Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण १९ सोमबार
  • Monday, 03 August, 2020
केदार दाहाल काठमाडौं
२०७७ असार २८ आइतबार ०४:१०:००
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय ध्वजाबाहकमाथि ज्यादती : तीन अर्ब अनुदान र पौने चार अर्ब ऋणमा ल्याइएका निगमका ६ जहाज निजीलाई दिने तयारी

केदार दाहाल, काठमाडौं
२०७७ असार २८ आइतबार ०४:१०:००

चिनियाँ एक्जिम बैंकमा १.५ प्रतिशतका दरले तीन अर्ब ७२ करोड ऋणको ब्याज बढेको बढ्यै, तर पाइलट छैनन् भनेर ६ वर्षदेखि जहाज ग्राउन्डेड राख्दा निगमलाई थप पौने दुई अर्ब घाटा, पाइलटसमेत व्यवस्था गर्न नसक्ने निगमले जहाजमा लगानी किन ग¥यो ? निगमकै अधिकारीहरूको प्रश्न छ । 

नेपाल वायुसेवा निगमले चीनबाट अनुदान पाएका तथा किनेर ल्याएका जहाज बेच्ने तयारी गरेको छ । पौने सात अर्ब लगानी भएका जहाज चलाउन नसक्ने भनेर निगम बोर्डले निर्णय गरेको छ । 

नेपालका दुर्गम क्षेत्रका विपन्न जनता महँगो भाडा तिरेर निजी एयरलाइन्समा यात्रा गर्न बाध्य छन् । निजी एयरलाइन्सले नाफा कमाउन सक्ने रुटमा निगमले व्यावसायिक सेवा दिन भनेर चीनबाट जहाज अनुदानमा तथा खरिद गरेर ल्याएको हो । 

निगमले ५६ सिट क्षमताका दुई र १९ सिट क्षमताका चार जहाज ल्याएको थियो । दुई अर्ब ९४ करोड अनुदान र तीन अर्ब ७२ करोड ऋणमा ती जहाज ल्याइएका थिए । चिनियाँ एक्जिम बैंकमा ब्याज बढेकोबढ्यै छ, तर यता जहाज उड्दैनउडी ग्राउन्डेड छन् ।

सुरुमा ०७१ मा एउटा एमए ६० र एउटा वाई १२ ई जहाज अनुदानमा ल्याइएको थियो । ०७३ मा निगमले एउटा एमए ६० र एउटा वाई १२ ई जहाज खरिद गरेर ल्याएको थियो । अर्को वर्ष ०७४ मा दुईवटा वाई १२ ई जहाज ल्याइएको थियो । दुई जहाजको मूल्यबराबर दुई अर्ब ९४ करोड अनुदान प्राप्त भएको थियो । बाँकी तीन अर्ब ७२ करोड रुपैयाँ भने १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो । जसको ऋण तिर्न बाँकी छ । 

अनुदान तथा ऋण ६ अर्ब ६७ करोड खर्च गरेर जोडिएका ६ जहाजमध्ये अहिलेसम्म एउटा एमए ६० र एउटा वाई १२ ई ले मात्रै उडान गरेका छन् । ती दुई जहाज पनि केही समय मात्र उडाइएको थियो । चार जहाजले त हालसम्म उडान नै गरेका छैनन् । तर, उड्दै नउडेका र उडेका सबै जहाज बेच्ने तयारी भएको छ ।

चिनियाँ जहाज आएदेखि नै पूर्ण क्षमतामा नउडाइएकाले तीबाट निगमले आम्दानीभन्दा नोक्सान व्यहोर्दै आएको छ । निगमले चिनियाँ जहाजबाट ६ वर्षमा पौने दुई अर्ब रुपैयाँ घाटा खानुपरेको बोर्डको भनाइ छ । 

