मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ असार २६ शुक्रबार १०:४७:००
Read Time : > 3 मिनेट
सप्तरंग

अमेजन प्राइममा नेपाली सिनेमा

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ असार २६ शुक्रबार १०:४७:००

कोभिड–१९ महामारीका कारण आफ्नो सिनेमा ‘चिनी कम रङ कडा’ प्रदर्शनमा ल्याउन निर्देशक विवेक घिमिरेले तीन महिना पर्खिए । तत्काल सिनेमाहल खुल्ने लक्षण थिएन । यही वेला डिजिटल प्लेटफर्मबारे बहस सुरु भयो । उनले पनि त्यही विकल्प रोजे । निर्देशक शिरीष गुरुङ पनि विकल्पको खोजीमा थिए । र, उनी पनि आफू निर्देशित फिल्म ‘लाटोकोसेरो’लाई डिजिटल माध्यमबाटै प्रदर्शनमा ल्याउने निर्णयमा पुगे । अमेरिका बस्दै आएका घिमिरे र बेलायत बस्ने गुरुङ दुवैले यी सिनेमामार्फत निर्देशनमा डेब्यु गरेका हुन् । अहिले दुवै सिनेमा अमेरिकाको ‘अमेजन प्राइम’ नामक डिजिटल प्लेटफर्ममा उपलब्ध छन् ।

‘निर्मातासँग सल्लाह गरेर विकल्पको खोजी गरिरहेका थियौँ,’ घिमिरे भन्छन्, ‘सोही क्रममा अमेजन प्राइमलाई उपयुक्त ठहर्‍यायौँ ।’ भ्युजका आधारमा आम्दानी हुने प्लेटफर्म हो, अमेजन प्राइम । ‘अमेजन प्राइम भिडियो डाइरेक्ट पब्लिसिङ सर्भिस’मार्फत ‘चिनी कम रङ कडा’ प्रदर्शनमा आएको छ ।

घिमिरेका अनुसार अमेजन प्राइमका नेपाली दर्शक भने कम छन् । दर्शकको पहुँच नै कम रहेको साइटमा सिनेमा अपलोड गर्दा घाटा हुँदैन ? ‘नाफा–घाटा आफ्नो ठाउँमा छ । हामीले नेपाली दर्शकका लागि मात्र लक्षित गरेर अमेजन प्राइम रोजेको पनि होइन,’ घिमिरे भन्छन्, ‘विदेशी दर्शकलाई पनि नेपाली सिनेमा देखाउन सकिने ठम्याइमा अपलोड गरेका हौँ ।’ जुनसुकै मुलुकका दर्शकले पनि हेर्दै गएपछि सिनेमा बुझ्ने भएकाले आफूहरूले जोखिम मोलेको उनको मत छ ।

अधिकांश नेपाली सिनेमामा विषयवस्तुको पाटोमा राम्रोसँग काम नभएको र प्राविधिक हिसाबले कमजोर रहेकाले विदेशी दर्शकको ध्यान खिच्न नसकेको उनी बताउँछन् । भन्छन्, ‘नेपाली सिनेमामा गुणस्तर मात्र नपुगेको हो । राम्र्रो मान्छे नभएका होइनन् । तर, कमाउनैपर्ने दबाबका कारण कमजोर सिनेमा बनेका हुन् ।’ पछिल्लो कदमले नेपाली सिनेमालाई अन्तर्राष्ट्रियस्तरमा ‘एक्स्पोजर’ दिलाउन सहज हुने उनको मत छ ।

                                               .......

हलमा प्रदर्शनमा नआई सीधै अमेजन प्राइममा नेपाली सिनेमा रिलिज हुने सम्भवतः पहिलो उदाहरण हुन्, ‘लाटोकोसेरो’ र ‘चिनी कम रङ कडा’ । तथापि, यस प्लेटफर्ममा सिनेमा अपलोड भएको पहिलोपटक भने होइन । यसअघि करिब अढाई दर्जन सिनेमा हलमा प्रदर्शनपछि अमेजन प्राइममा अपलोड भएका छन् ।

‘वीर विक्रम–२’, ‘चंगा चेट’, ‘प्रसाद’, ‘साइँली’, ‘गोपी’लगायत सिनेमा अमेजन प्राइमबाट हेर्न सकिन्छ । ओएसआर डिजिटलले नेपाली चलचित्रको डिजिटल राइट्स खरिद गर्ने गर्छ । सोही कम्पनीमार्फत नेपाली सिनेमा अमेजन प्राइममा अपलोड भएका छन् ।

ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवालले अमेरिकामा रहेका साथीको कम्पनीको सहयोगमा नेपाली सिनेमा अपलोड गर्दै आएका छन् । उनी भन्छन्, ‘तर, त्यस्तो राम्रो प्रतिक्रिया प्राप्त हुन थालेको छैन । अमेजनतिर नेपाली दर्शक नै कम छन् । तैपनि, अपलोड गरिरहेका छौँ ।’

