मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २७ शनिबार ०८:३९:००
Read Time : > 1 मिनेट
खेलकुद

ओलम्पिक च्याम्पियन बोल्टले राखे छोरीको नाम ओलम्पिया

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २७ शनिबार ०८:३९:००

ओलम्पिक च्याम्पियन उसेन बोल्टले आफ्नी छोरीको नाम ओलम्पिया लाइटनिङ बोल्ट राखेका छन् । विश्व कीर्तिमानी धावक बोल्टले छोरीको तस्बिर र नाम सार्वजनिक गरेका हुन् ।

विश्वकै सर्वाधिक छिटो गतिका यी ३३ वर्षीय धावक लामो समयदेखि कासी बेन्नेटसँग प्रेमसम्बन्धमा छन् । उनीहरूले गत मेमा आफ्नो पहिलो सन्तानलाई स्वागत गरेका थिए । खेलकुदबाट सन्न्यास लिएपछि बोल्ट परिवारिक माहोलमा केन्द्रित छन्।

ओलम्पिक खेलकुदमा आठ स्वर्णपदक जितेका उनले गत मार्चमा आफ्नो पहिलो सन्तान जन्मिन लागेको खुसीमा पार्टी आयोजना गरेका थिए । धेरै प्रतिष्ठित व्यक्तित्वको उपस्थितिमा आयोजित भव्य पार्टीमा उनले भनेका थिए, ‘म छोरीको पिता बन्दै छु ।’

बोल्ट र बेन्नेट सन् २०१४ देखि सम्बन्धमा छन् । सन् २०१६ मा उनीहरूले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए । गत जनवरीमा बेन्नेट गर्भवती रहेको सार्वजनिक भएको थियो । इन्स्टाग्राममा प्रेमिकाको तस्बिर राख्दै बोल्टले लेखेका थिए, ‘म अहिले यति मात्रै भन्न चाहन्छु, मेरो सन्तान राजा वा रानी हुनेछ ।’ बोल्टले सन् २०१७ मा लन्डनमा सम्पन्न एथलेटिक्सको विश्व च्याम्पियनसिपमा सहभागितापछि सक्रिय खेल जीवनबाट सन्न्यास लिएका थिए । च्याम्पियनसिपको फाइनलमा उनको खुट्टामा ‘ह्यामस्ट्रिङ’ भएको थियो ।

११ पटकका विश्व च्याम्पियन बोल्ट लगातार तीनवटा ओलम्पिकका स्वर्णपदक विजेता पनि हुन् । उनले सन् २००८, २०१२ र २०१६ को ओलम्पिकमा स्वर्ण जितेका थिए । उनको नाममा एक सय र दुई सय मिटर दौडमा विश्व कीर्तिमान छ । एक सय मिटर दौडमा ९.५८ र दुई सय मिटरमा १९.१९ सेकेन्डको विश्व कीर्तिमान उनको नाममा छ । सन् २००९ मा बर्लिनमा सम्पन्न विश्व च्याम्पियनसिप पनि उनले जितेका थिए ।

उनी आफ्नो सन्तानलाई एथलेटिक्स खेलाडी बनाउन चाहँदैनन् । ‘मेरो सफलताले मेरा सन्तानलाई यस क्षेत्रमा आउन दबाब दिनेछ । त्यसबाट उनीहरू अझ पछाडि पर्न सक्छन्,’ अन्तर्वार्ताहरूमा बोल्टले भनेका छन्, ‘उनीहरू आफैँ चाहन्छन् भने म बाधक बन्नेछैन । तर, उनीहरूलाई मेरो पहिलो सुझाब यो क्षेत्रमा नलाग्नु भन्ने हुनेछ ।’