निगमका एक पाइलट भन्छन्, ‘दुर्गम उडानमा एकाधिकार भएको यतीको तारा एयरको बजार सुरक्षित गराउन निगमका जहाज थन्क्याएर राखियो, यसले चीनको अनुदान र निगमको लगानी खेर गयो, त्यति मात्र होइन, ब्याज तिर्दा निगमलाई भन् धेरै घाटा भएको छ ।’

निगमका तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले चिनियाँ जहाजको अध्ययन गर्न निमित्त प्रबन्ध निर्देशक गणेशबहादुर चन्दको नेतृत्वमा अध्ययन समिति गठन गरेका थिए । सो समितिले चिनियाँ जहाज बिक्री वा भाडामा दिनुपर्ने वा फिर्ता दिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन दिएको थियो । खरेलले दुई जहाज मासिक २० हजार डलरमा यतीलाई भाडामा दिने तयारीसमेत गरेका थिए । तर, कर्मचारी युनियन र पाइलटहरूले समेत विरोध गरेपछि सो प्रक्रिया रोकिएको थियो । ‘यती समूहले पटकपटक चिनियाँ जहाजमा आँखा लगाएको छ, कहिले सफल हुने हो, थाहा छैन,’ निगमका एक अधिकारीले भने । 

निगमका तत्कालीन कार्यकारी अध्यक्ष खरेलले गत माघमा राजीनामा दिनुअघि नै चिनियाँ जहाज बिक्री गर्ने प्रस्ताव प्रधानमन्त्री केपी ओलीसमक्ष राखेका थिए । उनी निगमबाट बाहिरिएपछि प्रक्रिया रोकिएको थियो । तर, अहिले निगम बोर्डले ती जहाज चलाउन नसक्ने निर्णय गरेको छ । 

‘लामो छलफलपछि अघिल्लो १७ असारमा बसेको सञ्चालक समितिको बैठकले यो विषयमा निर्णय गरेको छ । चलाउन नसक्ने भनेको बेच्ने वा भाडामा लगाउने हो, यो निर्णयको जानकारी पयर्टन मन्त्रालयलाई गराइएको छ, निर्णय सरकारबाट गराउने तयारी भइसकेको छ,’ निगमका अधिकारीले भने । 

यसरी निगमको घाटा बढ्दै गएकोले बिक्री गर्नुपर्ने निष्कर्ष बोर्डले निकालेको छ । यतीले विगतमा निगमका ट्विनअटर लिएकै शैलीमा सकेसम्म चिनियाँ जहाज कौडीका मोलमा किन्ने वा भाडामा लिने अवस्था सिर्जना गराएको निगमका अधिकारी बताउँछ । 

सन् १९९६ मा फ्लाइट केयर एयरलाइन्स सञ्चालनमा आएको थियो । सन् १९९९ मा बन्द भएको सो एयरलाइन्सले वाई १२ ई उडान गथ्र्यो । सो कम्पनी बन्द भएपछि जहाज भने यती एयरलाइन्सले लिएर चलाएको थियो । तर, २० वर्षपछि निगमले ल्याएको त्यही जहाज चलाउन नसकेर फेरि निजी कम्पनीलाई जिम्मा लगाउन थालेको छ । 

चिनियाँ जहाज उडाउन नसक्दा निगमले हालसम्म एक अर्ब ८४ करोड रुपैयाँ नोक्सान व्यहोर्नुपरेको छ । यी जहाजबाट चालू आर्थिक वर्ष ०७६÷७७ मा ५० करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने निगमको अनुमान छ ।

