मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सागर चन्द काठमाडाैं
तस्बिर : दीपेन्द्र ढुंगाना काठमाडाैं
२०७७ असार २४ बुधबार ०८:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

जसलाई लकडाउनले छेकेन

Read Time : > 1 मिनेट
सागर चन्द, काठमाडाैं
तस्बिर : दीपेन्द्र ढुंगाना काठमाडाैं
२०७७ असार २४ बुधबार ०८:३५:००

कोरोना त्रास र लकडाउनको वास्ता गर्न थालेको भए ६१ वर्षीय केशवलाल विश्वकर्मालाई १० जनाको परिवार पाल्न हम्मे पर्थ्यो । भक्तपुर नलिनचोकस्थित पुरानो छाप्रोमुनि उनको आरन निरन्तर चल्यो । ‘आरन बन्द गर्दा पेट नभरिने भयो,’ उनी भन्छन्, ‘डर लाग्दालाग्दै पनि आरन चलाइरहेँ ।’ लकडाउनका वेला उनको आम्दानी आधा घट्यो । तर, त्यही आम्दानीले दुई छाक टार्न सहज भयो, उनलाई ।

केही सातायता सरकारले लकडाउन खुकुलो बनाएको छ । कोरोना सर्ने त्रासबीच मानिस सामान्य दैनिकीमा फर्किन प्रयासरत छन् । तर, सहरमा यस्ता मानिस पनि भेटिए, जसले आफ्नो दैनिकीमा परिवर्तन ल्याउन सकेनन् । सारा सहर सुनसान हुँदा पनि उनीहरू दुई छाक टार्ने संघर्षमा टिकिरहे ।

तिनैमध्येका हुन्, सत्यनारायण प्रजार । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गेटमा भेटिएका उनको हातमा फाटेको पन्जा थियो । उनले बोकेको टोकरीमा पानी, बदाम, मकै र ढुंग्री थिए । ८० वर्षका उनी बल्खुस्थित कुमारी क्लबमा श्रीमतीसँगै बस्छन् । भारत मोतीहारीका उनले काठमाडौंमा टोकरी व्यवसाय थालेको २२ वर्ष बित्यो । उनलाई भारतभन्दा नेपाल नै प्यारो लाग्न थालेको छ । भन्छन्, ‘यहाँका मानिस असल छन् ।’ लकडाउनमा पनि उनले सहरका गल्ली चहारिरहे । दिनभर हुने कमाइबाट साँझ हातमुख जोर्न पाउँछ, यो दम्पतीले । उनी भन्छन्, ‘काम गरिएन भने के खाने ?’

यस्तै, राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालबीचको गल्लीमा साँझपख हटकेसमा मःम र थर्मसमा चिया राखेर ग्राहक पर्खिरहेका थिए, दीपेश श्रेष्ठ । लकडाउनअघि उनी ठेलामा राखेर मःम बिक्री गर्थे । ठेला चलाउन नपाएपछि थर्मस र हटकेसलाई विकल्प बनाए । मःम र चिया कोठामै पकाउँछन् । लकडाउनका वेला दिउँसो प्रहरीले सडकमा निस्किन दिँदैनथ्यो । त्यसैले उनी साँझपख कोठाबाट निस्किन्थे, अनि रातभर त्यही गल्लीमा बसेर मःम र चिया बिक्री गर्थे । काभ्रे भकुण्डेबेँसीका उनको चारजनाको परिवार पाल्ने आम्दानी त्यसैबाट जुट्छ । ‘लकडाउन, कोरोना जेसुकै भए पनि परिवार त पाल्नुपर्‍यो नि,’ उनी भन्छन् ।

लगनखेल चोकमा बन्द सटरभित्र कपाल काटिरहेका भेटिए, दीपक ठाकुर । महोत्तरी जलेश्वरका उनले लकडाउनका वेला बन्द सटरमा मात्र होइन, घर–घर पुगेर पनि कपाल काटिदिए । ‘सटरको भाडा २० हजार छ । बन्द राखेर त भाडा तिर्न सकिँदैनथ्यो,’ उनी भन्छन्, ‘यही पसलको कमाइबाट पाँचजनाको परिवार पाल्दै आएको छु ।’

३० जेठमा ललितपुर झम्सिखेलमा ‘इनफ इज इनफ’ आन्दोलन चलिरहेको थियो । सडकका दुवै किनारमा प्लेकार्ड बोकेका प्रदर्शनकारी थिए । चोक–चोकमा प्रहरी तैनाथ थिए । सडकबीचमा खानेपानीको पाइप मर्मत गरिरहेका दीपक थापामगरलाई न आन्दोलनमा चासो थियो, न प्रहरीको डर ।

उनी २५ वर्षदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा कार्यरत छन् । लकडाउनमा अरू कर्मचारी घरमै थुनिए । उनको भने ड्युटी अझ बढ्यो । उनलाई बिहान ६ देखि साँझ ६ बजेसम्म काममा खटाइयो । कुपण्डोल, झम्सिखेल र सानेपा उनको कार्यक्षेत्र हो । तालिकाअनुसार पानी खोल्ने, बन्द गर्ने र बिग्रेका पाइप मर्मतमा निरन्तर खटिए, उनी । लकडाउनका वेला पनि उनको साइकलले विश्राम पाएन । ‘कोरोनासँग डर लाग्दैन । डरायो भने त जागिर छाड्नुपर्‍यो,’ उनी भन्छन् । फर्पिङका उनी चारजनाको परिवारसहित ललितपुर बागडोलमा बस्छन् । उनको परिवार पाल्ने स्रोत नै केयुकेएलको जागिर हो ।