मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पहिरोका कारण बेंसीसहर–चामे सडक अवरुद्ध भएपनि पैदलयात्रा गर्दै सर्वसाधारण ।
२०७७ असार २५ बिहीबार १९:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा पहिरोले चार घर पुरिए, १५ घर जोखिममा

Read Time : < 1 मिनेट
२०७७ असार २५ बिहीबार १९:००:००

बुधबार राति परेको वर्षापछिको पहिरोले लमजुङका विभिन्न स्थानमा घरहरू पुर्नुका साथै क्षति पुऱ्याएका छन् । पहिरोले मानवीय क्षति नभए पनि लाखौँको नोक्सानी भएको छ ।  

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेंसीसहर नगरपालिका–६ चनौटेस्थित भण्डारी टोलका दुई घर पहिरोले क्षति पुगेको छ । भण्डारी टोलका मीना आले र महेन्द्र भण्डारीको घर पहिरोले भत्काएको डिएसपी गंगाबहादुर थापाले बताए । घर भत्किएपछि आलेको परिवार छिमेकीको घरमा र थापाको परिवार आमा समूहको भवनमा बसेका छन् ।
यसैगरी मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा पहिरोले दुई घरमा क्षति पुऱ्याएको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार रणबहादुर तामाङ र सुकाजी कतिलाको घरमा पहिरोले क्षति पुगेको छ । गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोले स्थानीय सडक अवरुद्ध बनेको छ । मर्स्याङ्दी–२ घनपोखराका अध्यक्ष चेतबहादुर गुरुङका अनुसार भाचेस्थित भदौरे गाउँमा पहिरोका कारण १५ घर जोखिममा परेको छ । 

बेंसीसहर–चामे सडक अवरुद्ध
हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर–चामे सडक खण्डको विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेंसीसहरदेखि चामेसम्म दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ । 

बाढीले बेंसीसहर नगरपालिका– ७ पुमाखोलामा कल्भर्डसहित सडक बगाएको छ । बेंसीसहर–६ बेलौतीबिसौनानजिकै उत्तिसघारी खरखरेमा झरेको पहिरोले सडक पुरिएको छ । वर्षाले बेंसीसहर-चामे सडकखण्डअन्तर्गत पर्ने खरखरे भिर, सिमपानी, खुदी, अर्खलेबेंसी, घोप्टेभिर, काप्रेभिर, रामबजार, स्याँगे, शिरचौर, च्याम्चेलगायतका ठाउँमा पहिरो झरेको छ । पहिरोले सवारी आवागमन बन्द भएको छ । पदैलयात्रु जोखिम मोलेर यात्रा गरेका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार पहिरो पन्छाउने सुरु भए पनि पूर्ण रूपमा सडक खुलाउन दुई दिन लाग्नेछ ।