मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
टेकराज थामी काठमाडौं
२०७७ असार २६ शुक्रबार ०४:००:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्राकृतिक विपतबाट पाँच वर्षमा दुई हजार एक सय १३ को मृत्यु, १५ अर्बको क्षति, मनसुनका २७ दिनमै ५६ जनाको मृत्यु

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ असार २६ शुक्रबार ०४:००:००

मनसुन सुरु भएको २७ दिनमै देशभर प्राकृतिक विपत्बाट ५६ जनाको मृत्यु भएको छ । २० करोड ११ लाख रुपैयाँबराबरको धनमाल क्षति भइसकेकोे राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

यस वर्ष नेपालमा ३० जेठबाट मनसुन सुरु भएको थियो । त्यसयता बिहीबारसम्म देशका विभिन्न १० स्थानमा पहिरो गएको छ । जसमा ३६ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । पहिरोबाट एक सय ३९ घरपरिवार प्रभावित भएका छन् । ९१ लाख ८२ हजार मूल्यबराबरको धनमाल नष्ट भएको छ । त्यस्तै सोही अवधिमा बाढीका १० घटना भएका छन् । जसमा एकको मृत्यु भएको छ भने ६५ घरपरिवार प्रभावित भएका छन् । 

मनसुन सुरु भएयताका चट्याङमा परी १६ जनाको मृत्यु भएको छ भने ८८ घरपरिवार प्रभावित भएका छन् । यस अवधिमा मुलुकभर चट्याङका १० घटना भएका थिए । त्यस्तै, तीनजनाको आगलागीबाट मृत्यु भएको प्राधिकरणले जनाएको छ । आगलागीबाट एक सय २८ घरपरिवार प्रभावित भएका छन् भने १९ करोड १९ लाख मूल्यबराबरको धनमाल जलेर नष्ट भएको छ । 

बाढीपहिरो र चट्याङबाट भोजपुर, संखुवासभा, बाजुरा, प्युठान, मकवानपुर, गुल्मी, चितवन, रौतहट, सिन्धुपाल्चोक, पर्वत, लमजुङ, कास्की, बझाङ, दार्चुला, दैलेख, मुस्ताङ, पश्चिम रुकुम, डोटी, कैलाली, झापा, नुवाकोट, रसुवा, म्याग्दीलगायत जिल्लामा क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ । 

क्षति बढ्ने प्राधिकरणको अनुमान 

प्राकृतिक विपत्बाट यस वर्ष मानवीय तथा भौतिक क्षति बढी हुने अनुमान विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छ । मनसुन सुरु भएयताको १५ दिन र अघिल्लो वर्ष त्यही अवधिमा भएको क्षतिको विश्लेषणपछि यस्तो अनुमान गरिएको हो । 

प्राधिकरणका अनुसार पहाडी क्षेत्रमा विनायोजना डोजर, एक्स्काभेटर, विस्फोट पदार्थलगायत प्रयोग गरी सडक खनिएका छन्, यसले पहिरोको ठूलो जोखिम निम्त्याएको छ । निरन्तरको वर्षाले माटो थिलोथिलो बनाएका कारण पहिरो जाने खतरा बढी छ । त्यस्तै, तराई क्षेत्रमा बाढी र डुबानको जोखिम रहेको प्राधिकरणले जनाएको छ । विशेषगरी कन्काई, कोसी, कमला, बागमती, नारायणी, कर्णाली तथा यसका सहायक नदीमा बाढी आउन सक्ने प्राधिकरणको अनुमान छ । त्यस्तै, प्रदेश १ र २ को चुरे क्षेत्र भएर बग्ने खोला तथा नदीमा पनि बाढी आउन सक्नेछ ।

प्राधिकरणका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लामा वर्षाकै कारण डुबानको समस्या हुनेछ । ठूला नदी बग्ने आसपासका क्षेत्रमा भारतले बनाएका तटबन्धका कारण सीमाका जिल्लामा डुबानको समस्या देखिनेछ । 

‘पहाड जताततै खनिएका छन् । माटो गलेको छ । त्यस्तो ठाउँमा पहिरो जाने खतरा सबैभन्दा धेरै हुन्छ । तराईका नदी क्षेत्रमा व्यवस्थित तवरले बाँध बाँध्न सकिएको छैन । भारतले बनाएका तटबन्धका कारण पनि बाढी र डुबानको समस्या देखिन्छ,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने ।

सुरक्षा निकायलाई ‘अलर्ट’ रहन निर्देशन 

प्राधिकरणले सम्भावित विपत्बाट हुने क्षति न्यूनीकरण गर्न सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ‘अलर्ट’ रहन निर्देशन दिएको छ । त्यस्तै, उद्धारमा खटिने स्थानीय स्वयंसेवी, रेडक्रस सोसाइटीलगायत गैरसरकारी संस्थालाई पनि तयारी अवस्थामा रहन भनिएको छ । 

प्राधिकरणका अनुसार सम्भावित प्रत्येक क्षेत्रमा कम्तीमा ५० जनाको सुरक्षाफौज उद्धारका लागि तैनाथ रहनेछ । उद्धारको पहिरो पंक्तिमा नेपाल प्रहरी रहनेछ । आवश्यकताअनुसार सशस्त्र प्रहरी र सेनाको टोली पनि खटिनेछ । उद्धारपछिको बन्दोबस्तीका लागि टेन्ट, पाल, खाद्य सामग्री, मोटरबोटलगायत सामग्री जोखिम देखिएका क्षेत्रमा लगिसकिएको छ । उद्धारमा प्रभावकारी हुने भएकाले देशका पाँच ठाउँमा हेलिकोप्टर स्ट्यान्डबाई राखिएका छन् । प्राधिकरणका अनुसार यसका लागि सेनासँग समन्वय गरिएको छ । 

प्राकृतिक विपत्बाट पाँच वर्षमा दुई हजारको मृत्यु, १५ अर्बको क्षति

बाढीपहिरो, चट्याङ, शीतलहर, आगलागी, आँधी, डुबान, सर्पको टोकाइ, लेक लाग्नु, हिमपहिरो, हिउँआँधी, भूकम्पलगायत घटनालाई प्राकृतिक विपत् मानिन्छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा प्राकृतिक विपत्का घटनाबाट दुई हजार एक सय १३ को मृत्यु भएको छ भने तीन सय ३६ जना बेपत्ता भएका छन् । सात हजार पाँच सय ८२ जना घाइते भएका छन् । त्यस्तै, १४ अर्ब ९८ करोड मूल्यबराबरको धनमाल क्षति भएको छ । 

बाढीपहिरोबाट मात्रै प्रत्येक वर्ष औसत १७८ को मृत्यु

प्राधिकरणको तथ्यांकअनुसार प्रत्येक वर्ष मुलुकभर बाढी र पहिरोबाट मात्रै औसत एक सय ७८ को ज्यान जाने गर्छ । ३३ बेपत्ता हुन्छन् भने ६ हजार चार सय ९० घरपरिवार घटनाबाट प्रत्यक्ष प्रभावित हुन्छन् । बाढीपहिरोले प्रत्येक वर्ष देशभर औसत ५१ करोडभन्दा धेरैको धनमाल क्षति हुने गर्छ ।

बाढीपहिरोबाट पछिल्लो पाँच वर्षमा आठ सय ९० जनाले ज्यान गुमाएका छन् । एक सय ६१ जना बेपत्ता भएको र ३२ हजार चार सय ४० घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएको प्राधिकरणले जनाएको छ । यस अवधिमा देशभर दुई अर्ब ५७ करोड ९६ लाखबराबरको धनमाल क्षति भएको छ ।