मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २४ बुधबार १५:५६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तर्राष्ट्रिय समुदायले भन्यो– महिला तथा किशोरीमाथि यौन हिंसा बढ्यो, गम्भीरतापूर्वक लिन आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २४ बुधबार १५:५६:००

नेपालस्थित कूटनीतिक समुदाय तथा विकास साझेदारहरूले कोभिड– १९को महामारीबीच महिला तथा किशोरीमाथि यौन दुर्व्यवहार तथा हिंसाका घटना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

उनीहरूले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा संलग्न सबै पक्षले विशेषगरी महिला तथा किशोरी, युवायुवती, अल्पसङ्ख्यक र सीमान्तकृत समूहको सुरक्षा र सम्मानको हक सुरक्षित हुनुपर्नेमा जोड दिएका हुन् ।

क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरूमा बस्दा वा स्वास्थ्य सेवा तथा उपचार प्राप्त गर्दा पनि महिला र किशोरीहरूप्रति हिंसा नहुने ग्यारेन्टी हुनुपर्नेमा उनीहरूको जोड छ । 

बुधबार नेपालस्थित अस्ट्रेलियाली दूतावास, बेलायती वैदेशिक सहायता नियोग (डिएफआइडी), युरोपेली युनियनको प्रतिनिधिमण्डल, फिनल्यान्ड दूतावास, फ्रन्सेली दूतावास, जर्मन दूतावास, जापानी दूतावास, वैदेशिक सहायताका लागि जापानी नियोग (जाइका), नर्वेली दूतावास, स्विस दूतावास, नेपालस्थित संयुक्त राष्ट्रसंघ र वैदेशिक सहायताका लागि अमेरिकी नियोग (युएसएआइडी)ले संयुक्त विज्ञप्ति निकाली यस्तो जनाएका हुन् । 

०७६ फागुन २८ देखि ०७७ जेठ २४ बीचमा महिला तथा किशोरीविरुद्ध हिंसाका ६ सय २४ वटा घटना दर्ता भएका छन् । 

विगतका संकटहरूमा देखिएजस्तै विशेषगरी महिला तथा बालबालिकाले बढी जोखिमको सामना गर्नुपरेको उनीहरूले जनाएका छन् । यस परिप्रेक्षमा कोभिड–१९ कुनै अपवाद नरहेको विज्ञप्तिमा उल्लेख छ । 

उनीहरूको विज्ञप्तिमा भनिएको छ, ‘महिलाहरू आफ्ना परिवार तथा समुदायमा फर्कनुअघिको समयावधिमा सुरक्षित महसुस गरी समय बिताउनुपर्ने क्वारेन्टाइन केन्द्रहरूमा नै यौन दुर्व्यवहार भएको चिन्ताजनक बयानहरू बाहिर आएका छन् । यौन शोषण र दुर्व्यवहारप्रति हामीले शून्य सहनशीलता कायम गर्नुपर्छ र प्रत्येक आरोपलाई गम्भीरतापूवर्क लिई त्यसलाई सम्बोधन गर्ने उपयुक्त कदम चाल्न आवश्यक छ ।’

अन्तर्राष्ट्रिय समुदायले यौन शोषण वा दुर्व्यवहार भएको अवस्थामा पीडितहरूले उजुरी गर्ने र आवश्यक सेवाहरू तुरुन्त प्राप्त गर्ने सुरक्षित तथा गोप्य माध्यमहरूमा पहुँच सुनिश्चित हुनुपर्नेमा पनि जोड दिएका छन् । 

बालबालिकाहरू पीडित भएको खण्डमा अवलम्बन गरिने उपायले बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राख्दै उपयुक्त भएसम्म परिवार र हेरचाहकर्ताहरूलाई संलग्न गराउनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन् ।