‘गत आर्थिक वर्ष ०७५-७६ मा दुईवटा एम ६० बाट २९ करोड ८४ लाख र चारवटा वाई १२ ई बाट २२ करोड ३६ लाख गरेर ५२ करोड २० लाख रुपैयाँ घाटा व्यहोरेको छ,’ निगमले उपलब्ध गराएको विवरण भन्छ, ‘आर्थिक वर्ष ०७४-७५ मा एमए ६० बाट ३१ करोड ६४ लाख र वाई १२ ई बाट २८ करोड ९६ लाख गरेर जम्मा ६० करोड ६० लाख रुपैयाँ नोक्सान भएको छ ।’ त्यस्तै आर्थिक वर्ष ०७३-७४ मा १० करोड ३१ लाख नोक्सानी भएको थियो । आर्थिक वर्ष ०७२-७३ मा नौ करोड रुपैयाँ र आर्थिक वर्ष ०७१-७२ मा तीन करोड रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

बाजागाजासहित ल्याइएका ब्रान्ड न्यु जहाज आउनासाथ ग्राउन्डेड

अनुदान तथा ऋण ६ अर्ब ६७ करोड खर्च गरेर जोडिएका ६ जहाजमध्ये अहिलेसम्म एउटा एमए ६० र एउटा वाई १२ ई ले मात्रै उडान गरेका छन् । ती दुई जहाज पनि केही समय मात्र उडाइएको थियो । चार जहाजले त हालसम्म उडान नै गरेका छैनन्, तर उड्दै नउडेका र उडेका सबै जहाज बेच्ने तयारी भएको छ ।

आन्तरिक उडानमा निगमका दिन फर्काउने उद्घोषका साथ बाजागाजासहित जहाजको स्वागत गरिए पनि उडाउन भने कुनै पहल भएन । ‘इन्जिनियरदेखि पाइलट व्यवस्थापनमा निगमले चासो दिएन, जसका कारण ब्रान्ड न्यु जहाज उड्नुको साटो सुरुमै ग्राउन्डेड भए । आन्तरिकतर्फ यतीलगायत एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न भनेर जहाज ल्याइयो, तर निगमको बोर्डमा लगातार दुई कार्यकाल यतीका प्रतिनिधि राखियो,’ निगमका अधिकारी भन्छन्, ‘नेपाल टेलिकमको बोर्डमा एनसेलका सञ्चालकलाई राखियो भने के हुन्छ ? निगम डुबाउन सरकारले त्यही ग¥यो ।’ 

चीनबाट जहाज ल्याउनुअघि निगम बोर्डमा अमरनारायण माली, टेकनाथ आचार्य र अशोकचन्द्र पोखरेल थिए । तर, जहाज आएलगत्तै तत्कालीन पर्यटनमन्त्री भीम आचार्यले राजेशकाजी श्रेष्ठ, निमानुरु शेर्पा र मुक्तिराम पाण्डेलाई बोर्ड सदस्यमा नियुक्त गरे । तीमध्ये निमानुरु शेर्पा यतीकै लगानी रहेको अल्टिच्युड एयरका प्रबन्ध–निर्देशक हुन् । 

निमानुरुको कार्यकाल सकिएपछि केही दिनअगाडि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा पुनः यती समूहकै साझेदार अल्टिच्युड एयरका अध्यक्ष फुर्वाग्याल्जेन शेर्पालाई सञ्चालक समितिमा नियुक्त गरेका छन् । 

दुर्गममा तारा एयरले पर्यटकसँग डलरमा भाडा उठाउने गरेको छ । ‘हवाई टिकटमा नागरिकता हेरेर रेट फरक बनाउने देश नेपाल मात्र हो, जसले यती एयरलाई फाइदा भए पनि पर्यटन क्षेत्रमा नेपालको बदनामी भएको छ,’ पर्यटन व्यवसायी भन्छन् । 

निगमको वाई १२ ई बाट लुक्ला, जोमसोम, जुम्ला, हुम्ला, मुगुलगायत क्षेत्रका सर्वसाधारणलाई ठूलो राहत हुने थियो । ‘निगमका चार साना जहाज दुर्गम र दुई ठूला जहाज सुगम उडेमा जनतालाई ठूला राहत हुने थियो, प्रतिस्पर्धाले भाडा पनि सस्तो हुने थियो । तर, सरकारले यतीको एकाधिकार बचाउन निगमका जहाजलाई ग्राउन्डेड गराएको छ,’ निगमका अधिकारी भन्छन् । 

