मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २५ बिहीबार २२:१०:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

कर्मचारी कुटिएको विषयमा दिनभर आयल निगममा तनाव, छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २५ बिहीबार २२:१०:००

आयल निगमको कर्मचारीबीच बुधबार बिहान ११ बजे कुटपिट र गालीगलाैज भएको विषयमा बिहीबार दिनभर तनाव भएको छ । कर्मचारी युनियनबीचको झगडाले बुधबार र बिहीबारको कामकारबाही पूर्ण रूपले प्रभावित बनेको निगम स्रोतको भनाइ छ । 

बुधबार दिउँसो स्टोर शाखा प्रमुख विकास बखतीले सामान लिन आएका अर्थ विभागमातहतका वरिष्ठ सहायक पदमा कार्यरत भैरव रावललाई कुटेको आरोप लागेको छ । तर, बखतीले भने केही सामान नभएकाले पछि लैजान आग्रह गर्दा रावलबाट गालीगलाैज र अपशब्द प्रहार भएको र आफूले कुनै प्रतिक्रिया नजनाएको दाबी गरेका छन् ।

रावल नेकपा समर्थित निगमको कर्मचारी संघका केन्द्रीय सदस्य हुन् भने स्टोर शाखा प्रमुख बखती कांग्रेस समर्थित निगमको कर्मचारी युनियनका अध्यक्ष हुन् । कुटिएको दाबी गर्दै रावलसहित कर्मचारी संघका पदाधिकारीले बुधबार दिउँसो सिंहदरबार वृत्तमा उजुरी दिएका थिए । ‘हातपात गरेको, कर्मचारी आचरणविपरीत क्रियाकलाप गरेको र धाकधम्की दिएको भन्ने तीनवटा उजुरी प्रहरीमा दिइएको थियो । त्यसपछि प्रहरीले बुधबार साँझ बखतीलाई  नियन्त्रणमा राखेको थियो,’ स्रोतले भन्यो ।

कांग्रेस समर्थित कर्मचारी युनियनको अध्यक्ष बखती प्रहरी नियन्त्रणमा भएपछि छुटाउन कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल, नायब कार्यकारी निर्देशकहरू सुशील भट्टराई र नागेन्द्र साह, निर्देशक दीपक बराल, उपनिर्देशक मनोज ठाकुरलगायत पुगेका थिए । उनीहरूले कर्मचारीबीचको विवादमा सहमति गराई टुंग्याउने विश्वास दिलाएर आफूहरूको जिम्मा लिई बखतीलाई बुधबार राति करिब ८ बजे प्रहरी नियन्त्रणबाट छुटाएका थिए ।

तीनवटा उजुरीका आधारमा प्रहरीले पक्राउ गराएको व्यक्तिलाई निगमको उच्च व्यवस्थापनले छुटाएको भन्दै नेकपा समर्थित कर्मचारी संघका पदाधिकारी रुष्ट थिए । उनीहरूले बिहीबार बिहान ११ बजे कार्यकारी निर्देशक पौडेललाई बार्तामा बोलाएर राजिनामा माग्दै नारा जुलुस गरेका थिए । ‘कार्यकारी निर्देशक पौडेल समस्या हल गर्न कर्मचारीसँग वार्तामा गएका वेला उहाँविरुद्ध नाराजुलुस गरेर गलत आचरण देखाइयो । बैठकमा पनि कार्यकारी निर्देशक पौडेललगायत अन्य उच्च व्यवस्थापनलाई विभिन्न लाञ्छना लगाउने काम भयो,’ स्रोतले भन्यो ।

बिहीबार दिनभर कर्मचारी युनियनको झगडा मिलाउन नै व्यवस्थापन पक्ष व्यस्त थिए । नेकपा समर्थित कर्मचारी संघका पदाधिकारीले युनियन अध्यक्ष बखतीलाई कारबाही गराउन दबाब दिने उद्देश्यले उच्च व्यवस्थापनसँग मुख्य सभा हलमा बैठक बसेका वेला कांग्रेस समर्थित कर्मचारी युयियनका पदाधिकारीहरू पनि पुस्तकालयमा रहेको बैठक हलमा छलफलमा व्यस्त थिए ।

‘कर्मचारीको ठूलो समूह आरोप–प्रत्यारोपमा उत्रिँदा कार्यालयको काम नै रोकियो,’ स्रोतले भन्यो । मुख्य बैठक हलमा २–३ घन्टासम्म चलेको बैठकपछि घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने लिखित सहमति भएको छ । घटनाको छानबिन गर्न निर्देशक दीपक बरालको संयोजकत्वमा सुस्मा कर्ण, नेत्र काफ्ले, प्रलयंकर आचार्यलगायतको समिति बनाइएको छ । सो समितिले पाँच दिनभित्र प्रतिवेदन दिने र सोही प्रतिवेदनअनुसार घटनामा दोषी देखिएकालाई कारबाही गर्ने लिखित सहमति भएको छ । 

निगम ट्रेड युनियनको अराजक छवि

कार्यालयको समस्या आन्तरिक रूपमा हल गर्नुपर्नेमा शक्तिको धाक देखाउँदै नेकपा समर्थित कर्मचारी संघले मन्त्री लेखराज भट्टलाई समेत ज्ञापनपत्र बुझाएर दोषीलाई कारबाही गर्न माग राखेको छ । आयल निगमका कर्मचारीहरू आपसी झगडा गरेर कार्यालयको काममा बारम्बार दख्खल दिँदै आएका छन् । एक वर्षअघि कर्मचारीहरूको सरुवाको विषयलाई लिएर कांग्रेस समर्थित कर्मचारी संघका पदाधिकारीले यसैगरी नाराजुलुस गर्दै काम कारबाही प्रभावित पारेका थिए ।

त्यस्तै खिलराज रेग्मीको अध्यक्षतामा गठित मन्त्रिपरिषदमा रहेका अर्थमन्त्री तथा उद्योग वाणिज्य तथा आपूिर्तमन्त्री शंकर कोइरालालाई वार्षिकोत्सवको अवसरमा कर्मचारी युनियनका नेताहरूले आफ्ना माग पूरा नगरे मन्त्रीलाई कुट्ने भन्दै अराजक छवि देखाएका थिए ।

करिब नाै वर्षअघि बोनस वितरण गर्ने निर्णय नगरे घर जान नदिने अडान राख्दै तत्कालीन एमाले समर्थित कर्मचारी संगठनले तत्कालीन कार्यकारी निर्देशक सुरेश अग्रवाललाई कार्यकक्षमै थुनेको थियो । त्यसपछि बाध्य भएर बोनस वितरण गर्ने निर्णय गरेका अग्रवाललाई नियमविपरीत बोनस बाँडेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।