Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार २५ बिहीबार १२:३३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चार दिनसम्म मनसुनी गतिविधि बढ्ने

Read Time : > 1 मिनेट
२०७७ असार २५ बिहीबार १२:३३:००

आजदेखि आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभागनजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार प्रदेश नं. १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । ‘मनसुनको समय अझै बाँकी नै छ, त्यसैले यसलाई वर्षकै ठूलो वर्षा भिन्न मिल्दैन,’ मौसमविद् मानन्धरले भनिन्  ।
  
असार २५ देखि २८ गतेसम्म प्रदेश नं. १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन सुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान गरिएको छ । मौसमविद्का अनुसार  मनसुनको समयमा १०० मिलिमिटरदेखि माथिको वर्षालाई भारी वर्षा भनिन्छ । त्यस्तै अरू समय ५० मिलिमिटरसम्मको वर्षालाई पनि भारी वर्षा भनिन्थ्यो । अहिले मनसुनको समय भएकाले ५० मिलिमिटरसम्मको वर्षालाई नै हल्कादेखि मध्यम भन्ने गरिन्छ ।
 
यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले भारी वर्षाले बाढी, डुबान र पहिरोको जोखिम बढाइदिएको छ । पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना रहनुका साथै कतिपय ठाउँमा पहिरोसमेत जान सक्ने भन्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकले सतर्क रहन सबैमा आग्रह गरेको छ ।
 
शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोसी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुन सक्ने पूर्वानुमान गरिएको छ । ‘खासगरी प्रदेश नं. १ र २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरूमा ठूलो बाढी आउन सक्ने हुनाले यस क्षेत्रका बासिन्दालाई विशेष सतर्कता रहन आग्रह गर्दछौँ,’ प्राधिकरणले एक सूचना जारी गरी भनेको छ । प्राधिकरणका अनुसार ठूला नदीनालामा आउने बाढीबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नं. ११५५ र आपतकालीन सेवाका लागि राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको टोल फ्री नं. ११४९ उपलब्ध हुनेछ ।