सन् २०१८ को अक्टोबरमा वाई १२ ई जहाजलाई दुर्गम क्षेत्रमा परीक्षण उडान गरिएको थियो । निगमको सानो जहाजले परीक्षण उडान गर्दा लुक्ला–काठमाडौं १२ जनासम्म यात्रु बोक्न सक्ने देखिएको थियो । यो जहाजले लुक्लामा केही दर्जन चार्टर उडानसमेत गरेको थियो ।

त्यस्तै, निगमले यो जहाजबाट हुम्ला, जुम्ला, जोमसोम, तुम्लिङटार, भोजपुर, मनाङलगायत सबै दुर्गम क्षेत्रमा सफल परीक्षण उडान गरेको थियो । परीक्षण उडानका क्रममा यो जहाज दुर्गम क्षेत्रमा उडान गर्न उपयुक्त भएको निष्कर्षसमेत निकालियो । निगमका क्याप्टेन आङलुरी शेर्पाले काठमाडौं–लुक्लामा दर्जनौँ चार्टर उडान गरेका थिए । 

निगम व्यवस्थापनले पोखरा–जोमसोम, नेपालगन्ज–सिमिकोट, नेपालगन्ज–जुम्लाको सेड्युल नै सार्वजनिक गरेको थियो । तर, धमाधम उडान गर्नुपर्नेमा निगमले जहाज थन्क्यायो । ‘पाइलट नभएको भन्दै उडान रोकियो, चिनियाँ जहाजको प्राविधिक पक्ष फरक भएकाले इन्जिनियर पाइलट खोज्न गाह्रो भएको बोर्डको भनाइ छ । प्राविधिक रूपमा असम्भव थियो भने राष्ट्रको ६ अर्ब किन लगानी गरियो ?’ निगमकै पाइलट भन्छन्, ‘लगानी गरेर देशको ढुकुटी पनि सक्ने, जहाज ग्राउन्डेड गराएर यतीलाई पनि पोस्ने, दोहोरो खेल भएको छ ।’

निगमले गत मार्चमा पाइलटका लागि आवेदन माग गरेको थियो । सोही समय तारा एयरबाट जागिर छाडेका तीन पाइलटले वाई १२ जहाज उडान तयार रहेको भन्दै निगमका अपरेसन निर्देशक दिपु जुहार्चनलाई भेट्न पुगेका थिए । ‘तर, निगमले अब १२ ई जहाज नउडाउने नीति लिएको छ भनेर फर्काइदिए,’ निगमकै अधिकारी भन्छन् ।

उता, रातारात अल्टिच्युडको सेयर संरचना बदल्ने प्रयास भइरहेको छ । सन् २०१५ मा निमानुरु शेर्पाको ५० प्रतिशत र फुर्वाग्याल्जेन शेर्पाको ५० प्रतिशत सेयर संरचनामा अल्टिच्युड एयर स्थापना भएको थियो । तर, अल्टिच्युडले उडान अनुमति प्राप्त गर्न नसकेपछि २०१६ मा यती समूहका ल्हाक्पासोनाम शेर्पा २० प्रतिशत सेयरसहित कम्पनीमा भित्रिएका थिए ।

सोनाम कम्पनीमा भित्रिएपछि सेयर संरचनासमेत बदलियो र अन्य व्यवसायी पनि लगानीकर्ता बने । त्यसपछि कम्पनीमा ल्हाक्पासोनामको २० प्रतिशत, निमानुरु शेर्पाको १९ प्रतिशत, फुर्वाग्याल्जेन शेर्पाको १९ प्रतिशत, सांग्रिला ट्राभल्सका सञ्चालक जीवन घिमिरेको १० दशमलव ५ प्रतिशत, रामप्रसाद सापकोटाको १० दशमलव ५ प्रतिशत, ज्योति अधिकारीको पाँच दशमलव २५ प्रतिशत, मिग्मा शेर्पाको पाँच दशमलव २५ प्रतिशत, सोभित गौचनको पाँच दशमलव २५ प्रतिशत र राकेशभक्त वादेको पाँच दशमलव २५ प्रतिशत सेयर रहेको छ ।

