मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ असार २६ शुक्रबार ०६:५४:००
Read Time : > 1 मिनेट
अर्थ

लकडाउनले  नछेकेको व्यवसाय

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ असार २६ शुक्रबार ०६:५४:००

कोरोना प्रसार रोक्न ११ चैतमा सरकारले लकडाउन लागू गरेपछि देशभरका व्यापार, व्यवसाय ठप्प रहे । तर, ग्रिन ग्रोथ नेपाल र अर्गानिक वल्र्ड नामक दुई कम्पनीले तरकारी, फलफूल र खाद्यान्न घरघर पुर्‍याउन छाडेनन् । सिर्जनशीलता अपनाउँदा जस्तोसुकै कठिन समयमा पनि व्यवसायलाई निरन्तरता दिन सकिने उदाहरण पस्केका छन्, दुवै कम्पनीले ।

तीनकुने गैरीगाउँमा कार्यालय रहेको ग्रिन ग्रोथले काठमाडौं उपत्यकाका आफ्ना ग्राहकलाई घरघरमा तरकारी र फलफूल पुर्‍याइरह्यो । सञ्चालक सौरभ ढकालका अनुसार लकडाउनमा त्यसरी सेवा दिन सहज भने भएन । ‘सरकारले बारम्बार फेरिरहने नियमका कारण काठमाडौंबाहिरबाट तरकारी भिœयाउँदा सास्ती खेप्नुपर्‍यो,’ ढकाल भन्छन् ।

कठिन समयमा उपभोक्ताले गाउँको अर्गानिक तरकारी पाउनु दुर्लभजस्तै थियो । विषादी प्रयोग गरिएकै तरकारी पाउन पनि मुस्किल थियो । कर्मचारीको आरडिटी जाँच र पिपिई लगाएर व्यवसायलाई निरन्तरता दिइएको उनी बताउँछन् । लकडाउन खुकुलो भएपछि भने कम्पनीले सहजै ग्राहकलाई होम डेलिभरी दिइरहेको छ ।

अनलाइन र फोनमार्फत अर्डर लिएर ग्रिन ग्रोथले होम डेलिभरी दिने गर्छ । सिन्धुली, काभ्रेको पातले गाउँ, जुम्ला, सप्तरी, रौतहट, मुस्ताङ, कपिलवस्तु, प्युठानलगायत जिल्लाका साना किसानले फलाउने तरकारी, फलफूल र खाद्यान्न ग्रिन ग्रोथले खरिद गरेर काठमाडौंका ग्राहकसम्म पुर्‍याउँदै आएको छ । साताका तीन दिन होम डेलिभरी दिँदै आएको छ ।

‘अर्गानिक पुष्टि भएका फर्मबाट मात्रै तरकारी ल्याउँछौँ,’ ढकाल भन्छन्, ‘काठमाडौंमा अर्गानिक खाद्यवस्तुको माग उच्च छ, तर सीमित उपभोक्तामा मात्र पु¥याउन सकिरहेका छौँ ।’ ग्रिन ग्रोथले तरकारी, फलफूल ढुवानी र ग्राहक सेवामा पछिल्लो समय पेट्रोलियम पदार्थबाट चल्ने नभई विद्युतीय सवारीसाधनको प्रयोग बढाएको छ । 

यस्तै, सहरका उपभोक्तामाझ अर्गानिक खाद्यान्न पुर्‍याउँदै आएको पुरानो बानेश्वरस्थित अर्गानिक वर्ल्ड एन्ड फेयर फ्युचर प्रालिले पनि लकडाउनमा सेवालाई निरन्तरता दियो । सञ्चालक उमेश लामाका अनुसार लकडाउनको केही समय त्यसअघि नै भण्डारण गरिएका खाद्यान्न ग्राहकका घरघरमा पुर्‍याइयो । जुम्लाको सिमी र मार्सी चामल, रसुवाको कालो मुसुरो, हेलम्बुको सिमी, प्युठानको महलगायत अर्गानिक खाद्यवस्तु यो कम्पनीले सहरमा ल्याएर बिक्री गर्दै आएको छ । लकडाउन खुकुलो भएपछि भने बाहिरबाट सामान ल्याउन केही सहज भएको लामा बताउँछन् ।

कर्मचारी अभाव तथा घरघरमा पुर्‍याउन संक्रमणको जोखिमका बाबजुद अनलाइन अर्डर लिएर सेवा सञ्चालन गरिएको लामा बताउँछन् । अर्गानिक वर्ल्डले ‘दुबई एक्स्पो–२०२०’ मा नेपालका रैथाने खाद्यान्न प्रदर्शन गर्ने तयारी गरेको थियो । तर, कोभिड–१९ महामारीका कारण एक्स्पो स्थगित भएको छ ।