१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २६ शुक्रबार १९:४१:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकी प्रदेशमा पहिरो : १३ जनाको मृत्यु, ३१ जना बेपत्ता

Read Time : > 1 मिनेट
२०७७ असार २६ शुक्रबार १९:४१:००

अविरल वर्षासहितको पहिरोका कारण गण्डकी प्रदेशका म्याग्दी, कास्की र लमजुङमा जनधनको क्षति भएको छ । पहिरोले घर पुर्दा १३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । 

कास्कीमा पहिरोमा पुरिएर सातजना तथा म्याग्दी र लमजुङमा तीन–तीनजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक किरण रानाले जानकारी दिइन् । पोखरा महानगरको वडा नम्बर १८ सराङकोटमा पाँचजना, वडा नम्बर– २५ हेम्जामा एकजना र वडा नम्बर– २६ पैतेडाँडामा एकजनाको मृत्यु भएको छ । 

सराङकोटको गोठादीमा टंकबहादुर थापाको घरमाथिबाट पहिरो खस्दा उनका परिवारका तीन र दुईजना पाहुना गरी पाँचजनाको मृत्यु भएको हो । ५० वर्षीय टंकबहादुर, उनकी श्रीमती ४५ वर्षकी सोममाया थापा, टंकबहादुरका दाइको नाति ६ वर्षीय सुवान थापा र छिमेकी ११ वर्षीया इशिका थापा र टंकबहादुरकी साली सरस्वती श्रेष्ठका छोरा आठ वर्षका शीतल श्रेष्ठको मृत्यु भएको छ । 

पहिरोले घर बगाउँदा टंकबहादुरकी छोरी पिंकी, आशा, पिंकीकी छोरी पिरिशा, टंकबहादुरकी साली सरस्वती र उनको छोरा सन्देश, टंकबहादुरका छिमेकी अनिश तामाङ, रशी थापा र रश्मी थापा घाइते छन् । पिंकीकोे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा र अन्यको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

पोखरा महानगरकै वडा नम्बर २५ हेमजा मेलबोटमा पहिरोमा परी ७० वर्षीय हिमकली अधिकारीको मृत्यु भएको छ । उक्त स्थानमा सात घर पहिरोको उच्च जोखिममा रहेकाले ती घरका मानिसलाई राति नै सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । हिमकलीका छोरा ३२ वर्षीय रामचन्द्र अधिकारी र बुहारी दीपा अधिकारी भने अर्को घरमा सुतेकाले सुरक्षित रहेको प्रहरीले बताएको छ । 

महानगरको वडा नम्बर  २६ पैतेको डाँडामा गएको पहिरोमा परी ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको छ । दुर्गाबहादुरका श्रीमती र छोराको भने सकुशल उद्धार भएको छ । 

वडा नम्बर १७ सिमलटुँडाका ६० वर्षीय चन्द्रबहादुर मगर घर पहिरोले भत्काउँदा चन्द्रबहादुरसहित उनका ५० वर्षीय श्रीमती शान्ति र १० वर्षका छोरा सुशान घाइते भएका छन् । उनीहरूको नमस्ते अस्पतालमा उपचार भइरहेको छ । 

पहिरोले म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ६ मा एकजनाको मृत्यु भएको छ । त्यसैगरी धौलागिरि गाउँपालिका वडा नम्बर ७ मा दुईजनाले मृत्यु भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । उनका अनुसार म्याग्दीमा ३१ जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ । म्याग्दीका ३५ घर बगेका छन् । दुई सयजना घरबारविहीन भएका ढकालले नयाँ पत्रिकालाई बताए । घरबारविहीन भएकाहरूको उद्धारको काम भइरहेको छ । शुक्रबार साँझसम्म झन्डै एक सयको हाराहारीमा अलपत्र नागरिकको उद्धार गरिएको र लगातार भइरहेको वर्षाका कारण उद्धारमा कठिनाइ भएको उनले बताए । 

लमजुङमा पहिरोले घर बगाउँदा एकैपरिवारका तीनजनाको मृत्यु भएको छ । बिहीबार राति पहिरोले घर पुरिँदा बेंसीसहर नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय दीपक तामाङ, उनकी श्रीमती २६ वर्षीया बिमायाँ तामाङ र उनका छोरा नौ वर्षका छेवाङ तामाङको ज्यान गुमेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । 

बेंसीसहर नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय सन्तबहादुर गुरुङ, बेंसीसहर वडा नम्बर १० पांग्रेक्युका २३ वर्षीय अनिल गुरुङ, २३ वर्षीय सुमन गुरुङ घाइते भएका छन् । उनीहरूको बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।