१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ असार २६ शुक्रबार १४:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरोले गाउँ नै बग्न थालेपछि स्थानीयले घर छोडे

Read Time : < 1 मिनेट
२०७७ असार २६ शुक्रबार १४:१२:००

बारेकोट गाउँपालिका ४ र ५ मा दुई दिनदेखि परेको अविरल वर्षाका कारण गाउँ नै बग्न थालेपछि तीन दर्जन स्थानीयले घर छोडेका छन् । 

वडा ४ को मैनागाउँदेखि राँगाखोलासम्म कटान उच्च भएकाले गाउँ नै जोखिममा परेपछि गाउँलेहरूले घर छाडेको स्थानीय शिक्षक धनबहादुर सिंहले जानकारी दिए । त्यस्तै वडा ५ को तोलखानाको कालाखोलीमा पहिरो जाँदा स्थानीयवासी घर छाडेर विद्यालयमा गएर बसेका छन् । केही भने पहिरोको बीचमा बन्दाबन्दीमा परेको सिंहले जानकारी  दिए ।  

पानी नियमित परिरहेकोले वडा ४ को सार्कीगाउँमा पहिरोमा परी बेपत्ता १२ जनामध्ये एकजनाको शव फेला परेकाे र बाँकी ११ जना अझै फेला पर्न नसकेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए । त्यस्तै वडा ६ धुममा शान्तबहादुर चलाउनेसहित तीनजना बेपत्ता भएको प्रहरीले जनाएको छ । 

जोखिम बढेसँगै  मैनागाउँका स्थानीयले पनि घर छोडेका छन् । नियमित पानी परेका कारण फोन सम्पर्क बन्द छ । सदरमुकामबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारका लागि घटनास्थल जाँदै छ । सदरमुकामबाट झन्डै ७२ किलोमिटर उत्तरपूर्वमा पर्ने बारेकोट गाउँपालिकामा अविरल वर्षाका कारण सबै बाटो अवरुद्ध भएको छ ।

उद्धारका लागि खटिएको टोली राति अबेरसम्म मात्र पुग्न सक्ने आकलन गरिएको छ । मौसम सुधार नभएका कारण उद्धारमा खटिएको टोली घटनास्थल पुग्न समस्या भएको हो । 

तोलखाना, कोट्ली, बयाल, मैनाका सर्वसाधारणहरूलाई सुरक्षित ठाउँमा गएर बस्न आग्रह गरिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहले जानकारी दिए ।

त्यस्तै गोठगाउँमा घर भत्किँदा एकजना घाइते भएका छन् । पहिरोले घर भत्काउँदा गोठगाउँका लालबहादुर नेपाली घाइते भएका हुन् । उनको उद्धारका लागि सुर्खेतबाट हेलिकोप्टर पठाइएको छ ।