दीपेन्द्र के खनाल निर्देशित ‘चंगा चेट’ सन् २०१८ मै अमेजनमा रिलिज भएको हो । तर, यस चलचित्रका निर्माताले डिजिटल कपिराइट ओएसआर डिजिटललाई बिक्री गरेका थिए । ‘थुप्रै उल्झन रहे पनि यस्तो कोसिस नेपाली चलचित्रको डिजिटल यात्राका लागि कोसेढुंगा साबित हुन सक्छ,’ निर्देशक खनाल भन्छन्, ‘मेरो नै अमेजनमा एकाउन्ट छैन । यसमा नेपाली चलचित्र हेर्ने दर्शक एकदमै कम छन् ।’ नेपाली दर्शकसँग क्रेडिट र डेबिट कार्ड उपलब्ध नहुँदा भुक्तानीको मुख्य समस्या रहेको उनी बताउँछन् ।

निर्देशक दीपेन्द्र लामाका अनुसार यसअघि फिल्म ‘राघव’ सीधै युट्युबमा रिलिज भएको थियो । फिल्म ‘हिरो रिटन्र्स’लाई डिसहोममार्फत रिलिज गरिएको थियो । ‘अमेजन प्राइमले निश्चित रकम दिएर नेपाली फिल्म खरिद गरेको होइन । बलिउड र हलिउडका फिल्म भने निश्चित रकम दिएरै यस प्लेटफर्मले खरिद गर्छ,’ लामा भन्छन्, ‘नेपाली सिनेमा रेन्टल बेसिसमा अमेजनले खरिद गर्दै आएको छ । र, भ्युजका आधारमा निर्मातालाई आम्दानी हुन्छ ।’

उनका अनुसार अमेजन प्राइमबाट सिनेमा हेर्न ‘डलर एकाउन्ट’ आवश्यक हुन्छ, त्यस्तो एकाउन्ट खोलेका नेपाली नेपालमा कम छन् । ‘नेपालबाहिर रहेका दर्शकलाई लक्षित गरेर अमेजन प्राइममा फिल्म रिलिज गरिने हो,’ लामा भन्छन्, ‘दर्शक तान्ने पाटोमा प्रचारप्रसार र ‘स्टार कास्ट’ आवश्यक हुन्छ ।’

                                                    .............

गत २८ चैतलाई प्रदर्शन मिति तय भएको फिल्म ‘प्रेमगीत–३’ कोभिड–१९ का कारण रोकियो । लकडाउन सुरु भएलगत्तै यस सिनेमाका निर्माता–निर्देशक सन्तोष सेनले डिजिटल प्लेटफर्ममा रिलिज गर्नेबारे नसोचेका होइनन् । तर, करोडौँ लगानी भएको फिल्म दर्शक नै कम रहेको प्लेटफर्ममा रिलिज गर्ने जोखिम उठाउन सकेका छैनन् । ‘लगानी सुरक्षित हुने ग्यारेन्टी भएदेखि त्यो जोखिम मोल्न तयार थिएँ । तर, डिजिटल मार्केटमा नेपाली दर्शकको पहुँच कम भएकाले गाह्रो छ,’ उनी भन्छन् ।

यसअघि नेपाली सिनेमाका निर्माता–निर्देशकले आइफ्लिक्समार्फत डिजिटल बजारमा प्रवेश गर्ने जमर्को गरेका थिए । तर, आइफ्लिक्सले त्यसका लागि विकल्प दिन नसकेको सिनेकर्मीहरू बताउँछन् । आइफ्लिक्समा दर्शक कम भएकाले सोचेजस्तो प्रतिफल नआएको उनीहरूको भनाइ छ । नेटफ्लिक्सले नेपाली सिनेमामा चासो नै दिएको छैन ।

पुरानादेखि नयाँसम्म नेपाली सिनेमा युट्युबमा अपलोड भएका छन् । र, युट्युबमा सहरदेखि गाउँसम्मका नेपाली दर्शकको पनि सहज पहुँच छ । तर, युट्युबले भुक्तानी कम दिने भएकाले त्यसमार्फत लगानी सुरक्षित हुने विश्वास सिनेकर्मीमा देखिँदैन । ‘युट्युबबाट मात्र लगानी उठ्नेबारे केही नसोच्दा हुन्छ,’ निर्देशक खनाल भन्छन् ।

                                                        ...............

अमेजनको एपमा तीन हजारभन्दा बढी नेपाली गीत–संगीत अपलोड भएका छन् । ती सबै पैसा तिरेर हेर्न मिल्छ । न्यापस्टर, एप्पल म्युजिक, स्पोटिफाई, गुगलप्लेजस्ता साइटमा पनि नेपाली गीत–संगीत प्रशस्त अपलोड भएका छन् । तर, कतिपय गीत अनधिकृत र गैरकानुनी रूपमा डिजिटल प्लेटफर्ममा अपलोड गरेर संगीत कम्पनीहरूले मुनाफा कमाइरहेको आरोप स्रष्टाहरूले लगाउँदै आएका छन् । अमेजनमा नेपाली पुस्तक पनि चार सयभन्दा बढी उपलब्ध छन् । नेपालयलगायत प्रकाशन गृहहरूले नेपाली पुस्तकलाई डिजिटल प्लेटफर्म दिएका छन् । र, त्यसबाट राम्रो प्रतिक्रिया पनि पाइरहेका छन् ।