Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २५ बिहीबार १८:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भूकम्पपछि पुनर्निर्माण : ६५ प्रतिशत घर बने, थप दुई लाख घर निर्माण हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २५ बिहीबार १८:५३:००

भूकम्पबाट क्षति भएका पाँच लाख सात हजार ६ सय २३ वटा घर पुनर्निर्माण भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संसद्को विकास समिति तथा प्रविधि समितिको बैठकमा प्राधिकरणले अहिलेसम्म पाँच लाख सात हजार ६ सय २३ घरको पुनर्निर्माण पूरा गरेको जानकारी दिए । 

उनका अनुसार हाल दुई लाख दुई हजार ६ सय ४३ घर पुनर्निर्माण भइरहेका छन् । ०७२ को भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि सात लाख ८६ हजार एक सय ४४ घरधनीले अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये ६५ प्रतिशतको घर पुनर्निर्माण पूरा भएको छ भने २५ प्रतिशतको घर पुनर्निर्माणको क्रममा रहेको छ । 

भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति पुगेको सिन्धुपाल्चोकमा सबैभन्दा धेरै ७० हजार ९७ घर पुनर्निर्माण भएका छन् । यस्तै, नुवाकोटमा ६४ हजार एक सय २४ घर पुनर्निर्माण भएका छन् भने भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा ५६ हजार घर पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।  

प्राधिकरणले ६ लाखभन्दा बढी गुनासाहरू सम्बोधन गरेको, र प्राधिकरणको निर्णयमा चित्त नबुझे पुनरावेदन समितिमा उजुरी दिन सकिने व्यवस्था रहेको उनले बताए । उनले भूमिहीन र सुकुम्बासी लाभग्राहीबारे सबै टुंगाे लागिसकेको र जोखिमयुक्त बस्ती स्थानान्तरणका लाभग्राहीलाई सुरक्षित ठाउँमा जग्गा खरिद तथा व्यवस्थापन भएको बताए । 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत बस्ती पुनर्निर्माणका लागि ८६ वटा प्रस्ताव प्राप्त भएकोमा भूकम्प प्रभावित क्षेत्रका विभिन्न ठाउँमा आकर्षक एकीकृत बस्तीहरू बन्दै गरेको बताए । समितिको बैठकमा प्राधिकरणले विद्यालय पुनर्निर्माण, पुरातात्विक महत्वका सम्पदा, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन पुनर्निर्माणबारे जानकारी गराएको थियो । 

समिति सभापति कल्याणीकुमारी खड्काले निजी आवास, विद्यालय पुनर्निर्माण राम्रोसँग अघि बढेको भन्दै सम्पदा पुनर्निर्माणलाई अझ छिटो अघि बढाउन निर्देशन दिइन् । उनले प्राधिकरणको सयमावधिबारे छिट्टै टुंगाे लगाउनुपर्ने बताइन् । 

प्राधिकरणको म्याद आगामी पुसमा सकिँदै छ । भूकम्पबाट प्रभावित संरचनाहरूको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ मा नेपाल सरकारले आवश्यक ठानेमा एक वर्ष थप्न सक्ने प्रावधान छ । 

बैठकमा सांसदहरूले गुम्बा पुनर्निर्माणमा विशेष ध्यान दिन प्राधिकरणलाई आग्रह गरेका छन् भने प्राधिकरणले चार सय दुईवटा गुम्बाको मर्मत–सम्भारको काम भएको र पुनर्निर्माण गर्नुपर्ने एक सय १७ वटा गुम्बा पुनर्निर्माणका लागि आगामी आर्थिक वर्षमा कार्यक्रम परेको जनाएको छ । बैठकमा सांसदहरू जिपछिरिङ लामा, यज्ञराज सुनुवार, रामबहादुर विष्ट,  गणेश पहाडी, रंगमती शाही, गणेश पहाडीले निजी आवास, सम्पदा, धरहरा, रानीपोखरी, सिंहदरबार पुनर्निर्माणलगायतबारे जिज्ञासा राखेका थिए । 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विकास समितिलगायत सबैको सहयोगले पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल  भएको भन्दै राम्रा काममा अपनत्व लिन र कमी–कमजोरी सुधारका लागि सुझाब दिन आग्रह गरे ।