भारतको केन्द्रशासित जम्मु–कस्मिरको पाकिस्तानी सीमा क्षेत्रमा खटिएका भारतीय सैनिकमाथि शुक्रबार पाकिस्तानी सेनाले गोली चलाउँदा एकजना नेपाली गोर्खा सैनिकको मृत्यु भएको छ ।
गोर्खा आरुघाट स्थायी घर भएका भारतीय गोर्खाका हवल्दार शम्बुर गुरुङको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
भारतीय सेनाको आठौँ गोर्खा राइफल्सको पाँचौँ बटालियनमा उनी कार्यरत थिए ।
पाकिस्तानी सेनाले रजौरी जिल्लाको नोउसेरास्थित सीमारेखामा युद्धविराम उल्लंघन गर्दै गोली प्रहार गरेपछि घाइते भएका गुरुङकाे अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
गुरुङ ड्युटीमा रहेको बंकरमा आएका पाकिस्तानी सैनिकको गोली प्रहारबाट गुरुङको पाखुरा, बायाँ खुट्टा र अनुहारमा गम्भीर चोट लागेको थियो ।
अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
३६ वर्षीय गुरुङ गोर्खा आरुघाटस्थित माँबु गाउँका बासिन्दा हुन् ।
भारतीय सेनाका जनसम्पर्क अधिकृत लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दले पाकिस्तानले लाइन अफ कन्ट्रोल (एलओसी) मा युद्धविराम उल्लंघन गरेर जबर्जस्ती गोली प्रहार गरेको र त्यसको प्रतिकार गर्ने क्रममा गुरुङको मृत्यु भएको जनाएका छन् ।
उनले शुक्रबार जारी विज्ञप्तिमा भारतका लागि हवल्दार गुरुङको बलिदान खेर जान नदिने उल्लेख गरेका छन् ।
‘उनी कर्मठ सिपाही थिए । उनको कर्तव्य परायणता र देशप्रति सर्वाेच्च बलिदानीलाई देशले कहिल्यै बिर्सने छैन,’ लेफ्टिनेन्ट कर्णेल आनन्दले भनेका छन् ।