मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २८ आइतबार ०४:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनप्रतिनिधि र डाक्टरको ‘बिजनेस’ : नक्कली नाता प्रमाणित गरेर मिर्गौला प्रत्यारोपण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २८ आइतबार ०४:०५:००

मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले वडाध्यक्षसहित चिकित्सकलाई पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले मिर्गौला प्रत्यारोपण गरिएको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसका तीन चिकित्सक तथा कानुनी सल्लाहकारलगायतलाई पक्राउ गरेको हो । 

ब्युरोको टोलीले चिकित्सकहरू डा. राकेशकुमार बर्मा, डा. सुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेती तथा अस्पतालका कानुनी सल्लाहकार रमेश काफ्लेलाई पक्राउ गरिएको छ । त्यस्तै, ललितपुर महानगरपालिका– ३ का वडाध्यक्ष गोपाल महर्जन र जिल्ला प्रशासन कार्यालय, चितवनका अधिकृत रामचन्द्र ढकाल पनि पक्राउ परेका छन् । साथै मिर्गौला खरिद–बिक्रीमा संलग्न गिरोहका व्यक्तिहरूसमेत पक्राउ परेका छन् । 

केही महिनाअघि ललितपुरका एक व्यक्तिको कलेज अफ मेडिकल साइन्सेसमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । भोजपुरका एक व्यक्तिले मिर्गौला दिएका थिए । नजिकको नातेदारले मात्रै मिर्गौला दिन पाउने भए पनि उनलाई नातेदार भएको नक्कली कागजपत्र बनाएर प्रत्यारोपण गरिएको प्रहरीको भनाइ छ । यसमा अस्पतालको मिलेमतो रहेको प्रहरीको दाबी छ । 

त्यस्तै, वडाध्यक्ष महर्जनले नाता नै नपर्ने व्यक्तिलाई नाता प्रमाणित गरेको र अधिकृत ढकालले मिर्गौला प्रत्यारोपणमा कागजपत्र र मान्छे प्रमाणित गर्दा अनियमितता गरेको प्रहरी आरोप छ । 

स्रोतका अनुसार सुरुवातमा यसबापत मिर्गौला प्रत्यारोपण गर्ने व्यक्तिले २५ लाख रुपैयाँ खर्च गरेका थिए । त्यसमध्ये १० लाख मिर्गौला दिने व्यक्तिलाई दिइने बताइए पनि उनले दुई लाख रुपैयाँ मात्र पाएका थिए । त्यसपछि पीडित व्यक्तिले प्रहरीमा उजुरी गरेका थिए । पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाले बताए । 

प्रहरीका अनुसार यसअघि भारत लगेर मिर्गौला किनबेच हुने गरेको थियो । अहिले भने नेपालमै प्रत्यारोपण हुन थालेपछि नाता प्रमाणितको नक्कली कागजपत्रका आधार मिर्गौला किनबेच हुन थालेको प्रहरीले जनाएको छ ।