मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार २४ बुधबार ०८:१५:००
Read Time : > 2 मिनेट
सम्पादकीय

खै बोलेको नेकपा ?

Read Time : > 2 मिनेट
२०७७ असार २४ बुधबार ०८:१५:००

नेपालको राजनीतिमा बाह्य हस्तक्षेपका अनेक आयाम छन् । ००७ सालको परिवर्तन हुनु चार महिनापहिले तत्कालीन राजा त्रिभुवन परिवारसहित भागेर भारतीय दूतावासमा शरण लिन गएयता नेपालको राजनीतिमा भारतीय हस्तक्षेप र उपस्थितिका अनेक शृंखला देखिन्छन् । तर, ००७ सालकै क्रान्ति त्यस्तो मोड थियो, जसले नेपालको राजनीतिलाई दरबारबाट जनताको चासो र सहभागिताको स्तरमा उकालेको थियो । नागरिकले आफ्नो राष्ट्रिय चासोका सम्बन्धमा खुला धारणा राख्न थालेपछि सत्ताधारीले पनि त्यसको दबाब नजरअन्दाज गर्न सक्दैनथे । एकातिर नेपालको बाह्य सम्बन्ध भारत र बेलायतकेन्द्रित मात्र नरहेर विश्वभर विस्तारित हुँदै गयो भने नेपाली राजनीति पनि परिपक्व बन्दै राष्ट्रहितका पक्षमा काम गर्दै अघि बढ्यो । अनेक आलोचना, विरोध र असहमतिबीच नेपालले लिएका नीतिकै परिणाम हो, नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता ।

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध भए पनि नेकपाको आन्तरिक विवाद सुल्झाउन राजदूत सक्रिय हुने कुरा द्विपक्षीय सम्बन्ध र कूटनीतिक दृष्टिले समेत शोभनीय मानिन्न

भारतीय राजदूत क्याविनेट सचिवसरह माइन्युट समातेर बस्ने चलनबाट आरम्भ भएको यात्रा नै अहिले भारतीय दबाब इन्कार गर्दै संविधान जारी गर्ने र धम्कीको बेवास्ता गर्र्दै नक्सा सार्वजनिक गर्ने ठाउँसम्म आइपुगेको हो । आर्थिक पराधीनताका दृष्टिले र कतिपय नेताविशेषका हितका कारण कहिलेकाहीँ नेपालको स्वतन्त्र अस्तित्वमा प्रश्न नउठेको होइन । तर, यी अस्थायी घटना हुन् । मूल प्रवृत्ति भनेको नेपाल पहिलेभन्दा सशक्त ढंगले आफ्नो सार्वभौमिकता, अखण्डता जोगाउन सक्षम हुँदै गएको सत्य हो ।

नेपालीहरूमा राष्ट्रहितका सवालमा एकताबद्ध भएर उभिने राजनीतिक संस्कारको पनि विकास हुँदै गएको छ । गणतन्त्र स्थापनापछिको नेपाल छिमेकीसँग पहिलेभन्दा प्रभावशाली रूपमा आफ्ना कुरा राख्न सक्ने भएको छ । नेताविशेष र दलविशेषका कतिपय चासो र अभिव्यक्ति तथा सम्बन्धले भने हाम्रो नेतृत्वमा आफ्नो आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई घुमाइफिराइ स्विकार्ने या आफ्नो राजनीतिक हितका लागि प्रतिपक्षी शक्ति तथा व्यक्तिलाई विदेशी हितमा काम गरेको आरोप लगाउने चलन गएको छैन । 

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै आफ्नो दलका अरू नेतालाई भारतीयसँग मिलेर आफ्नो सरकार ढाल्न खोजेको भन्दै लगाएको आरोपको अहिलेसम्म नेकपाले औपचारिक रूपमा खण्डन गरेको छैन । उक्त आरोपका सन्दर्भमा सार्वजनिक वृत्तमा उठेका प्रश्नहरूको पनि निरूपण भएको छैन ।

यता आइतबार र मंगलबार चिनियाँ राजदूत होउ यान्छीले नेकपा नेता तथा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाललाई क्रमशः उनीहरूकै निवासमा गएर भेटेकी छिन् । यो भेट त्यस्तो वेला भएको छ, जतिवेला एकातिर नेपाल र भारतबीच सीमासम्बन्धी प्रश्नलाई लिएर विवाद बढ्दै जाँदा संवादहीनताको अवस्था विद्यमान छ । अर्कोतिर सत्तारुढ दल नेकपा आन्तरिक विवादको भुमरीमा फसेको छ । गत वैशाखमा पनि नेकपाभित्र चरम संकट आउँदा राजदूत यान्छी सक्रिय भएको र त्यसले विवाद मिलाउन दबाब सिर्जना गरेको आशंका गरिएको थियो । यतिवेला पनि नेकपाभित्रको संकटका सन्दर्भमा नै उनले नेताहरूसँग भेटेको आशंका गरिएको छ । 

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध भए पनि नेपालको सत्तारुढ दल नेकपाको आन्तरिक विवाद सुल्झाउन राजदूत सक्रिय हुने कुरा द्विपक्षीय सम्बन्ध र कूटनीतिक दृष्टिले समेत शोभनीय मानिन्न । नेपाल र खनालसँगको भेटअघि उनले राष्ट्रपतिलाई समेत भेटेको चर्चा छ । यसले नेपाली राजनीतिको ‘माइक्रो म्यानेजमेन्ट’मा चीनको चासो बढ्दै गएको देखाउँछ । यस्तो म्यानेजमेन्टकै कारण भारत र नेपालबीच दूरी बढ्दै गएको हाम्रो ताजा इतिहास छ । यस्तो उपस्थिति भारतको होस् या चीन, कसैको पनि स्वीकार्य हुन सक्दैन । चीनको चासो के हो भन्ने प्रस्ट नभए पनि यस सम्बन्धमा जुन प्रश्न सार्वजनिक रूपमा उठेका छन्, त्यसको चित्तबुझ्दो जवाफ दिने काम नेकपाकै हो । खै बोलेको नेकपा ?