Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ असार २५ बिहीबार १७:३२:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

डिस्चार्ज भएको २५ दिनसम्म पनि कोरोना पोजेटिभ देखियो

Read Time : > 1 मिनेट
२०७७ असार २५ बिहीबार १७:३२:००

भरतपुर महानगरपालिका– ६ का पूर्णबहादुर खाण ३२ जेठमा कोरोनाको उपचारपछि डिस्चार्ज भए । डिस्चार्ज भएर घर गएको एक महिना हुनै लाग्दा पनि उनमा कोरोना पोजेटिभ भने देखिन छाडेको छैन । 

‘घर आएर १५ दिनपछि जाँच गर्दा पनि पोजेटिभ नै देखायो,’ खाणले भने, ‘अब एक–दुई दिनमा देखाउने तयारीमा छु हेरौँ के–कस्तो रिपाेर्ट आउँछ ।’ निको भनिएको अवस्था अर्थात् अरूमा संक्रमण नसर्ने भनेपछि उनी डिस्चार्ज भएका थिए । परीक्षणका क्रममा संक्रमण देखिए पनि स्वास्थ्यमा भने कुनै समस्या नदेखिएको खाणले बताए । उनी ९ जेठमा कोरोना पोजेटिभ देखिनासाथ अस्पताल भर्ना भएका थिए । उनी २३ दिनको बसाइपछि पोजेटिभ अवस्थामै डिस्चार्ज भएका थिए । त्यसवेला अब संक्रमणको जोखिम नभएको भन्दै उनलाई अस्पतालले घर पठाएको थियो । घर गएपछि पनि उनी होम क्वारेन्टाइनमै छन् । उनको आमा र बाबु भने रिपाेर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका थिए । 

उनीसँगै डिस्चार्ज भएका नवलपुर देवचुलीका कमल सापकोटामा पनि अहिलेसम्म कोरोना पोजेटिभ नै देखिएको छ । ‘१० दिनअघि देखाउँदा पोजेटिभ देखियो, अस्ति फेरि जाँच्न दिएको छु, हेराैँ कस्तो रिपाेर्ट आउँछ,’ उनले भने । जाँच गर्ने प्रयोगशालाप्रति नै शंका लागेको उनले बताए । नेगेटिभ रिपाेर्ट नआउँदासम्म अस्पतालले डिस्चार्ज गर्न नहुने उनको भनाइ छ ।

‘डेड भाइरसको रूपमा रहने र त्यसको जोखिम नहुने’
कोरोना विशेष अस्पतालकी इन्चार्ज डा. शान्ति भुर्तेलले उनीहरूको रिपाेर्ट पोजेटिभ आए पनि संक्रमणको जोखिम नभएकाले घर पठाइएको बताइन् । अस्पतालले उनीहरूलाई सावधानीका साथ घरमै बस्न आग्रह गरेको थियो ।

तर कतिपय चिकित्सक भने कोरोना नयाँ रोग भएको र यसका सबै तथ्य र प्रमाणहरू निरन्तर जाँचको प्रक्रियामा रहेकाले ठोस जवाफ दिन नसकिने बताउँछन् । भरतपुर अस्तपालका फिजिसियन डा. कालिदास अधिकारीले संक्रमणको १४ दिनपछि कोरोना भाइरस निष्क्रिय हुँदै जाने भएकाले यसको जोखिम कमभन्दा कम हुने बताए । ‘तर, नसर्ने भन्ने कुरा शतप्रतिशत होइन । सम्भावना अत्यन्तै कम भन्ने हो,’ डा. अधिकारीले भने, ‘तीन महिनासम्म पनि यसको संक्रमण देखिएको छ ।’ संक्रमणबाट निको हुँदै जाने अवस्थामा डेड भाइरसको रूपमा रहने र त्यसको जोखिम नहुने उनले बताए । कोरोना संक्रमणबाट बच्नका लागि सजगता भने आवश्यक रहेको उनले बताए । पोजेटिभ भएकाहरूसँग सँगै नसुत्ने, एकैठाउँमा नखाने गर्नुपर्छ,’ उनले भने, ‘न्यून जोखिम छ भनेर मनपरी गर्नुचाहिँ हुन्न ।’