मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
टेकराज थामी काठमाडौं
२०७७ असार २७ शनिबार ०६:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माैसमी विपत् : तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा 

पाँच ठाउँमा १२ हेलिकोप्टर ‘स्ट्यान्डबाई’, पाँच हजार गैरखाद्य सामग्री सेट सातै प्रदेशमा पठाइयो

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ असार २७ शनिबार ०६:१२:००

बाढीपहिरोबाट विस्थापितको उद्धारका लागि सेनाले देशका पाँच ठाउँमा १२ वटा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ । प्रदेश १ र २ का लागि पूर्वी पृतना इटहरी, मध्यक्षेत्रको उद्धारका लागि चितवनको भरतपुर, काठमाडौं र आसपासका क्षेत्रको उद्धारका लागि एयर बेस काठमाडौं, गण्डकी प्रदेशका लागि पोखरा र प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका लागि पश्चिम पृतना एयर बेस सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए । उनका अनुसार तीनवटा एमआई–१७ र बाँकी लाइट हेलिकोप्टर ‘स्ट्यान्डबाई’ राखिएका हुन् । 

‘विपत्मा उद्धारका लागि हेलिकोप्टर प्रभावकारी साधन प्रमाणित भएको छ । त्यसैले यसपटक हामीले विभिन्न साइजका १२ वटा हेलिकोप्टर तयारी अवस्थामा राखेका छौँ । विपत्का वेला जुनसुकै स्थानमा हेलिकोप्टर प्रयोग हुन सक्नेछन्,’ प्रवक्ता पाण्डेले भने ।

त्यस्तै, विपत्पछिको उद्धारका लागि गुल्म रहेका प्रत्येक जिल्लामा कम्तीमा सय सैनिकलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको उनले बताए । अनाश्रित गुल्म भएको जिल्लाको हकमा ३० सैनिकलाई तयारी अवस्थामा रहन भनिएको छ । 

मुख्य सडक सुरक्षाका लागि पनि सेनाले विशेष सैनिक दस्ता खटाएको छ । पहिरो तथा बाढीबाट हुन सक्ने अवरोध हटाउन एक्स्काभेटर, डोजर तथा एक्रोब्रिज, रिभाई बोटको व्यवस्था गरेको छ । डुबानमा परेकाहरूको उद्धारका लागि विभिन्न खालका एक सय १९ वटा बोट मातहतका निकायमा पठाइएको सेनाले जनाएको छ । 

त्यस्तै, सम्भावित विपत्पछिको उद्धारका लागि सशस्त्र प्रहरीले पनि मातहतका बाहिनी, गण, गुल्मलगायत निकायलाई ‘हाइअलर्ट’ रहन निर्देशन दिएको छ । त्यस्तै, प्रत्येक प्रदेशमा उद्धारका लागि तालिमप्राप्त सुरक्षाकर्मीको प्लाटुन पठाइएको सशस्त्रले जनाएको छ । सशस्त्रका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले भने, ‘विपत्पछिको उद्धार सशस्त्र प्रहरीको म्यान्डेट हो । यसका लागि सशस्त्रमा तालिमप्राप्त विशेष फौज छन् । उनीहरूलाई हामीले सम्भावित खतरा हुने ठाउँमा पठाइसकेका छौँ । विपत् आइलागेका कतिपय ठाउँमा त उनीहरू खटिई पनि सकेका छन् ।’

नेपाल प्रहरी पनि ‘हाईअलर्ट’मा छ । ७७ वटै जिल्ला कार्यालयलाई सम्भावित विपत्पछिको उद्धारमा खटिन, राहत सामग्री वितरण, पीडितका लागि बन्दोबस्तीका सामग्री व्यवस्थापन गर्नलगायत कार्यका लागि गृह मन्त्रालयले निर्देशन गरेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धारपछिको व्यवस्थापनका लागि पाँच हजार गैरखाद्य सामग्री सेट सातवटै प्रदेशमा पुर्‍याइएको छ । एउटा सेटमा विपत्बाट विस्थापित एक परिवारलाई राख्न सकिन्छ । सेटमा खाद्य सामग्री, लत्ताकपडा, ग्यास, भाँडाकुँडा, म्याट्रेस, प्राथमिक उपचारका सामग्रीलगायत आधारभूत आवश्यकताका सामान हुन्छन् । सामग्री अपुग भए थप्न सकिने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले उद्धारपछिको जीवन सहज बनाउन प्रत्येक स्थानीय तहलाई सक्रिय बनाइएको बताए । ‘यतिवेला सबै युवा गाउँमा छन् । विपत्का वेला उद्धार गर्न हामीले उनीहरूलाई परिचालन गर्न स्थानीय तहलाई भनेका छौँ । कतिपय ठाउँमा तालिम पनि दिएका छौँ । प्रदेश सरकारसँग पनि समन्वय भएको छ । सय निकायले नै विस्थापितका लागि खाद्य सामग्री, राहतका प्याकेज, लत्ताकपडा, बस्ने ठाउँको व्यवस्था गर्नेछन्,’ उनले भने ।

अलर्ट रहन तीन लाख एसएमएस पठाइए

सम्भावित खतरा हुने क्षेत्रका स्थानीयलाई अलर्ट रहनका लागि सचेत गराउन तीन लाखभन्दा धेरै एसएमएस पठाइएको छ । अत्यधिक वर्षा हुन सक्ने ठाउँ, त्यसबाट हुन सक्ने क्षति विश्लेषणपछि जल तथा मौसम विज्ञान विभागले ‘अलर्ट’ रहन एसएमएस पठाइएको हो ।

‘अलर्ट रहन पूर्वसूचना दिनुपर्ने हुन्छ । हामीले एसएमएसमार्फत खतरा हुन सक्ने ठाउँका स्थानीयलाई सचेत गराएका छौँ । सुरक्षित ठाउँतर्फ जान पनि भनेका छौँ । दुई दिनअघिबाटै यो सेवा सुरु भएको छ । यस क्रममा तीन लाखभन्दा धेरै एसएमएस पठाइसकिएको छ,’ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेलले भने ।