मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २७ शनिबार १२:२३:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना कहर : काठमाडौं उपत्यकामा संक्रमित बढ्दै, सावधानी घट्दै

मास्क नलगाउने ९६ जनालाई जरिवाना, १३०५ जनालाई कारवाही

Read Time : > 1 मिनेट
२०७७ असार २७ शनिबार १२:२३:००

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । तर, सावधानी अपनाउने क्रम भने घटिरहेको छ । सडकमा मास्क नलगाई हिँड्ने, भिडभाड गर्ने, होटेल रेस्टुरेन्ट र चिया पसलमा जम्मा हुने र भेटघाट गर्नेहरू बाक्लिएका छन् । सरकारी तथा गैरसरकारी कार्यालय र व्यावसायिक प्रतिष्ठानहरूमा पनि मानिसको चाप बढ्दो छ ।

शुक्रबार मात्रै काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरका एकजनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । तर, सर्वसाधारणले सामान्य सावधानीसमेत अपनाउन छाडेपछि संक्रमणको जोखिम बढेको छ । 

सामान्य सावधानी नअपनाउने र मास्कसमेत नलगाउनेहरूलाई प्रहरीले कारबाही गर्न थालेको छ । मास्क र स्यानिटाइजर प्रयोग नगर्ने तथा एक–अर्काबीच भौतिक दूरीसमेत नराख्दा संक्रमणको उच्च जोखिम रहेको भन्दै स्वास्थ्य सावधानीका लागि प्रहरीले ‘ठाउँको ठाउँ’ कारबाही गर्न थालेको हो । संक्रमितको संख्या दिनदिनै थपिए पनि सडकमा हुने मानिसहरूले भने सावधानी अपनाउन छाडेपछि गृह मन्त्रालयले कारबाही गर्न निर्देशन गरेको थियो ।

काठमाडौं, ललितपुर र भक्तपुरमा प्रहरीले सावधानी नअपनाउनेहरूलाई कारबाही गर्न थालेको छ । शुक्रबारसम्म तीन जिल्लामा गरी एक हजार तीन सय पाँचजनालाई कारबाही गरिएको महानगरीय प्रहरी प्रवक्ता एसएसपी सुशीलकुमार यादवले जानकारी दिए । तीमध्ये काठमाडौंका पाँच सय ३० जना, ललितपुरका दुई सय १२ जना र भक्तपुरका पाँच सय ६३ जना रहेका छन् । 

प्रहरीले मास्क नलगाउने ९६ जनालाई भने एक सय रुपैयाँ जरिवाना तिराएको छ । ‘कतिपयले थाहा नपाएर हिँडेका हुन्छन्, कतिपयले थाहा भएर पनि लापरबाही गरेका छन्, पहिले सम्झाउने, नमाने एक सय रुपैयाँ जरिवाना भर्ने गरेका छौँ,’ भक्तपुरका डिएसपी दीपक गिरीले भने । सडकमा मास्क नलगाई हिँडेको पाएमा प्रहरीले नियन्त्रणमा लिएर एक घन्टासम्म होल्ड गरेर राख्ने गरेको छ । 

उनीहरूलाई सम्झाउने, बुझाउने र पुनः गल्ती नगर्ने गरी छाड्ने गरिएको डिएसपी गिरीले बताए । तर, सम्झाउँदा पनि नमान्नेहरूलाई भने प्रहरीले जरिवाना लगाएको हो । ‘कतिपयले सामाजिक दूरीसमेत पालना गर्दैनन्, अधिकांश मान्छेले हेलचेक्रयाइँ गरेका छन्,’ डिएसपी गिरी भन्छन्, ‘प्रायः पाको उमेरका मान्छेहरू र युवायुवतीहरूले मास्क नलगाई हिँड्छन् । लगाए पनि चिउडोमा मात्रै लगाउँछन् ।’ 

महामारी नियन्त्रणका लागि सरकारले महिनौँसम्म लकडाउन गरे पनि अहिले संक्रमण फैलिँदै गर्दा बढेको हेलचेक्रयाइँले महामारी फैलिने खतरा रहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले मास्क नलगाउनेलाई कारबाहीका लागि रसिद पठाएका छन् । प्रहरीले संक्रामक रोग ऐन, २०२० बमोजिम धमाधम कारबाही गरिरहेको छ । 

संक्रामक रोग ऐन, २०२० को दफा–३ बमोजिम संक्रमक रोगसम्बन्धी नियम उल्लंघन गरे एक सय रुपैयाँ जरिवाना वा एक महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । सोही दफामा नियम पालना गराउने क्रममा काममा अवरोध पुऱ्याए ६ सय रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।