मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १३:४३:००
Read Time : < 1 मिनेट
प्रदेश

तीन वर्षदेखि अवरुद्ध  पुल निर्माण सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १३:४३:००

भिमाद र शुक्लागण्डकी नगरपालिकालाई जोड्ने सेती नदीको पक्की पुल निर्माणले गति लिएको छ । ०७२ देखि नै पुल निर्माण सुरु भए पनि बीचमा स्वीकृत डिजाइनअनुसार पुल नबनेपछि निर्माण रोकिएको थियो ।

सडक डिभिजन कार्यालयले पुलको डिजाइन गरेको थियो । करिब तीन वर्ष रोकिएको पुलको डिजाइन परिवर्तन गरिएपछि पुनः निर्माण सुरु भएको हो । निर्माण कम्पनी एड्भेन्चर कन्ट्रक्सनका सञ्चालक मोतीप्रसाद सापकोटाले साढे दुई वर्षभित्रमा पुल निर्माण सक्ने जानकारी दिए । ‘काम गर्दै जाँदा तीन महिनाभित्रै पनि सकिन्छ तर, हामीले साढे दुई वर्षको समय माग गरेका छौँ । यो अवधिमा पुल तयार हुन्छ,’ उनले भने । 

सडक डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी इन्जिनियर कर्ण खत्रीले पुल निर्माण प्रक्रिया अब नरोकिने बताए । ‘पुलको फाउन्डेसनको डिजाइन परिवर्तन गर्न समय लागेकाले निर्माण प्रक्रिया रोकिन पुगेको हो,’ उनले भने, ‘पुलका लागि निर्माण हुने ४ वटा फाउन्डेसनमध्ये वारि र पारि ओपन फाउन्डेसन निर्माण भैसकेको र अब बीचमा २ वटा फाउन्डेसन निर्माण हुनेछ ।’

९ करोड लागतमा निर्माण हुने पुल बनेपछि भिमाद नगरपालिका र स्याङ्जाका ग्रामीण क्षेत्रमा बस्ने स्थानीयहरू लाभान्वित हुनेछन् । पुलले भिमादको भानुमति क्षेत्र, शुक्लागण्डकीको राइपुर र स्याङजाको हरिनास गाउँपालिकाका स्थानीयहरूलाई सहज बनाउनेछ ।