१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार २७ शनिबार ०६:२९:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फौजी खेलाडी : कोही ब्यारेक सरसफाइमा, कोही कोरोना ड्युटीमा

Read Time : > 3 मिनेट
२०७७ असार २७ शनिबार ०६:२९:००

विभागीय टोली त्रिभुवन आर्मी क्लब अहिले खेलाडीविहीन छ । कोभिड–१९ का बिरामी फेला पर्न थालेलगत्तै सबै खेलाडीलाई आ–आफ्ना सैनिक एकाइले फिर्ता बोलाएका छन् । अभ्यासका लागि मात्र भए पनि दैनिक मैदानमा हुनुपर्ने खेलाडीहरू सेनाका ब्यारेकमा छन् । खेलको कौशल सिक्नुपर्नेमा सैनिक जीवनको फरक दुनियाँमा छन् ।

त्रिभुवन आर्मी क्लब नेपाली खेलकुदको सशक्त टोली हो । तर, खेलाडीको दरबन्दी क्लबमा हुँदैन । विभिन्न एकाइमा भर्ना भएकाहरूबाट छानिएर खेलाडी क्लबमा आउने हुन् । दरबन्दी भने सम्बन्धित एकाइमै हुन्छ । काजमा आएर उनीहरूले आफ्नो प्रतिभा निखार्ने र प्रतिस्पर्धामा भाग लिने गर्छन् । तिनै खेलाडीले राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर देशलाई पदक दिलाउँछन् । राष्ट्रिय स्तरका अधिकांश प्रतियोगितामा सेना नै अगाडि रहँदै आएको छ ।

मानवीय संकटको समयमा सेनाले आफ्ना खेलाडीलाई सैनिक कर्तव्यका लागि खटाएको छ । र, उनीहरूको नियमित प्रशिक्षण बन्द गराएको छ । तीमध्ये कतिपय खेलाडीले काठमाडौंमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा देशलाई स्वर्णपदक पनि दिलाएका थिए । र, कतिपय खेलाडीले सेनाको आधारभूत तालिमसमेत पूरा गरेका छैनन् ।

‘लामो समय ब्यारेकबाहिर बिताएर सैन्य जीवनमा फर्किनुपर्दा सकस भइरहेको छ,’ नयाँ पत्रिकाको सम्पर्कमा आएका त्रिभुवन आर्मीका एक फुटबल खेलाडी भन्छन्, ‘कहिले घाँस काट्न लगाउँछन्, कहिले सरसफाइमा खटाउँछन् । पहिलोपटक सैनिक जीवनको अनुभव गर्दै छु । यसरी बस्नै मुस्किल भइसक्यो ।’

नेपाली सेनाका सबै खेलाडीलाई अहिले उनीहरूको दरबन्दी रहेको ब्यारेकमा फिर्ता पठाइएको छ । दैनिक प्रशिक्षणमा व्यस्त रहनुपर्ने खेलाडी सैनिक जीवनको फरक दुनियाँमा छन्।

जंगी अड्डाले भने प्रधानसेनापति कप प्रतियोगिता नजिकिएकाले खेलाडीलाई क्लबमा बोलाउने तयारी भइरहेको बताएको छ । तर, त्यसबारे निर्णय भएको छैन । ‘खेलाडीलाई क्लबमा फिर्ता बोलाएर प्रशिक्षण सुरु गर्ने प्रस्ताव गरिएको छ,’ नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे भन्छन्, ‘निर्णय भएपछि उनीहरू फर्कनेछन् ।’ उनका अनुसार सेनासँग सबै विधाका गरी करिब पाँच सय खेलाडी छन् ।

तीमध्ये करिब दुई सय खेलाडी गत १३औँ सागमा सहभागी भएका थिए । उनीहरूको सहयोगका लागि उत्तिकै संख्यामा कर्मचारी खटाइएको हुन्छ । ती कर्मचारीलाई पनि अहिले उनीहरूकै ब्यारेकमा पठाइएको प्रवक्ता पाण्डे बताउँछन् ।

अर्काे विभागीय टोली सशस्त्र प्रहरी (एपिएफ)सँग पनि झन्डै सेनाकै संख्यामा खेलाडी छन् । एपिएफ नेपाली खेलकुदको कान्छो विभागीय टोली हो । र, एपिएफले राष्ट्रिय प्रतियोगिताहरूमा सबैलाई टक्कर दिँदै आएको छ । एपिएफले पनि आफ्ना खेलाडीलाई कोभिड–१९ महामारीविरुद्ध जिम्मेवारीमा खटाएको छ ।

एपिएफका दोस्रो रोजाइका खेलाडीलाई अहिले तराईका ब्यारेकमा खटाइएको छ । गत १३औँ सागमा स्वर्णपदक जितेकासहित पहिलो रोजाइका खेलाडीलाई ‘स्ट्यान्डबाई’ राखिएको छ । उनीहरूलाई आवश्यकताअनुसार खटाइने सशस्त्र प्रहरी मुख्यालयले बताएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठका अनुसार पालो मिलाएर खेलाडीलाई तराईका जिल्लामा खटाइएको हो । ‘हामीले रोटेसन गरेका छौँ । अहिले आधाजस्तो खेलाडीलाई खटाएका छौँ,’ डिआइजी श्रेष्ठ भन्छन्, ‘उनीहरूले दुई–तीन महिना ड्युटी गरेपछि अहिले स्ट्यान्डबाई रहेको टोलीले उनीहरूलाई परिवर्तन गर्नेछन् ।’

