर, परदेशमा भोगेको दुःख र आफ्नो देशको अवस्था हेर्दा साह्रै नराम्रो लाग्छ ।’ बेखर्ची भएर घर फर्किएका उनलाई कतारबाट नेपाल आउनभन्दा काठमाडौंबाट गाउँ पुग्न गाह्रो भयो । ‘न खानेकुरा, न पिउने पानी, गाडीको पनि सुविधा भएन,’ उनी भन्छन्, ‘अन्तिममा १७ हजार रुपैयाँ तिरेर गाडी रिजर्भ गरेर घर आयौँ ।’ गाउँ पुगेपछि उनी क्वारेन्टाइनमा बसे । उनलाई कोरोना संक्रमण थिएन, तर दुबईबाट आएर सँगै क्वारेन्टाइनमा बसेका साथीमा संक्रमण देखिएपछि शनिबार उनको पनि परीक्षणका लागि स्वाब लगिएको छ ।