मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २४ बुधबार १६:५१:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रतिपक्षीको नाराबाजीबीच सुदूरपश्चिम प्रदेशकाे बजेट पारित

Read Time : > 1 मिनेट
२०७७ असार २४ बुधबार १६:५१:००

सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलका सांसदको नाराबाजीबीच आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेट पारित गरिएको छ । बुधबार दिउँसो बसेको प्रदेश सभा बैठकमा विपक्षी दलका सांसदले सरकारविरुद्ध नाराबाजी गरिरहेकै वेला सभामुख अर्जुनबहादुर थापाले बजेट पारित भएको घोषणा गरेका हुन् ।

प्रदेश सरकारले १ असारमा आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको थियो । त्यसयता कोरोना नियन्त्रणमा प्रदेश सरकारले काम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस र राजपाका सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका थिए । बुधबार पनि उनीहरूले कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक गर्नुपर्ने, खर्चमा भ्रष्टाचार भएकाले संसदीय समिति गठन गरेर छानबिन हुनुपर्ने माग राखेर विरोध गरेका थिए । उनीहरूको विरोधले गर्दा १० असारयता पटकपटक संसद् बैठक अवरुद्ध र स्थगित हुँदै आएको थियो । सरकार र विपक्षी दलबीच सहमति जुट्न नसकेपछि २२ असारमा भने सभामुख थापाले नाराबाजी चलिरहँदा नै बैठक सञ्चालन गरेका थिए । 

विपक्षीको अवरोधले बजेटमाथि छलफल हुन सकेको थिएन । बजेटमाथिको छलफलमा सत्तापक्षका तर्फबाट एकजना सांसदले मात्रै बोल्न पाएका थिए । अन्य सांसदले बजेटमाथि आफ्नो धारणा राख्न पाएनन् । सोमबारको बैठकमा बोल्दै सत्तापक्षका सांसद हर्कबहादुर कुँवरले बजेटको समर्थन गरेका थिए । विगतमा सबै सदस्यले बजेटमाथि धारणा राख्ने गरेका थिए ।

बुधबारको बैठकमा विनियोजन तथा अर्थ विधेयकसम्बन्धी प्रस्तावमा सत्तापक्षकै दुर्गाकुमारी कामी र महेशदत्त जोशीले धारणा राखेका थिए । बुधबार एकैदिन तीनपटक बैठक बसेको थियो । बिहान ८ बजे बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट तथा अर्थ र विनियोजन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्ताव पारित गरेपछि बैठक स्थगित भएको थियो ।

त्यसपछि बिहान ९ बजे पुनः बसेको बैठकमा दुर्गाकुमारी कामी र दिउँसो २ बजे बसेको बैठकमा महेशदत्त जोशीले विधेयकमाथि धारणा राखेका थिए । बैठक सञ्चालन अवधिभर विपक्षीका प्रदेश सभा सदस्यहरूले सरकारविरुद्ध रोस्टमअगाडि उभिएर नाराबाजी गरेका थिए । उनीहरूले ‘कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक गर, संसदीय छानबिन समिति गठन गर, संसदीय मर्यादा कायम गर, संसद्लाई अपमान गर्न पाइँदैन’जस्ता नारा लगाएका थिए । नाराबाजी चलिरहँदा नै सभामुख थापाले बजेट पारित भएको घोषणा गरेपछि सत्तापक्षका सांसदले टेबुल ठोेकेर स्वागत गरेका थिए । 

विधि र प्रक्रिया मिचियो : कांग्रेस
संसदीय मर्यादा उल्लंघन गरेर बजेट पारित गरेको प्रतिपक्ष दल कांग्रेसले आरोप लगाएको छ । कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले विधि र प्रक्रिया मिचेर सरकारले बजेट पारित गरेको बताए । सत्तापक्षले बहुमतको दम्भ देखाएको उनको भनाइ थियो । 

सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले भने प्रतिपक्षीले मागेको कोरोनाको खर्चको विवरण सरकारले सदनमै प्रस्तुत गरिसकेको बताए । ‘उहाँहरूले लिखित सहमति गरौँ भन्नुभयो । हामीले सदनमै हिसाब पेस गरिसकेका छौँ, लिखित आवश्यक छैन । जे भन्नु छ, सदनमै भनौँ भन्यौँ,’ मन्त्री बोहराले भने, ‘सदनलाई धेरै दिन बन्धक बनाइराख्न सम्भव थिएन ।’