मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २६ शुक्रबार १७:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जिमी ग्रुपसहित विभिन्न फर्म र व्यक्तिविरुद्ध राजस्व अनुसन्धानको मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २६ शुक्रबार १७:१६:००

राजस्व अनुसन्धान विभागले जिमी ग्रुपसहित विभिन्न फर्म तथा कम्पनीहरूविरुद्ध राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको छ । ती फर्मविरुद्ध ७७ करोड चार लाख १३ हजार दुई सय २० रुपैयाँ बिगो दाबी गर्दै जरिवाना एवं कैद सजायसमेतको माग गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विभागले जनाएको छ । ती कम्पनी तथा व्यक्तिले भन्सार चोरी–पैठारी र झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व चुहावट गरेको विभागले दाबी गरेको छ । 

काठमाडौं महानगरपालिका– ४ ठेगाना भएको जिमी ग्रुप प्रालिले नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गरेको विभागको आरोप छ । कम्पनीसँग १८ करोड ३३ लाख बिगो, सोबमोजिमको जरिवाना तथा कैदसमेत माग राखी २१ असारमा उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । 

जिमी ग्रुपले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेत चुहावट गरेको विभागको आरोप छ । कम्पनीले मूल्य अभिवृद्धि करतर्फ पाँच करोड ९७ लाख ९९ हजार अनठ सय २५, आयकरतर्फ १० करोड ७९ लाख १९ करोड एक सय १५ र लाभांश करतर्फ एक करोड ५६ लाख तीन हजार आठ सय ५६ राजस्व चुहावट गरेको विभागको दाबी छ । विभागले राजस्व चुहावट ऐन, २०५२ को दफा २ (छ १) बमोजिम १८ करोड ३३ लाख २२ हजार सात सय ९६ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कैद सजायसमेत माग गरेको छ । 

त्यस्तै, झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा न्यु कोइराला ब्रदर्स इन्टरप्राइजेजविरुद्ध एक करोड ७० लाख १९ हजार आठ सय ५५ रुपैयाँ बिगो कायम गरी जरिवाना र कैदसमेत माग गर्दै विभागले उच्च अदालत पाटनमै मुद्दा दायर गरेको जनाएको छ । समर ट्रेडर्सले राजस्व चुहावट गरेको अभियोगमा चार करोड ५८ लाख दुई हजार दुई सय ३९ रुपैयाँ बिगो असुलउपर गरी जरिवाना एवं कैद सजायको माग राखी मुद्दा दायर गरिएको छ । 

विदेशबाट मोबाइललगायतका इलेक्ट्रोनिक्स सामानहरू चोरी–पैठारी गरी राजस्व चुहावट गरेको कसूरमा टोखा नगरपालिकाको ग्रान्डी अपार्टमेन्टमा बस्ने मयुर मालाकारसमेत दुईजनालाई पनि ४३ करोड १८ लाख ९५ हजार चार सय ४१ बिगो कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ । झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गरेकै आरोपमा ललितपुरका न्यु क्रियसन इम्पेक्स तथा बंगलामुखी ट्रेड एन्ड सप्लाई र काठमाडौं– २८ को बी. एस. ट्रेड इन्टरनेसनलविरुद्ध पनि विभागले नौ करोड २३ लाख बिगो दाबी गरी मुद्दा दायर गरेको छ ।