यीमध्ये सापकोटा फेक रेस्क्यु गराएको आरोपमा संस्कृति, पर्यटन मन्त्रालयको छानबिन समितिले कारबाहीको सिफारिसमा परेका व्यक्ति हुन् । ज्योति अधिकारी ट्रेकिङ व्यवसायी हुन् भने अधिकारी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्षसमेत हुन् । 

यती समूहकै लगानी भएको अल्टिच्युड एयरका अध्यक्ष फुर्वाग्याल्जेन शेर्पा वायुसेवा निगम सञ्चालकमा नियुक्त भएको भन्दै विवाद भएपछि कम्पनीबाट यतीका ल्हाक्पासोनाम बाहिरिएको देखाउने तयारी गरिएको छ । अल्टिच्युडको सेयर संरचना बदल्न कम्पनी रजिस्ट्रार कार्यालयमा निवेदन दिए पनि परिवर्तित सेयर लगत नियामक निकाय नागरिक उड्डयन प्राधिकरणमा हालसम्म पनि बुझाएको छैन । सोनामको २० प्रतिशत सेयर अन्य आठजना लगानीकर्तालाई बाँड्ने गरी कम्पनी रजिस्ट्रारमा निवेदन दिइएको छ । 

क्षति नै नभएको होटेलको बिमा गरेभन्दा तीनगुणा बढी दाबी 

फुर्वाग्याल्जेन शेर्पाले सगरमाथा निकुञ्ज कब्जा गरेर कोङदे होटेल सञ्चालन गरिरहेका छन् । त्यस्तै, सोलुखुम्बुमै सांग्रिला होटेल सञ्चालन गर्दै आएका छन् । दुवै होटेलमा ०७२ को भूकम्पले सामान्य क्षति भयो । तर, उनले होटेल पूर्ण रूपमा क्षति भएको भन्दै बिमा दाबी गरेका थिए । अर्कै होटेलको फोटो बुझाएर उनले बिमा दाबी गरेका हुन् । 

कोङदे होटेलमा चार करोड ऋण लिएका उनले सोहीबराबरको मात्रै बिमा गरेका थिए । तर, दाबी भने १२ करोड ६३ लाख ४१ हजार रुपैयाँ गरेका थिए । त्यस्तै सांग्रिला होटेलको पनि तीन करोड ऋणबराबरको बिमा गरिएकोमा सात करोड ८० लाख १५ हजार दाबी गरेका थिए । सगरमाथा इन्स्योरेन्समा बिमा गरिएको थियो । तर, क्षति नै नभएको होटेलको बिमा दाबी गरिएको तथा बिमा गरिएको रकमभन्दा तीनगुणा बढी दाबी गरिएपछि इन्स्योरेन्स कम्पनीले छानबिन गरेको थियो ।

इन्स्योरेन्स कम्पनीले खटाएको सर्भेयरले फिल्ड भिजिटमा जाँदा होटेलमा कुनै पनि क्षति नभएकाले बिमा भुक्तानी नगर्ने, गरे पनि मर्मत खर्च मात्रै बेहोर्ने सर्त राखेको थियो । तर, शेर्पाले शक्तिकेन्द्रको दबाबमा सन् २०१६ मार्च २८ मा कोङदे होटेलका नाममा दुई करोड र सांग्रिला होटेलका नाममा एक करोड ८० लाख रुपैयाँ भुक्तानी लिएको कम्पनी स्रोतले जानकारी दियो ।