मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २६ शुक्रबार १७:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेससँगको छलफलमा व्यवसायीले भने– सुरक्षाको ग्यारेन्टी गरे मात्रै सार्वजनिक यातायात चलाउँछौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २६ शुक्रबार १७:५४:००

यातायात व्यवसायीहरूले सुरक्षाको ग्यारेन्टी गरे मात्रै आफूहरू सार्वजनिक रूपमा यातायातका साधन चलाउन तयार हुने बताएका छन् । कांग्रेसको कोभिड अनुगमन समितिसँगको छलफलमा नेपाल यातायात व्यवसायी महासंघको टोलीले सुरक्षा र गाडीहरू मर्मतका लागि केही समय लाग्ने बताएका हुन् ।

महासंघको टोलीले यातायात व्यवसायीले आफ्ना सवारीसाधनहरू महिनौँसम्म ग्यारेजमा थन्क्याएको र ती गाडीहरू मर्मत गरेर मात्रै चलाउने अवस्थामा रहेको बताएका हुन् । गाडी मर्मतका लागि पुनर्कर्जा, गाडीचालक र सहचालकलाई कोरोना बिमा, स्वास्थ्य सामग्रीको व्यवस्थापन पनि सरकारले गरे मात्रै यातायात सञ्चालन गर्न सकिने उनीहरूको भनाइ छ ।  उनीहरूले लकडाउन समयको किस्ता स्थगन गर्नुपर्ने माग पनि राखेका छन् । 

समितिले शुक्रबार नै विभिन्न चेम्बरहरूसँग पनि छलफल गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसका सदस्य र चेम्बरका प्रतिनिधिहरूले पनि असार मसान्तसम्मको बैंकको ब्याज र किस्ता तिरिसक्नुपर्ने, तर मौद्रिक नीति किन ७ साउनमा ल्याउने भनेर प्रश्न उठाएका छन् । 

कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिले नेपालमा क्रियाशील पर्यटन व्यवसायीहरूसँग पनि कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावबारे पनि छलफल गरेको छ । उक्त छलफलमा पर्यटन व्यवसायीहरूले प्रधानमन्त्री राहत कोषलाई पर्यटन प्रवर्द्धनमा खर्च गर्न सरकारलाई सुझाब दिन कांग्रेसको समितिलाई आग्रह गरेका छन् । 

उनीहरूले कोभिडको प्रभाव यस्तै अवस्था अझै एक महिना लम्बिने र सरकारले पर्यटन क्षेत्रमा कुनै राहत नल्याउने हो भने पर्यटन व्यवसायीले आत्महत्या गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । सरकारले अबका चार पाँच दिनमा पर्यटन क्षेत्रमा सुधारका निम्ति कदम नचाले आफूहरू सडक आन्दोलनमा जाने चेतावनी पनि पर्यटन व्यवसायीहरूले दिएका थिए ।