सेनाकै जस्तो सशस्त्र प्रहरीले पनि आफ्ना खेलाडीको प्रशिक्षण रोकेको छ । सुरक्षाका लागि खटाउनुपर्ने र भाइरस संक्रमण फैलने जोखिमका कारण प्रशिक्षण स्थगित गर्नुपरेको एपिएफको भनाइ छ ।

अर्काे विभागीय टोली नेपाल पुलिसका खेलाडीलाई भने सेना र सशस्त्र प्रहरीको जस्तो ड्युटीमा खटाइएको छैन । बरु सुरक्षित रहेर क्लबमै प्रशिक्षण लिन अनुमति दिइएको छ । तेक्वान्दोका केही खेलाडी प्रशिक्षणमा नियमित सहभागी छन् । १३औँ सागमा स्वर्णपदक जितेकी पार्वती गुरुङलगायत खेलाडी अहिले पनि क्लबमै प्रशिक्षणरत भेटिन्छन् । उनीहरूले लकडाउनका वेला आयोजना भएका तेक्वान्दोका विश्व च्याम्पियनसिप र युरोपियन च्याम्पियनसिपमा पनि भाग लिएर पदक जिते।

आवश्यक परेमा मात्र ड्युटीमा खटाउने सोच रहेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी नीरजबहादुर शाही बताउँछन् । भन्छन्, ‘खेलाडीलाई अहिले नै परिचालन गरेका छैनौँ । आवश्यक परेको अवस्थामा परिचालन गर्न मिल्ने गरी राखेका छौँ ।’

लय खस्कने जोखिम

कोभिड–१९ महामारीका वेला खेलाडी प्रशिक्षणमा केन्द्रित हुन पाएनन् । भाइरस सर्ने त्रासका कारण सरकारी निर्देशनमै खेलकुद र प्रशिक्षण केन्द्र बन्द रहे । जबकि, विभागीय टोलीहरूले सुरक्षाका उपाय अपनाएर आफ्ना खेलाडीलाई नियमित प्रशिक्षणमा राख्न सक्थे । तर, उनीहरूले नै खेलाडीलाई फौजी जिम्मेवारीमा खटाइदिए । जसका कारण खेलकुद प्रशिक्षणको पाटो छुटेको छ ।

यसबाट खेलाडीले आफ्नो लय नै गुमाउने जोखिम बढेको खेलसम्बद्ध व्यक्तित्व बताउँछन् । ‘हरेक खेलाडीले यो अवस्थासम्म आइपुग्न धेरै मिहिनेत गरेका हुन्छन्, जसमा विभाग आफ्नै पनि ठूलो लगानी भएको हुन्छ । सरकार र सम्बन्धित खेल संघको पनि मिहिनेत परेको हुन्छ,’ सागमा स्वर्णसहित चार पदक जित्दै हाल प्रशिक्षकको भूमिकामा रहेका कराँतेका कुशल श्रेष्ठ भन्छन्, ‘यति लामो समय आफ्नो खेलको प्रशिक्षण छाडेर अन्य क्षेत्रमा केन्द्रित हुँदा खेलाडीदेखि सरकारकै मिहिनेत र लगानी खेर जान सक्छ ।’

संकटको समयमा सुरक्षा निकायले आफूसँग भएका सबैलाई परिचालन गर्न सक्छन् । त्यही सर्तमा जागिर खाएका खेलाडीलाई कोभिड–१९ महामारीका कारण मानवीय संकटका वेला परिचालन गरिएको सेना र सशस्त्र प्रहरीको तर्क छ । तर, दुवै निकायले संकटको समयमा पनि खेलाडीलाई प्रशिक्षण नछुट्ने गरी परिचालन गर्न सक्थे । ‘खेलाडीलाई फौजी जिम्मेवारीमै परिचालन गर्दा पनि काठमाडौंभित्रै वा आफ्नो खेलको प्रशिक्षण गर्न मिल्ने गरी खटाउँदा उपयुक्त हुन्छ,’ प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘यसबाट खेलाडीले नियमित अभ्यास गर्न पाउँछन् । त्यसको फाइदा विभाग मात्र होइन, देशलाई नै हुन्छ ।’

युरोपियन फुटबल महासंघको छात्रवृत्तिमा खेलकुद व्यवस्थापनसम्बन्धी तीनवर्षे कोर्स गरेर फर्केका पूर्वफुटबलर कुमार थापा पनि खेलाडीलाई फरक ढंगबाट परिचालन गर्न सकिने बताउँछन् । ‘खेलाडीले विभिन्न प्रकृतिका शारीरिक र मानसिक प्रशिक्षण लिएका हुन्छन्,’ थापा भन्छन्, ‘कोभिड–१९ संक्रमणबाट बच्न रोगप्रतिरोधात्मक क्षमता बलियो चाहिन्छ भनिएको छ । आफूले जानेका शारीरिक–मानसिक व्यायाम गराएर अरूलाई स्वस्थ राख्न सघाउने गरी खेलाडीलाई परिचालन गर्न सकिन्थ्यो ।’ यसमा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र खेल संघहरूले कसैले पहल नलिएको उनी बताउँछन् ।

फौजी ड्युटीमा परिचालन गरिएको खेलाडी नै कोरोना संक्रमणमा पर्ने जोखिम उत्तिकै छ । विगतमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको शिर उँचो बनाएका मात्र नभई भविष्यको सम्भावना पनि रहेका खेलाडीलाई त्यसरी जोखिममा पार्न नहुने विज्ञहरूको तर्क छ ।