१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कमल खत्री म्याग्दी
२०७७ असार २६ शुक्रबार ०९:०९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

म्याग्दीमा पहिरोले पुरिएर दुईको मृत्यु, ६ बेपत्ता

रघुगंगा नदीले गलेश्वरको मोटरेवल पुल बगायो

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७७ असार २६ शुक्रबार ०९:०९:००

लगातार परेको अविरल वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा दुईजनाको ज्यान गएको छ भने ६ जना बेपत्ता भएका छन्  । पाँच  घर पहिरोले बगाएको छ । धवलागिरि गाउँपालिका- ६ मराङको रिखामा ६ जना बेपत्ता भएका छन् । घन्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका ६ जना बेपत्ता भएकाे मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।

उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । धनबहादुर घाइते भएकाे वडा सदस्य लोकबहादुर पुनले जानकारी दिए । भिरालो पाखोमा रहेको घन्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडा सदस्य पुनले बताए । माथिल्लो भागमा रहेको घन्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् । 

यसैगरी मालिका गाउँपालिका–७ बिमको दुलेमा पहिरोले सोमनाथ पौडेलको घर बगाउँदा दुईजनाको ज्यान गएको छ । बेपत्ता भएका दुईजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो पहिरोले नौमानेको शिव आधारभूत विद्यालयको भवनमा समेत क्षति पुर्‍याएको छ । यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुईवटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको  हो । परिवारका सदस्यले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा एकजना घाइते भएका छन् ।

बेपत्ता भएकाको उद्धारका लागि प्रहरीको दुई टोली घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मौसम खुलेमा हेलिकोप्टरमार्फत उद्धारको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । उनका अनुसार अझै केही दिन अविरल वर्षा हुने पूर्वानुमान गरिएसँगै म्याग्दीमा विपतमा परेकाको उद्धारका लागि टोली तयारी अवस्थामा रहेको छ । 

त्यस्तै, जिल्लाको रघुगंगा गाउँपालिका– ३ पिप्ले र बेनपा- ९ घतान जोड्ने पुल रघुगंगा नदीले बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जोड्ने यातायात सम्पर्क बन्द भएको छ ।

बेलिब्रिजनजिकै रहेको झोलुंगेपुलसमेत बगाउने अवस्थामा पुगेकाे छ । पुलनजिकै रहेका २० घरपरिवारलाई रघुगंगा गाउँपालिकाले राहतको व्यवस्था गर्ने जनाएको छ । अविरल वर्षाले म्याग्दीका विभिन्न ग्रामीण सडकसमेत अवरुद्ध भएका छन् ।  दर्जनौँ बस्ती जोखिममा परेका छन् ।